मानव मन किन पाषण ?

२३ माघ २०७६, बिहीबार मा प्रकाशित

सम्पादकीय

पाँच दशकअघि अकारण मान्छे मारिनु वा मर्नु अनौठो घटना हुन्थ्यो । त्यही छेऊ झापामा निरपराध मानिसहरु मारिए । जनप्रतिनिधि भएका कारण, धनी टाठाबाठा भनिनेहरुले निर्मम ढङ्गले मारिनु प¥यो । त्यसयता मत्थर भएको हिंसा हत्याको आतंक सशस्त्र द्वन्द्वका क्रममा उत्कर्षमा पुग्यो । द्वन्द्वरतले भने बमोजिम दश वर्षको समयमा सत्र हजारभन्दा बढीको अकाल, असमय र अनाहकमा ज्यान गयो । राजनीतिक नाम दिइएको हिंसाको त्यो रुप र हिंसामा परेका परिवारका लागि आज पनि त्रासदीपूर्ण द्वन्द्व छ । द्वन्द्व गर्ने पक्ष सत्ताको सिंहाशनमा विराजमान छ, पीडितहरु न्याय खोज्न छातीभित्र असीमित पीडा बोकेर कहिले मानव अधिकार आयोग कहिले न्यायालय र कहिले संयुक्त राष्ट्र संघीय कार्यालय धाउँदै छन् ।

अचानोको पीडा खुकुरीलाई अनुभूत नै हुँदैन । त्यहीकारण युद्धको चपेटामा पारिएकाहरु हुन् वा युद्धरत वा द्वन्द्वरत पक्ष सत्ताको शयलभन्दा बाहिर रहेकाहरु उस्तै पीडामा छटपटाइरहेका छन्, कतै छातीमा गोली बोकेर, कोही आश्रय गुमाएर त कोही अपाङ्गतालाई बोकेर । अहिले बलात्कार, दुव्र्यवहार, व्यभिचार र दुराचार दूधभात सरहको मीठो र नियमित हुन थालेको छ । आफू जस्तै चेतना भएको अर्को मानिसको हत्या गर्नु सामान्य भएको छ । मानिसको मनमा पशुवत व्यवहार, राक्षसी प्रवृत्ति, अमानीयता र संवेदनहीनता बढेर गएको छ । त्यसकै उदाहरण हुन् कि यस्ता घटनाहरु दिनहुँ प्रकट भइरहनु ।

बिर्तामोड झापाको केन्द्र नै हो भने हुन्छ । हुन पनि यहाँ जति शिक्षा स्वास्थ्य, यातायात, सञ्चार लगायतका पूर्वाधार र सेवा जिल्लामा शायदै कतै होला ! त्यसउसले बिर्तामोडबासी समृद्ध छन्, स्रोत, साधन, सेवा, सुविधा र अवसरले पूर्ण छन् । त्यही समृद्ध बिर्तामोडमा प्रत्येक दिन कुनै न कुनै अप्रिय घटना भइरहन्छन् । ती घटनाले देखाउँछ कि सुविधासम्पन्नताभित्र अमानवीयता, मानसिक दरिद्रता र अपराध मनोवृत्ति लुकेको हुन्छ । त्यस्तै भयो मंगलबार बिर्तामोडको चारपाने चोक क्षेत्रमा । एक व्यक्तिलाई परालले छोपेर डढाएर हत्या गरेको अवस्थामा भेटियो । मृतकको सनाखत नै त भएको छैन तर ऊ मानिस हो । एउटै रचना, उस्तै चेतना र समान रुपले मानिस हो जो आफू जस्तै अर्को मानिसबाट निर्मम ढङ्गले मारिएको छ ।

विभत्स हत्याको यस्तो रुपले मानिस कति निर्दयी भइरहेको छ भन्ने देखाएको छ । संवेदनशील अङ्ग काटेर, घिसारेर, मारेर जलाउनु निर्ममताको पराकाष्टा हो । सम्पूर्ण प्राणीमाथि दया, माया, प्रेम र करुणा राख्नुपर्ने मानिसको हृदय कसरी पाषण बन्न सक्छ ? सहृदयता, संवेदना, मानवीयता जस्ता उच्च गुण र विशिष्टताको अपेक्षा अब नगरे हुन्छ त ? यस्ता प्रश्नहरु ठडिन थालेका छन् । यत्र–तत्र यीनको जवाफ पनि मानिसले नै दिनुपर्ने भएकाले प्रत्येकले आफ्नो मन र मुटुसँग सोध्नु पर्छ । पृथ्वीको सम्पूर्ण मानवलाई बन्धुत्वको भावनामा समेट्ने विशालता, सम्पूर्ण प्राणीमा समान जीवन देख्ने मानवता किन अस्तित्वहीन भएर लम्पसार परेको होला ? जवाफ त्यही मानिसको मनले दिनुपर्छ जहाँबाट यस्ता अपराधहरुको श्रृंखला चुलिँदैछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here