गौंथलीको बाऊ वर्गको राजनीतिक खेलो खेल्ने ट्याउटिस !

0
953

व्यंग्यनारान पाँडे,

“मर्ने गरी गलिएछ तेस्सिमालाने ! एक हट्टा बितिसक्ता नि अज्जै जीउ तङ्रेको छैन । साँच्चिकै एलेक्सिनको भोट नारेर अठ्ठारका अठ्ठार कम्रेटै कम्रेटलाई रास्टसबाका मन्नीएमा ढुँकाउन कम डिफिकल थ्यो ? तर एति गर्दा नि मेडिआमा पत्रकार गर्ने ठीक बाटाका कतिपए बाएक धेरैपए राँडा’ छाउराका छातीमा चइँ हामेरको सर्खारले गरेका राम्रा कामको पर्सन्सा गर्ने मुटु नै छैन— होप्पी साला ! इ म जन्मेदेखुन् पत्रकार गर्दा–गर्दा चाइनेकेरे हल्लुँड भउन्जेल अ‍ैले पनि टुसुक्क बिसाको छुइन भने मैले कौनै राजा र कौनै पाटीको सर्खारका एगेनेस हुने कौनै अबाच्चे बोल्या छु ? जैले सपोटका सपोट गर्ने धर्मता र आदर्सता मइनटेन गरिराख्या छु । होइन भन त ? एस्तो सिन्यार पत्रकार गर्ने व्यात्तित्तो भका नातोले अ‍ैलेका मेडिआवालाका आँखाले सर्खारका राम्रा काम नदेख्न सकेर हरिपुङतामे हन्मत कमेन गरेको सर्सरी अद्देन गर्दा बमी होला झैं पेटको लिदी निचोर्रेर मुखमा हुलुक्–हुलुक् अमिलो पानी आउँछ ।”— एकोहोरो यसो भन्दै आएका गौंथलीको बाऊले कुर्सीमा बसेपछि टोपी झिकेर एउटा हातले अर्को हातमा टक्टक्याई बुङ्ग धूलो उडाउँदै भने— “शितले टोपी भिजेका बेला टाँस्सिया बज्या धूलो अगि टक्टकाउँदा झन् लिम्पियाथ्यो, अ‍ैले चइँ किल्लेर झरो पढ्के ।”

उनले उठाएका मुख्य विषयतिर नलागी मैले धूलोतिर कुरो माड्दै भनें— “यो टोपीको धूलो त यिँहीँ ट्कटक्याउनु भयो, भइहाल्यो । जीउका सबै कपडा, हात–गोडा, जुँगा, गर्दन र आँखीभौंमा पनि लटरम्मै धूलो लागिराख्या छ, यी पनि झार्ने हो भने उ पर गेट–बाहिर गएर झार्नोस् । यतिको धूलैधूलो कसरी लाग्यो ? कि हिजो राती जंगे जल धेर भएर धुस्मुटिनु भयो धुले बाटोमा र रातभरि तिँही निदाएर व्यूँझेपछि त्यत्तिकै सरासर यता आउनु भयो हँ ? कानमा टोड्कामा पनि धूलेैधुलो छ ।”

उनी एकपटक च्वाक्क मुख बजाएपछि जम्मै पहेंला दाँत, गिजा, जिब्रो र किल्किलेसम्म देखिने गरी मुख बाएर जोडले हाँसे । उनको ओठबाट र्याल र नाकबाट पानी पनि पग्रियो । हाँसो निख्रिएपछि त्यही टोपीले नाक–मुख पुछे अनि हाँसोको हिक्का मिसाउँदै भने— “हन तपइँ बोक्सो हाउ कि जोतिस–उतिस के होउ हँ ? मलाई त कस्तो हाँस उठो । सप्पै छ्यातछ्याती देख्या जैसो पो कहन्छौ त हँ ?”

मैले भनें— “मैले ठीकै अनुमान लाएछु नि ?”
उनले फेरि एक रील हाँसो पर्वाह गरेपछि धमाधम भने— “भामट पर्एत्न गरेर अठ्ठारका अठ्ठार कम्रेटलाई मान्नीएमा ढुँकाउँदा गलेर पेदु भइयाथ्यो । तेसमाथि तेसरी जिताउन सफल्ता–ससेस्फुलता भइएकामा खुशीको उपलच्छे पनि थ्यो र तेस्ता उपलच्छेमा झन कैलुको भट्टी हुटेलमा झन् डबल–टेबल नजाने त कुरै नट । हुटेलमा मेरै छेत्रको एरिआका भित्ती मार्का युवाहर्का लागि मात्ने सुइया र टपलेटको घरघरै बन्दबस्त गर्दिनेमा नामी इन्डेन बसेर झुँइकिराख्या राँन । तिन्लाई एलेक्सिनको भोटमा हामेरको ससेसफुलताको कुराले फेरो मार्रेर चइनेकेरे थर्काइहालियो । बास्, अनित्याँड र बोइलारको लद्बदे झोलाइलो मासु, च्यूरा–भट्वाँस, मूला र गाँजरका चानाका अगान्जी ओइरोसँग अङरेजी हुस्की कति ख्वाए कति तिनले । म त त्याँको त्याइँ बिहोस भँछु । हुटेल बन् गर्न कैलुले उठाउँदा ती तस्करज्यूहेरु अग्गि गइसक्या रछन् । कैलुले मलाई हतेर्दै अलि एत्ता बाटासम्म लेरार छोडेछ । म त्याँदेखुन् पान–छ फड्को हिंडेसि पेसाप फेर्न बसिरथेँ र उठ्नै नसकेकोसम्म था छ । अ‍ैले बेहान उज्यालो हुँदा बिम्जेछु । जिउ त हिउँभन्दा ठन्डा भ’र कक्रेछ । र, त्याँड कैलुकैतिर घुरें । राती ती तीन थान युबकबड पान–पान रुप्पे खोकी–खाँसीको टिनमेन गर्ने उपचार खर्च आर्थिक साहेता पाइरथेँ । तेसै रक्कमबड आदा बदल खुदीको एस्पीसील खरो ठर्रा किनेर घुट्क्याएसि बल्ल सास घुरो अनि झन्नै एक घण्ट फर्की–फर्की आगामा सेकिएसि एता आको ।”
म हाँसें मात्र, केही बोलिन ।

उनी भन्दै गए— “तेसरी मेरो शरीरभरि धूलो लाग्या हो, अन्नेथा केइ होइन । अ‍ैले हामेरले हामेरको सम्विर्द नेपाल गर्ने करममा होल–टोट्टलमद्दे धेरैपए सडक–बाटोहेरु धुलाम्मे बनाका छम् । नेपाली मान्छे कतिपयले मात्तै नखालान्, धेरैपएले ठर्रा, जाँड, तुङ्बा, छ्याङदेखुन् रम, बेयार, हुस्की, बरन्डी नसुइँठ्याई सक्तैनन् । खाका बेला बाइ चानस ओबरलोठ भ’र लडिँदा अल्कत्रे–सडक–बाटामा भन्दा धुलाम्मेमै लड्दा सुरच्छित भइँछ भन्ने सोचेरै सडक–बाटाहेरु खनेर लथालिङ्ग पारिराख्ने हामेरकै गोप्पे अडर हो भन्ने ठाने पनि हुन्छ । म नै गए राती अलकत्रे बाटोमा लड्या थेँ एसबेला म सोर्गमा हुन्थें र तपइँ मेरो मलामी भइराख्या हुन्यौ । हामेरको पाटी भभितब्बे पर्ने जनताको कम्ता कम्ता क्यारलेस गर्दो रछ त ?”
उनी राम्रै बोल्दाबोल्दै फेरि घोर्ले हाँसो हाँसे र आँशु पुछ्तै भन्दै गए— “अनि तेसरी धूलामा रातभरि सुतेसि टोपी, कपडा, हात–गोडा र अन्भारका ठाम्–ठाम्मै धूलो नलागेर के लागोस् त अन्तखेरी ? तपइँले घर बसी–बसी कसरी मनग्यानले खुटाखुटी अन्मान गरेर ठ्याक्क भन्यौ भन्र म खुशी भए भ’र हाँसेको अनि तपइँ बोक्सो हाउ भन्या क्या मैले । तपइँ जे भा नि भामट जान्ने रछौ हओ पाँडे भाइ । तपइँको पर्खर जान्ने पतिबा बुद्न पाउँदा म आफ्लाई धन्ने भन्छु । लु हओ भाइ, तपइँ पनि भऊ हओ कम्रेट र जइन गर हओ हामेरको बौमतको निख्खरा कमिनिस पाटीमा । हामेरको कमिनिस पाटी अ‍ैले उइलेको राजतन्त्र पाटीको बेला जस्तै टेसिलो भइरछ क्या । पर्तेपच्छीहर्मा काङ्रेस तेसका नेता जुधेर धूलोपिठो भकै छ, राप्पपा अक्कासको तारो झर्ने र ग्यान्यान्रलाई राजा पार्ने जस्तो असम्भौ कुरा गरेर लाटा–हुस्स खाले जन्तालाई थई–थई नचाउन बिज्जी छ, मधिसे पाटीहेरु एलेक्सिनको भोट आउँदा हामेरकै पाटी समच्छे पुछार हल्लाउने भइसकेका छन् । अरु भारेभुरेले मन्टो उठाउन सक्ने कुरै नट्, एब्दमै नट् । तेसो भा तपइँ कता लाग्छौ ? कता लागेर के पाउँछौ ? हामेरको पाटीमा आयो भने म तपइँलाई तुरुन्ताको तु बौमतको आदेश गरा’र पत्रकार गर्नेमा र पर्गतिशील साइत्तेकार गर्नेमा सिन्यारको मार्का ठ्याप्प लगाउन लाइदिन्छु, अनि पुरुस्कार–उरुस्कार अनेत्र कत्तै नजाको सिकनेस पनि मिलाइदिन्छु । कम्रेट चइँ भइसकेसि रुखमा चढे पनि नालीमा लडे पनि कम्रेटको कम्रेट । गए रातभरि म यो ठन्डीमा धूले बाटामा लठ्ठ सुते पनि अ‍ैले तपइँ समच्छे रास्टेसबामा पुगेका नयाँ–नुतन अठ्ठार मान्नीएका कुरा हाँकेर सर्खारको यो अस्सल कामको पर्शम्सा गर्न पाइराख्या इ एतिखेर तपइँले छ्यात्छ्याति देखिराख्या छौ । हामेरको पाटीले चायो भने मान्छे मारेर नेता हुने मान्छेलाई पनि ठूलोभन्दा ठूलो पद–पोसमा राख्नुदेखुन् सबामुकको उमेरदार बनाउन सकिहाल्छ । हामेरको बौमत छ भनेसि कुरो फिनिसिगो नि, होइन र ? कि तपइँ के भन्छौ ? तपइँको भन्तब्बे के छ ?”

मैले भनें— “दाइले घर गएर यी धुलाम्मे लुगाफाटा खोल्नु, नुहाइ–धुवाइ गरेर सफा हुनु र अरु लुगाफाटा फेर्नु उचित छ । पार्टीमा पस्ने–निस्किने कुरो त तपसीलमा राखिराखेर हिजो राती कैलुको भट्टीमा गलगिद्द खानपान गराउने तीन थान इण्डियन तस्करले जनही पाँच–पाँच रुपैयाँका दरले दिएका खोकीको उपचार गर्ने आर्थिक सहायता जम्मा पन्ध्र रुपैयाँको वचत कति छ त्यो लिएर कैलुकै भट्टीमा गई कान तताउनु ठीक हुन्छ भन्ने मेरो फाइनल भन्तब्बे छ ।”

उनले अकमक्क भएर तिखा आँखाले एकछिन् मेरो अनुहारमा हेरेपछि सबै खल्ती अल्टाएर देखाउँदै भने— “इ काँ बचोत भो र हिजोको पन्र रुप्पेबड एकै कन्चो ? बरु तपइँलाई यो दाइको मानौ अदिकार रच्छे गर्नुछ भने निकाल र पन्र रुप्पे आरथिक सहेताको हिसापमा लेखेर । लु त । तो खुदीको खरो एस्पीसील ठर्रा आदा बदलकै ठ्याक्क पन्र रुप्पे लिन्छ कैले मोराले । रातभरि बाटाको धूलामा खोल्ला अक्कासमुन्तिर उस्तो ठण्डीको कस्टको पर्भा नगरी सुत्ताको चिसो मेरो शरीरमा तातेकै छैन । तेति आदा बदलको लाग्ने पन्र रुप्पे हातलागी भो भने म गाइजान्छु । तपइँ पाटीमा आयो भने हो एस्तै भर–अभर टाछौं भन्ने त मेरो आश हो र न जोड ला’हूँ मैले । लु त तेति गर, म पाटीका तरफबड एक बोरै धन्नेबात दिन्छु ।”….
मैले केही भनिन । मनमनै आफैलाई प्रश्न गरें— “गौंथलीको बाऊ वर्गले पार्टीको राजनीति यसरी पो भँजाउँछन् कि क्या हो हँ ?”….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here