[सुरेन्द्र भण्डारी]
बिर्तामोड, बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्ष स्थानीय पाठ्यक्रम ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको यो शिक्षा प्रभावकारी देखिएको छ ।
अहिले बिर्तामोड नगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालयसहित ५२ वटा संस्थागत (निजी) विद्यालयमा आचारण सचेतना शिक्षाको पठन–पाठन हुने गरेको छ । नगरपालिकाले गतआर्थिक वर्ष २०७५÷०७६ मा छ लाख रुपैयाँ बजेट विनियोजन गर्दै ‘आचरण सचेतना शिक्षा’ नगरका सबै विद्यालयमा लागू गर्ने भन्दै स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शैक्षिक सत्र २०७६देखि लागू भएको छ ।
स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू भएपछि विद्यार्थीलाई संस्कार, संस्कृति सिकाउन सहज भएको अनारमनी प्राथमिक विद्यालयका प्रधानाध्यापक टंक कटुवालले बताए ।

‘आचरण सचेतना शिक्षा’ को पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रितीरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने ट्राफिक नियम, जैविक खानाको महत्व तथा विषादियुक्त खानाबाट हुने हानी–नोक्सानीलगायतका विषयवस्तुलाई समेटिएकाले व्यवहारिक शिक्षा सिकाउन सहज भएको प्रधानाध्यापक कटुवालको भनाइ छ ।
कक्षा ३ र ४मा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएको पुस्तकभित्र पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकासलाई समेत समेटिएकाले विद्यार्थीको आनी–वानी सुधार्न समेत सहज भएको प्रधानाध्यापक कटुवालले बताए । उनले भने– सानै उमेरदेखि यो खाले शिक्षा विद्यार्थीलाई सिकाउने हो भने उनीहरु संस्कारी बन्ने रहेछन् ।
विद्यार्थीलाई घरपरिवार, आफन्त, शिक्षक, आफू भन्दा ठूला र सानासँगको व्यवहार सिकाउन नगरपालिकाले लागू गरेको ‘आचरण सचेतना शिक्षा’ अत्यन्त प्रभावकारी भएको न्युट्न्स स्कूलका को–अर्डिनेटर देवेन्द्र हुमागाँईले बताए । उनले भने– सानै उमेरदेखि सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियम जस्ता विषयबस्तु समेत यो पाठ्यक्रममा समेटिएकाले यो शिक्षा विद्यार्थीका लागि अति प्रभावकारी देखिएको छ ।
नगरपालिकाले भने ‘आचरण सचेतना शिक्षा’ लागू गर्दै बिद्यार्थीलाई सभ्य र संस्कारी बनाउन सकिने अपेक्षा राखेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रयोगात्मक रूपमै विद्यार्थीलाई शिक्षा दिन सकिने गरी पाठ्यक्रम निर्माण गरिएकाले यो शिक्षा प्रभावकारी र नतिजामुखी हुने बताए । उनले भने– ‘परिकल्पनामा बालबालिकाको नैतिक, व्यावहारिक र व्यक्तित्व विकाससहितको विद्यालय शिक्षामा गुणात्मक परिर्वतन गर्न यो पाठ्यक्रम लागू गरिएको हो ।’
नगरले लागू गरेको स्थानीय पाठ्यक्रमलाई प्रत्येक शैक्षिक सत्रमा कक्षा वृद्धि गर्दै लगिने भएको छ । आचारण सचेतना शिक्षा कक्षा ३देखि आठसम्म पठन–पाठन हुने गरी नगरपालिकाले तयारी गरिरहेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । नगरपालिकाले अरु सबै विषय उत्तीर्ण गरे पनि आचरण सचेतना शिक्षामा फेल हुने बिद्यार्थीलाई माथिल्लो कक्षा पढ्न नपाउने नीति लिएको बताइएको छ ।
नगरपालिकाले नगरभित्रका सबै बिद्यालयलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना शिक्षा’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन भइरहेको छ । नगरपालिकाले विद्यालयमा भएकै शिक्षकलाई तालिम दिएर यो विषय लागू गरेको जनाएको छ । विद्यालयमा पढेका तथा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसँगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने नगर शिक्षा अधिकृत भण्डारीले बताए ।
कक्षा ३ र ४का पाँच हजार विद्यार्थीले आचारण शिक्षा लिइरहेका छन् । आचरण शिक्षा व्यवहार उपयोगी र आवश्यक रहेको अभिभावकको भनाइ छ । आचरण सचेतना शिक्षा शुरु भएसँगै विद्यार्थीको दैनिकी र व्यवहारमा सकारात्मक परिवर्तन आएको सरस्वती माध्यमिक विद्यालय बिर्तामोड–५ बुट्टावारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वाले बताए ।
प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ले राज्यको संघीय ढाँचा अन्तर्गत स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्था अनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई उपयोग गर्दै बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको बताइएको छ । स्थानीय विषयका रूपमा पाठ्यक्रम तयार गरेको बताइएको छ ।
प्राथमिक विद्यालय पाठ्यक्रमले प्राथमिक तह भर स्थानीय तहमा मातृभाषा÷स्थानीय विषयगत पाठ्यक्रम निर्माण गरी पठन–पाठन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार अहिले बिर्तामोड नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गर्दै लागू गरेको हो ।




























