धरानबाट कोरोना शंकास्पद एक बिरामी काठमाडौं रेफर

0
546

झापा।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गर्दै अस्पतालले राजधानी रिफर गरेको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा. ज्ञानेन्द्र मल्लका अनुसार तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर उपचार गराइरहेका बिरामीलाई थप उपचारका लागि राजधानी रिफर गरिएको हो ।

उच्च ज्वरो र घाँटीको दुःखाईले उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा पुगेका ती बिरामीलाई कोरोना भाइरस संक्रमणको आशंका गर्दै अस्पतालले राजधानी रिफर गरेको मल्लले बताए ।

उपचारको क्रममा बिदेश गए÷नगएको प्रश्न गर्दा विरामी दक्षिण कोरियाबाट ५ दिन अघि मात्र नेपाल आएको खुलेको थियो । उनी नेपाल आएलगत्तै बिरामी भएकाले अस्पताल भर्ना भएको र रोग निको नभएपछि थप उपचारका लागि तत्काल मेडिसिन विभागलाई खबर गर्दै टेकु रिफर गरेका हौं– डा. मल्लले भने– बिरामी आफंैले पनि मलाई कोरोना भाइरस भएको हुनसक्छ भन्दै आशंका गरेपछि तत्काल रिफर गरिएको हो ।

बिहीबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका उनलाई राति ७ बजेतिर राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकू रिफर गरिएको थियो । ‘यो आशंका मात्र गरिएको हो, तथापि यसबारेमा मन्त्रालयमा पनि जानकारी गराइसकेका छौं’– डा. मल्लले भने ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि ¥यापिड रेस्पोन्स कमिटी गठन गरिएको छ । भाइरसको संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवम् सतर्कता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्षमा अस्पताल निर्देशक डा. गौरीशंकर साह छन् भने सदस्यहरुमा सहायक निर्देशक डा. विकास साह, इर्मेजेन्सी इञ्चार्ज डा. ज्ञानेन्द्र मल्ल, एनेस्थेसियोलोजी विभागका डा. कृष्णा पोखरेल, माइक्रोबायोलोजी विभागका डा. नारायणराज भट्टराई, कम्युनिटी मेडिसिन विभागका डा. बिजय खनाल रहेका छन् ।

यस्तै, इएनटी विभागका डा. दीपक पौडेल, पेडियाक्ट्रिक्स विभागका डा. मुकेश भट्ट, गाइने विभागका डा.मनोज साह, इन्टरनल मेडिसिन विभागका डा. रोशन क्षेत्री सदस्य छन् भने सदस्य सचिवमा अस्पताल प्रशासन महाशाखाकी सुपरभाइजर कमला लिम्बू रहेकी छिन् ।

उता वीवीसी नेपाली सेवाले उल्लेख गरेको छ– विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको संक्रमणले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको घोषणा गरेको छ ।

दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो संक्रमणलाई विश्वव्यापी संकट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ । चिनियाँ अधिकारीहरूले उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो । यसकारण अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन् । हाल उक्त संक्रमण चीनबाहिर पनि फैलिसकेको छ । चीनबाहेक नेपालसहित १८ देशमा ९८ जनामा संक्रमण भएको पाइएको छ । तर, चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए । बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत संक्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ ।

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ । त्यसैले उनी भन्छन्– पछिल्लो घोषणापछि डब्ल्यूएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा संक्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ ।

यो घोषणाको अर्थ अब सबै देशलाई संक्रमण फैलिन रोक्न कडिकडाउ गर्न र नियन्त्रणका उपाय अपनाउन आव्हान गरिएको जस्तै हो । डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले संक्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ ।

जेनेभास्थित संवाददाता इमोजेन फोल्क्स भन्छिन्–एक साताअगाडि १७ जनाको मृत्यु र ५०० जनामा रहेको संक्रमण अहिले दशगुणा धेरैको मृत्यु र आठ हजार जनामा संक्रमण पुगेको सन्दर्भमा डब्ल्यूएचओका सामु यो घोषणा गर्नुबाहेक अरू विकल्प थिएन ।

यसबीच संक्रमणको केन्द्रमा रहेको वुहानबाट विदेशी नागरिक उद्धार गर्न विशेष चार्टर्ड गरिएका थप विमान शुक्रवार त्यहाँबाट उड्दैछन् । दुई सय ब्रिटिश नागरिक त्यहाँबाट प्रस्थान गर्नेछन् । उनीहरूलाई उत्तरी आयरल्यान्डको एक अस्पतालमा दुई साता अलग्याएर छुट्टै राखिनेछ ।

दुई सयजना फ्रेन्च नागरिक बोकेको विमान भर्खरै त्यहाँबाट उडेको छ । फ्रान्समा उनीहरूलाई १४ दिनसम्म क्वरन्टीनमा राखिनेछ । करिब २०० अमेरिकीहरू हाल क्यालिफोर्नियाको सैनिक क्याम्पमा क्वरन्टीनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here