फूलखेतीबाट पाँच लाख आम्दानी

0
468

झापा,

झापाको बिर्तामोड नगरपालिका – ९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यवसायिक खेती गरेको अढाई वर्षभयो । उहाँले फूल खेती गरेरै आफ्नो परिचय फेर्नु भएको छ । परिचयसंगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया हुनुभयो ।


जन्मदेखि मृत्युसम्म र मन्दिरदेखि घाटसम्म नै अति आवश्यक मानिने फूल केही समय अघिसम्म चार्डपर्व (दशै, तिहार)लाई लक्षित गर्दै शौखका रुपमा घर वरिपरि आगनको डिलमा वा करेसावारीमा थोरै मात्रामा रोप्ने गरिन्थ्यो । तर, अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूलको झापामा व्यवसायिक खेती हुने गरेको छ ।
फूल रोपेरै बिर्तामोड – ९ निवासी अधिकारीले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न थालेपछि उहाँको परिचयसंगै आर्थिकस्तर समेत माथि उठेको बताइएको छ । अधिकारीले अहिले आठ कठ्ठा क्षेत्रफलबाट फूल रोपेरै मनग्य आम्दानी गरिरहनु भएको छ । गत तिहारमा मात्रै उहाँले फूल बेचेर एक लाख २० हजार रुपैयाँ आम्दानी गर्नुभयो ।
प्रतिकेजी ३० ÷ ४० रुपैयाँमा बिक्री हुने सयपत्री फूल तिहारको वेला तीन दिनमा मात्रै एक लाख २० हजार रुपैयाँको बिक्री गरेपछि छर छिमेकी समेत अचम्मित भए अधिकारीले भन्नुभयो – ‘तीन दिनमा एक लाख २० हजार रुपैयाँको फूल बेचेपछि अहिले मलाई पनि फूल खेती गर्ने सिकाईदिनु भन्नेहरुको कमी छैन ।’

टिभी हेरिरहेकी थिए अधिकारीले भन्नुभयो – ‘फूल खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश सहितको पश्चिमको एउटा फूल खेती सम्वन्धि समाचार नेपाल टेलिभिजनमा बज्यो, त्यही समाचारको प्रेरणाले फूल खेती गर्नु शुरु गरेकी हुँ ।’ गर्न जाने हुँदो रहेछ अधिकारीले भन्नुभयो – ‘हिजो फूल रोप्दा न दशैं न तिहार किन फूल रोपेकी भनेर खिसी गर्नेहरु अहिले मलाई पनि फूल खेती गर्न सिकाइदिनु दिदी भन्दै आउँछन् ।’

अधिकारीले वर्षमा तीन पटक फूल रोप्नु हुन्छ । एक पटक रोपेको फूलले अढाई÷तीन महिनामादेखि आम्दानी दिन शुरु गर्छ । चार महिनामै फूल टिपेर बिक्री गरिसक्नु पर्छ अधिकारीले भन्नुभयो – चक्रियवाली जस्तै हुँदो रहेछ फूल खेती पनि ।
प्राय सबैको घर आगनमा दशै तिहारमा मात्रै ढकमक्क फूल्ने सयपत्री फूल अहिले मेरो घरमा वाह्रै महिना फूल्छ । त्यही फूल बेचेर घर खर्च चलाएका छौं । विद्यालयमा हुने कार्यक्रम होस् वा कुनै संघ संस्थाको सभा समारोह जे भएपनि यहीबाट सबैले फूल लानुहुन्छ । फूल बेच्न बाहिर बजार धाउनु परेको छैन अधिकारीले भन्नुभयो – ‘यो सिजनमा सयपत्री प्राय फुल्दैन तर पनि म भने फूल फूलाएर महिनाकै १० ÷१२ हजार रुपैयाँको फूल बेच्छु ।’

शुरुमा परीक्षणमा लागि थोरै ठाउँमा फूल रोपेकी थिए राम्रो भएर आयो, त्यही फूललाई बीऊ बनाएर राखे र एक दुई कठ्ठा गर्दै अहिले आठ कठ्ठा क्षेत्रफलमा फूल रोप्ने गरेकी छु उहाँले भन्नुभयो – ‘ढकमक्कै सयपत्री फूलेको समयमा हेर्नेको भीड लाग्छ । सोध्नेलाई उत्तर दिन भ्याई नभ्याई हुन्छ । फूलको बीऊ माग्नेले हैरान बनाउँछन् ।’

फूलको वीऊ र विरुवा समेत विक्री गर्न शुरु गर्नुभएकी अधिकारीले अहिले घर नजिकैको ग्वालीमा फूलका थुङ्गालाई बीऊका रुपमा सुरक्षित रुपमा राख्नु भएको छ । फूल माग्न आउनेहरु फूलको बीऊ देखेपछि दिदी मलाई पनि सय दुई सय रुपैयाँको फूलको वीऊ दिनु है भन्छन् अधिकारीले भन्नभयो – ‘अहिले दैनिक पाँच सात सय रुपैयाँको त फूलको बीऊ मात्रै बिक्री गर्छु ।’

फूल बेचेरै वर्षमा खर्च कटाएर तीन लाख रुपैयाँसम्म बचत गर्ने गरेको अधिकारीको भनाई छ । फूल खेतीका लागि श्रीमानको साथ छ लक्ष्मीले भन्नुभयो – ‘फूल खेती गर्दा श्रम पनि धेरै गर्नु नपर्ने भएपछि श्रीमान समेत दंग हुनुहुन्छ ।’ केही वर्ष अघिसम्म खेती गर्दा घाम पानी नभनी हैरानी व्यहोर्नु पथ्र्यो तर अहिले सहज भएको छ अधिकारीले भन्नुभयो – ‘फूल खेतीसंगै मेवा र तरकारी खेती पनि शुरु गरेकाले घर चलाउन सहज भएको छ । छर छिमेकलाई दिएर पनि मनग्य आम्दानी गरिरहेका छौं ।’

फूल खेतीकै लागि अहिले दुई विगाह जमिन लिजमा लिएको लक्ष्मीका श्रीमान दलवहादुरले बताउनुभयो । बिर्तामोड नगरपालिकाले समेत फूल खेतीका लागि टनेल निर्माणमा सहयोग गरेपछि अधिकारी दम्पत्तिले थप फूल खेती विस्तारका लागि योजना अघि सार्नु भएको छ । नगरपालिकाले फूल खेतीका लागि बेर्ना उत्पादन गर्न टनेल निर्माणका लागि ६० हजार रुपैयाँ अनुदान दिएपछि अधिकारी दम्पत्ति अहिले फूल खेतीका लागि थप उत्साहित हुनुभएको छ ।
झापामा सयपत्रीको व्यवसायिक फूल खेती गर्ने अधिकारी दम्पत्ति प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । फूल खेतीबाट थोरै ठाउँमा मनग्य आम्दानी हुन थालेपछि बिर्तामोड सहित अर्जुनधारा, भद्रपुर, मेचीनगर, गौरादहमा सयपत्री फूलको व्यवसायिक खेती हुने गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।
झापामा अहिले महिला उद्यमी संघले पनि बिर्तामोड – ४ मा डेढ विगाह जमिन लिजमा लिएर फूल खेती गर्दै आएको छ । गड्यौले मल समेत आफैं बनाएर महिला उद्यमीहरुले फूल खेती शुरु गरेको संघकी अध्यक्ष गोमा भट्टराईले बताउनुभयो ।
झापामा भारतबाट आयातित फूलको व्यपार फष्टाइरहेका बेला महिला उद्यमीहरुले झापामा फूलको व्यवसायिक खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । झापामा बार्षिक झण्डै तीन करोड रुपैयाँको फूल भित्रने गरेको बताइएको छ । केही वर्षदेखि झापामै फूलको व्यवसायिक खेती हुन शुरु गरेपछि भारतबाट आयातित फूलमा समेत कमी भएको महिला उद्यमी संघकी अध्यक्ष भट्टराईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here