‘प्रेमगीत ३’ गीत पहिलो नम्बरमा, कस्तो छ दर्शक रेस्पोन्स ?

२३ माघ २०७६, बिहीबार मा प्रकाशित

काठमाडौं,

आजकल यूट्युब ट्रेन्डिङलाई गीतसंगीत, फिल्म वा भिडियोहरु चर्चित भएको मापन गर्ने सजिलो माध्यम बनेको छ । कुनै गीत, फिल्म वा भिडियो ट्रेन्डिङमा आएमा त्यसलाई समाजले चर्चित मान्ने गरेको छ । यसैकारण, पछिल्लो समय नेपालमा कुनै पनि भिडियो सामाग्री ट्रेन्डिङमा ल्याउन अस्वास्थ प्रतिस्पर्धा चलिरहेको छ । किनकि, यहाँ सबैलाई प्रायोजित प्रशंसामा रमाउनु छ ।

नेपाली फिल्मकर्मीमा अझ बढी ट्रेन्डिङको भोक छ । फिल्मको प्रचार सामाग्री यूट्युब ट्रेन्डिङमा ल्याउन हजारौं रुपैयाँ ‘बुस्ट’ मा खर्च गर्ने गरिन्छ । गीतसंगीत र ट्रेलर ट्रेन्डिङमा आए धेरै दर्शकमा फिल्मको जानकारी पुग्ने र त्यसको फाइदा बक्सअफिसमा हुने विश्वास फिल्ममेकरमा छ । तर, फिल्मका प्रचार सामाग्री ट्रेन्डिङमा उक्लिएर पनि फिल्मले हलमा घुँडा टेकेका उदाहरण धेरै छन् ।

गत वर्षको तुलानामा यो वर्ष फिल्म निर्माणमा कमी आएका कारण केही महिनायता साउथ फिल्म र विभिन्न भाइरल भिडियोहरुले नेपालको यूट्युब ट्रेन्डिङ कब्जा गरेका छन् । दुई हप्तासम्म साउथ फिल्म ‘डियर कमरेड’ ट्रेन्डिङको पहिलो स्थानबाट डेक सरेन । अब, नेपालको यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ आइपुगेको छ ।

सागर आले र मेलिना राईको स्वर रहेको गीतलाई यो समाचार तयार पार्दासम्म दश लाखभन्दा बढीले हेरिसकेका छन् । ५८ हजार लाइक्स मिलेको गीतलाई सात हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्टमा ९० प्रतिशत सकारात्मक प्रतिक्रिया भेट्न सकिन्छ । भने, १० प्रतिशत नकारात्मक छन् । दर्शकले गीतको अडियोभन्दा भिडियो बढी मन पराएका छन् । विशेषगरि कोरियोग्राफी ।

हर्क साउथको शब्द र कल्याण सिंहको संगीत रहेको गीतका कोरियोग्राफी कविराज गहतराज हुन् । कविराजले फिल्मका प्रमुख अभिनेता प्रदीप खड्का उर्फ ‘प्रेम’ र नव-अभिनेत्री क्रिस्टिना गुरुङ उर्फ ‘गीत’ लाई प्राचिन शैलीको नृत्यमा उतारेका छन् । यो गीत ‘प्रेम’ र ‘गीत’ को प्रेम अंकुराउनुभन्दा अगाडि फिल्ममा हेर्न पाइने निर्माताबाट निर्देशक बनेका सन्तोष सेनले बताए ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको फिल्मका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको एक्सन छ ।-फिल्मीखबर

https://www.youtube.com/watch?v=UaeScocRNsQ&feature=emb_title

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here