अमित खम्बू /अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वर धाममा नवनिर्मित शनि शिलासहितको मन्दिर देशकै पहिलो शनि देवको मन्दिर भएको दावी गरिएको छ ।
शनि देवका मन्दिरहरु अन्य ठाँउमा पनि निर्माण भएका छन् तर शनि शिलासहितको यो मन्दिर नेपालकै पहिलो भएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले दावी गरे । “शनि देवताको मूर्तीमा भन्दा शिलामा पुजा गर्दा भक्तजनहरुलाई दश गुणा बढी फल प्राप्त हुने हुँदा हामीले शिलालाई रोजेका हौं ।”– मूल अर्चक सिग्देल शिलाबारे थप स्पष्ट पारे ।
धाम परिसरमा रहेको १० धुर जमिनमा निर्माण गरिएको मन्दिरमा भारतको जयपुरबाट ल्याई राखिएको उक्त शिलाको लम्बाई तीन फिट र तौल १ क्वीनटल भन्दा बढी रहेको बताइएको छ । अर्जुनधारा–९ निवासी पूर्व सांसद केदारमणी ढकालको प्रस्तावमा धाम व्यवस्थापन समितिले मन्दिर निर्माण गर्न सदस्य शंकर सुवेदीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको थियो ।

२०७३ साल फाल्गुन २७ गते मन्दिरको शिलान्यास भई गत माघ १५ गते निर्माण सम्पन्न भएकोे मन्दिरको कुल लागत १४ लाख ५९ हजार एक सय ७७ रुपैयाँ रहेको धामका कार्यालय सचिव विष्णु भट्टराईले जानकारी दिए । त्यसको लागि दाताहरुबाट १० लाख ६६ हजार आठ सय ७७ रुपैयाँ र धाम व्यवस्थापन समितिबाट तीन लाख ९२ हजार तीन सय रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
धार्मिक विधि अनुसार नौ ग्रहमध्ये अन्य ग्रहको छुट्टै मन्दिर हुँदैन तर छुट्टै मन्दिर हुने शनिको पुजा गर्नाले सम्पूर्ण बन्धनबाट मुक्त हुनुका साथै रोगव्याधी, दुःख दारीद्रबाट शान्ति मिल्ने मूल अर्चक सिग्देलले बताए । विशेष शनिबारको दिन पुजा गरिने शनि देवको लागि आवश्यक पुजा सामग्रीहरुमा कालो तिल, तोरीको तेल, कालो कपडा र फलाम रहेका छन् ।
छिमेकी देश भारतको राजधानी दिल्लीमा (शनि तीर्थक्षेत्र), महाराष्ट्रमा (शनि शिंगणापुर), इन्दोरमा, प्रतापगढमा र तमिलनाडुमा (शनि मन्दिर तिरुनल्लर) रहेको शनि देवको मन्दिर नेपालको संघीय राजधानी काठमाण्डौंमा (संकटा मन्दिर), चितवनको माडी–७स्थित देबेन्द्रपुरमा र सप्तरीको रुपनी गाँउपालिका–६स्थित तेरहौतमा रहेको छ ।
यसैबिच नवनिर्मित शनि मन्दिरमा राखिएको शिलाको प्राण प्रतिष्ठा एवम् मन्दिरको समुद्घाटन गरिएको छ । गत माघ १६ गते वसन्त पञ्चमीको दिन जलाधीवास, थलादिवास, धान्यादीवास, फलादीवास, द्रव्याधीवास आदि वास गराइयो, दोस्रो दिन न्याससहितको प्राण प्रतिष्ठा र अन्तिम दिन दुध, दही, घ्यू, मह, चिनी, गौमुत्र, गंगाजलद्वारा शिलाको विशेष स्नान गराई विधिपूर्वक पुजा गरी प्राण प्रतिष्ठा गरिएको थियो ।

सोही कार्यक्रममा समितिका अध्यक्ष नविन गट्टानीले २१ लिटर तोरीको तेलबाट शिलाको अभिषेक गरेका थिए । समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दाता जयनारायण ढुंगाना र विशेष अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले मन्दिरको संयुक्तरुपमा समुद्घाटन गरेका थिए । कार्यक्रममा नगर प्रमुख राना, पहलकर्ता पूर्व सांसद् ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मूल अर्चक सिग्देलले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्दिर निर्माण समितिका संयोजक सुवेदीले गरेका थिए ।




























