झेलेनीमा क्यानसर रोगी मनमाया चौहन बचाउन अभियान

२४ माघ २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

विगत केही महिनादेखि क्यानसर रोगका कारण थलिएकी झापा अर्जुनधारा–२ निवासी मनमाया खतिवडा चौहन(३८)को उपचार खर्चका लागि स्थानीय जुटेका छन् ।

परिवारको एक मात्रा सहारा श्रीमानले कान्छी श्रीमती लगि सम्पर्कविहिन भएपछि गाँउछिमेकमा बनीबुटो गर्दै दैनिकी गुजारीरहेकी उनलाई गत कात्तिकमा उपचारको लागि झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा पुगेपछि तेस्रो चरणको क्यानसर रोग भएको पत्ता लागेको थियो ।

१३ वर्षीया छोरी मीनाको जिम्मेवारी पनि उनकै काँधमा रहेको उनको श्रीमान् मनि चौहन विगत ११ वर्षदेखि सम्पर्कमा नआएको उनले बताइन् । भावुक मुद्रामा देखिएकी उनी भन्छिन्–‘सम्पत्तीको नाममा पहिले खोला कुदेको एक कठ्ठा जमिनमा फुसको छानो र टाटीले बेरेको ढल्न लागेको घर मात्र छ ।’

छोरी मीनासँगै पत्रकार भेटघाटमा सहभागी भएकी उनले क्यानसर अघिको आफ्नो रोगबारे पनि जानकारी दिइन् । गत सालको पुसमा बिर्तामोडस्थित काफ्ले आयुर्वेदीक मेडिकलमा स्वास्थ्य परीक्षण गर्न जाँदा उनले आफूलाई पाइल्स भएको थाहा पाइन् । पाइल्स भएको थाहा भएपछि सोही मेडिकलबाट सात महिनासम्म औषधी उपचार गर्दा पनि निको नभएपछि थप उपचारको लागि उनी भारतको पानीट्याङकी सम्म पुगेकी थिइन् ।

रोग निको हुने आसमा पानीट्याङकीसम्म पुगि उपचार गरेकी उनलाई त्यहाँ प्रयोग गरिएको सुईले रोग निको नभई असोजदेखि त मलद्वार बन्दै भै पिसाब घरबाट दिसा आउन सुरु भएको उनले बताइन् । त्यसपछि उपचारको लागि भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल गएपछि उनलाई क्यानसर भएको पत्ता लागेको हो ।

क्यानसर भएको थाहा पाएपछि चितवनस्थित भरतपुर क्यानसर हस्पिटलमा उपचारका लागि गएका उनको परिवारलाई १६ लाख उपचार खर्च जुटाएको खण्डमा उपचार सम्भव भई रोग निको हुने हस्पिटलका चिकित्सबाट आश्वासन पाएको मनमायाकी दाई नरबहादुर खतिवडाले जानकारी दिए । हाल हस्पिटलको निर्देशन अनुसार २६ हजार बराबरको औषधी खाइरहेको उनले माघ अन्तिमतिर हस्पिटल जानुपर्ने बताइन् ।

रोगबाट थलिएपछि आफू बसेको घर छोडी हाल झेलेनीस्थित माइतीघरमा बस्दै आएकी उनको उपचारको लागि १३ महिनाको क्रममा छ लाख १० हजार रुपैयाँ खर्च भएको परिवारलाई उद्धरीत गर्दै मनमाया चौहन बचाउन अभिायन समितिका सदस्य बालकृष्ण खनालले जानकारी दिए ।

यसैबिच मनमायाको जीवन बचाउन गत माघ १६ गते स्थानीयस्तरमा सहयोग रकम संकलन गर्न अमृता बस्नेतको संयोजकत्वमा १३ सदस्यीय महिला समूह र बाह्य तथा विभिन्न संघ–संस्थाहरुसँग समन्वय गर्न पूष्प खतिवडाको संयोजकत्वमा २५ सदस्यीय पुरुष समूह गठन भएको सदस्य खनालले बताए । महिला समूहमार्फत् हालसम्म १५ हजार सहयोग रकम संकलन भएको बताइएको छ ।

त्यसैगरि नेपाल सरकारले उपलब्ध गराउन स्वास्थ्य अनुदान र नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य सुविधाका लागि वडा समितिले प्रक्रिया अगाडि बढाएको अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालले बताए ।

श्रीमानले बेवास्ता गरेको अवस्थामा पनि एकल महिलाकोरुपमा आफ्नो सन्तानको लागि संघर्षरत् मनमायालाई सहयोग गर्न चाहने इच्छुक महानुभावले सम्पर्क नम्बर ९८४२७१८०३६ र ९८४२६७२७४९मा सम्पर्क गरि सहयोग गर्न समूह र परिवारका सदस्यहरुले सबैसँग आग्रह गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here