पशु आहारका लागि २०० बिघामा मकैखेती

0
1412

सन्तोष शर्मा /झापा,

मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।

“दानाको भन्दा यो चार गुणा सस्तो पर्छ”, उहाँले भन्नुभयो, “साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।” दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च घट्ने अध्यक्ष सिटौलाको भनाइ छ ।

विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि सङ्घले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन शुरु गर्न लागेको छ । साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले रु आठ करोड अनुदान दिने भएको छ भने सङ्घमा आबद्ध किसानको रु चार करोड थप गरी रु १२ करोडको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ ।

जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेनिक’ यन्त्र खरिद गर्न लागिएको अध्यक्ष सिटौलाले बताउनुभयो । प्रदेशबाट प्राप्त अनुदानबाट भण्डारण गृह, आवश्यक उपकरण खरिद गरिने जनाइएको छ । साइलेक्स उत्पादनका लागि जिल्लाको मेचीनगर नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका लगायतका स्थानमा करिब २०० बिघामा मकैखेती गरिएको छ । हावा र पानीबाट बचाउनसके साइलेक्स १८ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ ।

हाल भारतको पञ्जावबाट प्रतिकिलो रु १८ मा साइलेक्स आयात हुने गरेको अध्यक्ष सिटौलाले बताउनुभयो । सङ्घले उत्पादन गरेको साइलेक्स प्रतिकिलो रु १२ देखि रु १३ सम्म पर्नेछ । यो वर्ष एक करोड किलो साइलेक्स उत्पादन गर्ने सङ्घको लक्ष्य छ । अत्याधुनिक यन्त्र भित्रिएपछि वार्षिक चार करोड किलो साइलेक्स उत्पादन गर्न सकिने अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

सरकारले खाली रहेको जग्गामा मकै खेती गर्न दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिने अध्यक्ष सिटौलाको भनाइ छ । “सरकारले खाली रहेको जग्गा दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । एक हजार बिघा जग्गामा मकैखेती गर्न सकिए त्यसबाट उत्पादन भएको साइलेक्स आठ हजार गाईलाई पुग्नेछ ।

उन्नत जातका बाच्छी उत्पादनका लागि सङ्घले अमेरिकाबाट एबिएस कम्पनीको कृत्रिम गर्भाधारण उपकरण खरिद गर्ने तयारी गरेको छ । “उन्नत जातको बाच्छी मात्रै उत्पादन र गाईको उपचारका लागि आवश्यक तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सङ्घमा झापा, इलाम, ताप्लेजुङका गरी करिब ११५ गाई तथा बाख्रापालक फार्म आबद्ध छन् ।

प्रदेश नं १ का पशुपालक किसानलाई सङ्घमा आबद्ध गराएर पशु आहार आपूर्ति गर्ने योजना बनाइएको छ । सङ्घले अन्य किसानले उत्पादन गरेको मकैसमेत खरिद गरेर साइलेक्स उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here