अमित खम्बू
अर्जुनधारा, भौगोलिकरुपमा विकट तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका झापा अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह क्षेत्रका महिलाहरु स्वास्थ्य कार्यकर्ता बन्न जुर्मुराएका छन् ।

स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले भद्रपुर–४स्थित मोर्डन पब्लिक हस्पिटल प्रा.लि.सँगको साझेदारी र प्राविद्यिक सहयोगमा चालु आर्थिक वर्ष ०७६÷०७७को गरिबी न्यूनिकरण अन्र्तगतको कार्यक्रमबाट उनीहरुको लागि तीन महिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गर्ने भएपछि उनीहरु जुर्मुराएका हुन् ।
तालिमकी सहभागी क्रिष्टिना न्यौपानेले स्वास्थ्य केन्द्रको नाममा एउटा क्लिनिकसम्म नरहेको त्यस क्षेत्रमा समूहले आयोजना गर्ने तालिमको खबरले मात्र पनि उनलाई उत्साहित बनाएको बताइन् ।
गाँउघरमा स्वास्थ्यकर्मी नहुँदाको पीडा बुबा बिरामी भएको अवस्थामा आफूले भोगेको उनले बताइन् । बुबा गुमाएको २०–२२ दिनको पीडासँगै तालिममा सहभागी हुन आएकी उनी भन्छिन्–‘ अक्सिजन लगाएर राख्नुपर्ने अवस्थामा रहेको बुवालाई बाफ दिइरहनु परेको थियो ।’
क्रिष्टिनाजस्तै तालिमका अर्का सहभागी कान्ता खनालले सानो रकमको लगानीमा यति राम्रो कार्य हुनुलाई समूहको सकारात्मक कार्य भएको बताइन् । उनी भन्छिन्–‘ हामीले तालिमबाट प्राप्त ज्ञानले आफ्नै परिवारको लागि मात्र पनि केही गर्न सक्यौं भने त्यो उपलब्धीमूलक हुन्छ ।’
बिरामीविनाको घर अहिलेको समयमा भेटीन गा¥हो भएकोे अवस्थामा स्थानीयस्तरमै दक्ष स्वास्थ्य कार्यकर्ता उत्पादन गरि गाँउघरमै सेवा पु¥याउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए । ४० जना सहभागीलाई लक्षित गरि आयोजना गरिएको तालिममा हाल १५ जनाको सहभागिता रहेको अध्यक्ष खतिवडाले जानकारी दिए ।
झापाहित, इलाम, मोरङ, सुनसरी र उदयपुरमा समुदायमा आधारित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको हस्पिटलका अध्यक्ष दयालाल राजवंशीले हेल्थ असिस्टेन्टदेखि स्टाफ नर्सजस्ता दक्ष प्राविधिकहरुबाट तालिमका सहभागीहरुलाई मानव संरचना विज्ञान, मातृशिशु स्वास्थ्य स्याहार, प्रसव अवस्था, सुत्केरी पूर्वको तयारी, नर्मल डेलिभरी, नवजात शिशु स्याहार, पोषण तत्व, कुपोषणको रोकथाम र उपचार, परिवार नियोजनलगायतका विषयमा सैद्धान्ति शिक्षा दिइने जानकारी गराए ।
त्यसबाहेक तालिममा प्राथमिक उपचार, प्रेसर नाप्ने, ड्रेसीङ गर्ने, मासुमा इन्जेक्सन लगाउने, सर्पले डसेको, हाँत भाँच्चिएको, खुस्किएको पत्ता लगाउने विधि, डुबेको मान्छे, आगोले जलेको, करेन्ट लागेको मान्छेलाई गरिने प्राथमिक उपचार र धड्कन नाप्ने विधि बारे व्यावहारिक ज्ञान दिइने उनले बताए ।
२०६८ सालदेखि त्यस किसिमको समुदायमा आधारित कार्यक्रम गर्दै आएको हस्पिटलले सहभागीहरुलाई ब्लड प्रेसर नाप्ने मेसिन, औषधिसहित ड्रेसिङ सेट र थर्मामिटर हस्पिटलले निःशूल्क उपलब्ध गराउने भएको छ । अध्यक्ष राजवंशीले एक साताभित्र सहभागीलाई ब्लड प्रेसर नाप्न सक्ने बनाउने दाबी गरेका छन् ।
सहभागी एक जनालाई दक्ष स्वास्थ्य कार्यकर्ता बनाउन कम्तिमा १७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने बताएका उनले समुदायमा आधारित काम गर्ने हस्पिटल भएकाले समूहको विशेष अनुरोधमा ८ हजार १ सयमै उक्त तालिम प्रदान गर्ने भएको हो ।
यसैबीच समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा सोमबार आयोजित उक्त तालिमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले सहभागीलाई ब्लड प्रेसर, सुगर जाँच्न सक्ने बनाइँदा पनि ठूलै उपलब्धी मान्नुपर्ने बताए । तीन महिने तालिमको उपलब्धीले पछि अनमी, सिएमए पढ्नसक्ने वातावरण सिर्जना हुनसक्ने पनि उनको भनाइ छ ।
समूहका वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनकुमारी सञ्जेलले गरेकी थिइन् ।































