बागलुङ,
जिल्ला प्रहरी कार्यालय बागलुङमा बाल निगरानी कक्ष स्थापना गरिएको छ । कक्षको बिहीबार जिल्ला अदालत बागलुङका मुख्य न्यायाधीश वासुदेव न्यौपानेले उद्घाटन गर्नुभएको थियो ।
आपराधिक र गैरकानूनी क्रियाकलापमा संलग्न भएका बालबालिकामाथि निगरानी र अनुसन्धानका लागि छुट्टै कक्ष बनाइएको जिप्रकाका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । “१८ वर्षमुनिका बालबालिकालाई अरु व्यक्तिसँगै हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले अलग्गै निगरानी कक्ष बनाइएको हो”, उहाँले भन्नुभयो ।
“बालबालिका विभिन्न घटनामा मुछिएर प्रहरीमा आइरहने, अभिभावकले पनि बच्चा सुध्रियोस् भनेर प्रहरीमै राख्न चाहेकाले बाल निगरानी कक्षको आवश्यकता खड्किइरहेको थियो”, प्रनाउ भट्टले भन्नुभयो ।
निगरानी कक्षमा बालमैत्री व्यवहारका साथै बाल मनोविज्ञानमा असर नपुग्ने गरी प्रहरीले अनुसन्धान गर्नेछ । गम्भीर अपराधबाहेकका घटनामा संलग्न बालबालिकालाई प्रहरीले अदालतबाट म्याद लिई २१ दिनसम्म निगरानी कक्षमा राखेर सुधारेपछि अभिभावकको जिम्मा लगाउनेछ ।































