बिर्तामोडमा कोरोनाबारे सचेतना

२३ माघ २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

चीनको हुवेई प्रदेशको उहान सहरमा पहिलो पटक देखिएको चिनियाँ रहस्यमयी नोबेल कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि झापामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

सन् २०१९ को मध्य डिसेम्बरमा चीनको हुवेई प्रदेशको उहान सहरमा देखिएको उक्त भाइरसको सङ्क्रमण नेपाल, जापान, अमेरिकासहित अन्य २३ देशमा फैलिसकेपछि उक्त भाइरसको सङ्क्रमणबाट बच्न झापाका विभिन्न संघ संस्थाको सहभागितामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

बीरता लेडी जेसीज ,विर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा नेवाः मिसा दवूको सहआयोजनामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

बीरता लेडी जेसीज, विर्तामोड उद्योग वाणिज्य संघ , नेवाः मिसा दवू , लायन्स क्लव अफ बिर्तामोड लेडी , नेवाःपासा मुना पुचः , श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला समिति ,प्रारम्भिक समिति बिर्तामोड , सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोड , समुदाय प्रहरी साझेदारी कार्यक्रमका पदाधिकारीहरु, मेची टेक्निकल ट्रेनिङ एकाडेमीका विद्यार्थी लगायतको सहभागितामा सचेतनामुलक र्याली निकालिएको थियो ।

बिएण्डसी टिचिङ अस्पताल र विर्तासिटी हस्पिटलको प्राविधिक सहयोगमा विर्तामोडको मुक्तिचोक दुर्गामन्दिरबाट विभिन्न सचेतनामुलक पर्चा पम्प्लेट वोकेर निस्किएको र्यालीले विर्तामोड नगर परिक्रमा गरी पुनः दुर्गामन्दिरमा सभामा परिणत भएको थियो ।

बीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा बिएण्डसी टिचिङ अस्पताल विर्तामोडका फिजिसियन डा. लक्ष्मण ठाकुरले कोरोना भाइरसको संक्रमण भएपछि मानिसको मृत्यु हुने दर दुई प्रतिशत मात्र भएकाले त्यति आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै कोरोना भाइरसबारे सचेत रहन र रुघा तथा ज्वरो आए चिकित्सककहाँ गएर परामर्श लिन आग्रह गरे ।

त्यस्तै विर्तासिटी हस्पिटलका डा. विजय केसीले छिमेकी मुलुक चीनमा महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसबाट वच्न सचेतता अपनाउन आग्रह गरे । उनले कोरोना भाइरसको संक्रमणबाट वच्ने उपायहरुका बारेमा समेत सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा वजरङ्ग मेडिकलको सहयोगमा सहभागीहरुलाई मास्क वितरण गरिएको थियो । कार्यक्रममा विर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन लगायतले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

बीरता लेडी जेसीजकी कार्यक्रम संयोजक अनिता पुरीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन बीरता लेडी जेसीजकी महासचिव संगीता गिरीले गरेको कार्यक्रम संयोजक दिपा शिवाकोटीले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here