बाबुआमाको आय–आर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित

0
418

झापा।

छोरी मान्छेले किन पढ्नुप¥यो ? कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरीहरु सक्षम भइसकेका छन् ।

बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएवापत विपन्न र गरीव अभिभावकलाई आय–आर्जन र रोजगारीका लागि सहयोग हुन थालेपछि शिक्षामा सुधार आउन थालेको छ । कपिलवस्तु जिल्ला मानव विकास सूचकाङ्कमा पछाडि रहेकोमध्ये एक जिल्ला हो ।

साना बहिनीको शिक्षामा सघाउन स्थानीय सरकारको समन्वयमा सामाजिक अभियानकर्मी र ठूला दिदी समूहले समूह बनाएर काम गरेपछि अभिभावकको मनस्थिति बदलिएको देखिन्छ । विद्यालय तहका माथिल्लो कक्षामा अध्ययनरत् दिदीहरुले तल्लो तहका बहिनीलाई शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा निर्मित शुद्धोधन गाउँपालिकाको मुडफुटुवास्थित नेपाल राष्ट्रिय माविका ममता पाण्डे, सृष्टिकुमारी पाण्डे र जाता कुर्मी आफ्नो प्रयासबाट बहिनीको शिक्षामा आएको सुधारबाट सन्तुष्ट छन् । पढाइमा कमजोर भएका बहिनी पहिलापहिला बोल्न पनि डराउँथे । अहिले पढाइमा राम्रो नतिजा आउन थालेको छ । दिदीहरुका समूह बहिनीको घरमा नियमित जाने र अभिभावकलाई भेट्दै विद्यालय नपठाउने अभिभावकलाई परामर्श दिने गरेपछि बहिनी विद्यालयमा नियमित जान थालेका छन् ।

दिदी समूहमा कार्यरत अक्षिता शुक्लले आफूहरुले हरेक वर्ष चार बहिनीलाई नियमित भेटी शिक्षामा सघाउँदा आफूले पनि सिक्न पाएको बताइन् । विद्यालयमा शिक्षक नहुँदा बहिनीका लागि कक्षा लिने काम पनि गरिएको उनको अनुभव छ ।
युरोपेली आयोगको सहयोगमा वी वल्र्ड, ग्लोबल एक्सन नेपाल (ज्ञान) र सिद्धार्थ सामाजिक केन्द्रको सहकार्यमा सन् २०१२ देखि ‘कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी कार्यक्रम’ (पिक) ले जिल्लाको दुई गाउँपालिकामा परियोजना सञ्चालन गरेपछि विद्यालय बाहिर रहेका बालबालिकाको विद्यालय भर्ना दर उल्लेखनीय वृद्धि भएको छ । भर्ना भएका विद्यार्थी नियमित विद्यालय जान थालेका छन् र पढाइमा सुधार ल्याई सरसफाईमा ध्यान दिन थालेका छन् । यस अभियानमा बहिनीको आत्मविश्वास बढाउने र अभिभावकको आयआर्जनका तालिमका कार्यक्रम पनि चलाइएको छ ।

सो भेगका १२० अभिभावकले पशुपालन र व्यवसाय खोल्नका लागि आर्थिक र सामग्री सहयोग पाएपछि उनीहरुले बालबालिकालाई सहजै विद्यालय पठाउन थालेको पाइएको छ । एकीकृत समता रणनीतिअन्तर्गत शिक्षाको पहुँच हुन नसकेका सीमान्तकृत सिकाइ समूहको पहिचान गर्ने, सवलीकरण समतामार्फत बालबालिकालाई विद्यालयमा टिकाउने र सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ जिल्लाको मायादेवी र शुद्धोधन गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको थियो । ती विद्यालयका १६७ शिक्षक र २१ बालविकास केन्द्रका सहजकर्ताका लागि बालमैत्री शिक्षण सिकाइ, कक्षाकोठा व्यवस्थापन, सामग्री निर्माण र प्रयोग सम्बन्धी तालीम पनि दिएको छ ।

कार्यक्रमले स्वास्थ्य तथा पोषण, वकालत, बालमैत्री सिकाइको वातावरण, वैकल्पिक शिक्षा कार्यक्रम, सकारात्मक नीतिगत तथा कानूनी कार्य, समन्वय, सहकार्य र सञ्जालीकरणका क्षेत्रमा समेत सहयोग गरेको थियो । दुई पालिकामा करिब ६ हजार बालबालिका परियोजनाबाट लाभान्वित भएको र कूल ४५५ दिदीहरु र अन्य समुदायका व्यक्ति परिचालित भएको वी वल्र्डका राष्ट्रिय निर्देशक तिलक भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here