अर्जुनधारा ।

“खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित खाद्य प्रविद्यि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा शुक्रबार खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डेरी, पानी तथा तेल उद्योगीहरुलाई लक्षित गरि खाद्यमा स्वच्छता कसरी अभिवृद्धी गर्ने भन्ने विषयमा सचेतना जगाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको कार्यालयका प्रमुख भरतबहादुर पुरीले बताए ।
प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेको कार्यक्रममा कार्यालय प्रमुख पुरी र नगर पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रानाले मानव स्वास्थ्यको लागि आवश्यक सबै प्रकारको खाद्यमा स्वच्छताको लागि सरोकारवालाहरुको सहभागितामा बजार अनुगमनको कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनका लागि जोड दिएका छन् ।
खाद्य ऐन् २०२३को उद्धेश्य, खाद्य पदार्थ, न्यूनस्तरको खाद्य पदार्थ, दुषित खाद्य पदार्थ, खाद्य ऐन् २०२३को विभिन्न दफाहरु, लेवल विवरण, खाद्य पदार्थमा मिसावट गर्न नहुने, दण्ड सजाय सम्बन्धि व्यवस्थालगायतका विषयमा जानकारी गराइएको कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।
कार्यालय प्रमुख पुरीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कृषि विकास शाखाका प्रमुख दिपक गिरीले गरेका थिए ।































