उद्घाटन अघि नै दुईलाख लिटर दिसाजन्य लेदो प्रशोधन

0
1011

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापाको मेचीनगर–७ काँकरभिट्टा भान्साखोलामा रहेको मानव मलमूत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको औपचारिक उद्घाटन हुनु अघिनै २ लाख ४८ हजार ५ सय लिटर दिसाजन्य लेदो प्रशोधन गरेको छ । काँकरभिट्टाको केन्द्र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मातहतमा रहेको केन्द्रले कात्तिक महिनामा १६ हजार लिटर, मंसिरमा १ लाख ९९ हजार लिटर र पुसमा ३३ हजार ५ सय लिटर दिसाजन्य लेदो प्रशोधन गरेको छ संस्थाका अध्यक्ष हर्कबहादुर फियाकले बताए ।

नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्र खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गरेको हो । २०७६ कात्तिक १८ गते विधिवत उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्राविधिक कारणले तीनमहिना ढिलो खानेपानी मन्त्री बिना मगरले ८ माघमा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४ औं वार्षिक साधारण सभा एवम् प्रशोधन केन्द्र उद्घाटन कार्यक्रममा मेचीनगरस्थित काँकरभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गरेकी थिईन् ।

आयोजनाको कुल कन्ट्रयाक रकम ६ करोड ४२ लाख १७ हजार ९ सय ६६ रुपैयाँ भएपनि दोस्रो भेरिएशनमा ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ कायम गरिएको थियो र १० औँ आइपिसि सम्म ४ करोड २७ लाख ३८ हजार ६ सय ६ रुपैयाँ भुक्तान गरिएको संस्थाले जनाएको छ । २०१७ डिसेम्वर २५ तारीखबाट आयोजनाको काम शुरु गरी २०१८ अगष्ट ३० मा सम्पन्न गर्ने सम्झौता भएपनि २०१९ जुलाई ३० मा आधारभूत काम सम्पन्न भएको भन्दैं २०१९ जुलाई ३१ तारीखमा दोस्रो चरणमा प्रवेश गरिएको संस्थाले जनाएको छ ।

‘यो प्रोजेक्ट विशेषगरी नेपालका चारवटा खानेपानी आयोजनामा पहिलो छरणमा नमूना प्रोजेक्टकारुपमा कार्यान्वयन गर्ने गरी नेपाल सरकारले काँकरभिट्टा, चारआली, महेन्द्रनगर चकरघट्टी र चनौटा खानेपानीलाई छनौट गरेको थियो ’ संस्थाका तात्कालिन अध्यक्ष सुर्यप्रकाश उप्रेतीले भने —‘त्यसमा पनि काँकरभिट्टा र चारआली खानेपानीलाई पहिलो चरणमा सम्पन्न गर्ने गरी चारवर्षअघि सम्झौता भएको थियो र सोहि समयमा त्यसको डिजाइन भएको हो ।’

आयोजनाका लागि दातृ संस्था बिल एन्ड मेलिना गेट्स फाउन्डेसनले नेपाल सरकारमार्फत १४ करोड, ६८ लाख ५८ हजार लगानी गरेको छ । यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी सङ्घीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको रहेकोे छ ।

मेचीनगर–७ काँकरभिट्टामा रहेको केन्द्रले दैनिक १२ घनमिटर र दुहागढीको केन्द्रले दैनिक २७ घनमिटर दिसाजन्य लेदो पदार्थलाई प्रशोधन गरी कृषि बालीमा प्रयोग गर्न मिल्ने प्राङ्गारिक मलमा रुपान्तरण गर्दछ । काँकडभिट्टामा रहेको प्रशोधन केन्द्रमा मेचीनगर नगरपालिकाको वडा नं. १ देखि १३ सम्मको ६५ हजार १९ जनसङ्ख्याबाट निस्कने सबै दिसाजन्य फोहोरलाई प्रशोधन गरिने र मेचीनगर–१४ दुहागढीमा रहेको अर्को केन्द्रमा मेचीनगरका १४ र १५ वडा, विर्तामोड नगरपालिकाका सबै वडा र बुद्धशान्ति गाउँपालिकाका सबै वडाको १ लाख ४२ हजार ८ सय ४८ जनसङ्ख्याबाट निस्कने दिसाजन्य लेदोको प्रशोधन गरिने तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख विद्यानाथ भट्टराईले बताए ।

मानव मलमूत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्र निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख भट्टराईले जानकारी दिए । पाइलट प्रोजेक्टको रुपमा मेचीनगरमा सञ्चालित यी दुई आयोजनाबाट सिकेर मुलुकका अन्य क्षेत्रमा परियोजना विस्तार गरिने खानेपानी मन्त्री बिना मगरले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here