डा. रत्नमणि नेपाल,
आजका हामीलाई हाम्रै समय हेर्नु र लेख्नु छ । साथमा हिजोको समीक्षा र भोलिको कल्पना गर्नु चेतनाको निर्देशन छ । कसरी कुन ठाउँबाट आयौं त्यो हेर भन्छ एकातिर चेतनाले । कस्तो र कहाँ हुने सोच बनाऊ भन्छ अर्कातिर। अहिलेलाई छोपी हाल्न हाम्रो शक्ति सीमाभित्र होला । भोलि सुखद् होस्, राम्रै होस् सोची हालिन्छ । यसरी हिजोलाई सजिलो छ निर्मम समीक्षा गर्न । त्यो त छ किताबहरूमा (किताबहरूमा नभएको इतिहास पनि छ)। किताब पढ्ने जाँगर भए हिजोको कुरा जो इतिहास मानिएको छ किताबभरिकोलाई त बुझिन्छ नै । किताब बाहिरको ? किताबहरूमा नभएको ? खोजी गर्नुपर्नेछ त्यसको ।
इतिहासको नवोद्घाटनका लागि लेखक कुमार भट्टराईले महाभारतको कथालाई छानेका छन् । तर, यो कथा त उनले टिपोटमात्र गरिदिएको । होइन उनले कथेको । अष्टचिरञ्जीवी मानिएका अश्वत्थामाको यथार्थ जीवन भोगाइ हो यो । कुमारको भाग्यले सुन्न र टिप्न पाए । लेखक भन्छन्– व्यासले भनेको (कि अश्वत्थामाले जस्तै भोगेको ?) कथा गणेशले टिप्दा जसरी द्वापर युगमा महाभारत बन्यो महाउपन्यास । त्यसैगरी अश्वत्थामाले भनेको कथा नै अश्वत्थामा उपन्यास बन्यो । त्यो सौभाग्य लेखकलाई अश्वत्थामाको मर्म र भावना बुझ्न सकेको कारणले र उनीसँग पटक–पटकको सामीप्यताको कारणले मिलेको हो ।
त्यसो त लेखक महाभारतका कथा उपकथाप्रति सानैदेखि जिज्ञासु थिए । दुर्योधनको चरित्र एक प्रकारको, तर चित्रण किन अर्को भयो ? उनको मनमा यो मूल प्रश्न थियो कति अघिदेखि । यसै प्रश्नको उत्तर अश्वत्थामाको जीवन भोगाइको कथामा उनले पाए । र, हतार–हतार टिपिहाले । यहाँ थप जिज्ञासा– पुराण कथाहरूका महादेव, विष्णु, कृष्ण, लक्ष्मी, दुर्गा यी देवता कि पात्र ? को हुन् त यी ? पुराण लेखकका पात्र र हामी पाठकका देवता नहोलान् ? व्यासकै देवता होलान् त कृष्ण ? कि हुन् गणेशका पात्र ? अश्वत्थामा व्यासका पनि पात्र आज कुमारका पनि पात्र मानेको गलत होला ? उपन्यासको ध्यान व्यासले नदेखेको (कि नलेखेको ?), तर अश्वत्थामाले देखेको यथार्थ लेख्नमा छ । तर, छैन कसरी देखे अश्वत्थामाले, अरूले कस्तो देख्न सक्थे देखाउनमा । अनि समकालीन समाज–राजनीतिक घटनाक्रमहरू परावर्तित बन्छन् पुराणकालमा मिथकीय बन्दै । त्यो बेला त्यस्तो हुनसक्थ्यो र ? जिज्ञासा उठ्छ । तर, ती आवर्तकालीन घटनाहरू ।

अश्वत्थामा व्यास कृत महाभारतलाई जित्नेहरूको इतिहास भन्छन् । जित्नेहरूको इतिहास जित्नेहरूले नै लेखाइएको । यता आफू वाचित अश्वत्थामा (कुमार भट्टराई कृत उत्तरआधुनिक महाभारत ! ) हार्नेहरूको इतिहास छ । हार्नेहरूको इतिहास हार्ने मध्येकै एकले भनेको । अझ हारेका होइनन्, हराइएका भनौं । आखिर इतिहास त इतिहास नै छ जसको लेखिए पनि । कुमारले पढेको महाभारत कथामा पाण्डवहरू थिए धर्मका पक्षपाती । कौरवहरू अधर्मी । युधिष्ठिर थिए धर्मात्मा, दुर्योधन अभिमानी । अर्जुन सर्वश्रेष्ठ धनुर्धर, कर्ण जात र कर्मले ठगेका । कृष्ण थिए साक्षात विष्णु अवतार, अधर्मीको नाश गर्ने, पृथ्वीको भार हरण गर्ने । तर, ती त व्यासले त्यस्ता बनाएका पात्र मात्र थिए । उपन्यास लेख्न कुमारले अश्वत्थामाबाट पाएका, अश्वत्थामाले देखेकै भोगेकै उनीहरू त निकै अलग थिए ।
अश्वत्थामाले भोगेका दुर्याेधन दुःख पाएकाहरूलाई कुनै जात गोत्र, धर्म हैसियत केही नसोधी मित्र बनाउने चरित्रका छन् (पृ.१००)। उनी सबैसँग मिल्न सक्ने, वीर, जनताका लागि आफ्ना सम्पूर्ण कुरा समर्पण गर्ने, आफूभन्दा ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने शालीन (पृ.२०७) र कसैको दुःख देख्न नसक्ने भावुक पनि भइहाल्ने (पृ.२२३), सोझो स्वभावका (पृ.२२५) सबैसँग मित्रता राख्न सक्ने, युवराज हुनुको पनि अभिमान नभएका (पृ.२५१) छन् ।
दुर्योधनमा कुनै खराब लत छैन । जुवा तास वेश्यावृत्ति लुटपाट ठगी छल ढाँट कपटमा विश्वास गर्दैैनन् । धर्मात्मा भनेर जगमा कहलिएका पुजिएका सत्यवादी युधिष्ठिरले समय कटाउन जुवा खेलौंको प्रस्ताव गर्दा दुर्योधनको प्रस्ट जवाफ छ– जुवाको पासा म कहिल्यै आफ्नो हातमा समाउँदिन (पृ.२३६)। व्यसनी त पाण्डवहरू पो थिए भन्ने देखाउँछन् कुमार उपन्यासमा । घोषित दुई–दुई व्यक्ति युवराज भएकोमा विवाद उठ्यो । छिनोफानो न्यायी हुनसक्ने क्षमता र योग्यताबाट मापन गर्ने भन्ने कुरा विदुरले उठाउँछन् । त्यस प्रसङ्गमा दुर्योधनको न्याय विचार समाजवादी छ आज पनि भोलि पनि काम लाग्ने। उनी भन्छन्– समान अपराधका लागि सबै जातिले समान सजाय पाउनुपर्छ । यता युधिष्ठिरको जातले चेतनाको स्तर बुझाउने भएकाले सजाय पनि फरक हुने (पृ.१७०) विचार सुन्नेबित्तिकै उनी गलत लाग्न थाल्छन् । यसरी प्रायः चरित्रको दोष गुण र गुण दोषमा रूपान्तरित भएको छ महाभारत र अश्वत्थामामा ।
महाभारत धर्मयुद्धको कथा थियो । धर्मयुद्ध गर्ने पाण्डवहरू थिए । कृष्ण थिए मूल नायक देवलोकबाट खटाइएर भू–लोकमा जन्म लिएका । महाभारतमा त्यसैले पाण्डवहरूले सधैं धर्मको पक्ष लिए, सत्यको पक्ष लिए । कृष्णले उनीहरूलाई सघाए । तर त्यसो होइन, त्यो गलत हो भन्छ अश्वत्थामा उपन्यास । खासमा धर्मी त दुर्योधन र उनको समूह थियो । धर्मयुद्ध गर्ने त दुर्योधन थिए । जसले कहीँ कतै छल गरेनन् । सत्य र धर्मको पक्ष लिए । महाभारतमा जो गीताको प्रसङ्ग आउँछ, त्यहाँ अर्जुनले कृष्णलाई आफ्नाहरूलाई मारेर युद्धमा कसका लागि राज्य गर्नु, राज्य केका लागि, के को लागि सुख भन्छन् (गीता १÷३१)। पाण्डवहरू धर्म र सत्यको पक्षमा रहेको त्यो प्रमाण छ त्यहाँ । अर्जुनले महाभारतमा भनेको अहिले यहाँ दुर्योधनले भन्छन् । उनी धेरै धार्मिक र उदार भएर भन्छन्– मैले युद्ध जितिहालें भने पनि यो गद्दी पाण्डवहरूलाई नै दिनेछु (पृ.३००)। आजको हामी बाँचेको युगमा होइन महाभारतको पुनरावृत्ति भएको । तर, आजका होइनन् धर्मयुद्ध गर्ने दुर्योधन । उतिबेलै, महाभारत युगमै, द्वापर युगमै पाण्डव छली कृष्णका प्याधा प्रतिनिधि, लेखककै शब्दमा कृष्णका योजनाका गोटी थिए । जसको धनुमा वाण राखेर कृष्ण चलाइरहन्थे । उपन्यास तर्क गर्छ– त्यही समयको महाभारत कथा लेख्दा नै गलतलाई सही देखाइयो, सहीलाई बुझाइयोे गलत ।
सही अहिले यो अश्वत्थामाको कथा ?
महाभारतको युद्ध अधर्मको अन्त्य, अधर्मीको नाश गर्ने हेतुले भएको थिएन । खासमा कौरवहरू जसले युद्ध हारे, अधर्मी नै थिएनन् । कारण केही थिए अरू नै । एक थिए कृष्ण स्वयम् । पितामह भीष्मले आफ्ना नपुङ्शक भतिजासँग फुपू (कुन्ती) को विवाह गरिदिएको बदला चुकाउन कृष्ण विष पालेर बसेका थिए (पृ.२१०)। चतुर कृष्णले कौरव पाण्डवको पारिवारिक कलहको फाइदा उठाएर आफ्नो अभिष्ट पूरा गर्न दाउ हेरेर बसेका थिए ।
पितामह भिष्म पनि थिए एक कारण । उनको प्रतिज्ञा र स्त्री हरणको परिणाम महाभारत युद्ध थियो । शकुनी, आफ्नी रुपवती दिदी गान्धारीको विवाह अन्धा धृतराष्ट्रसँग गराएको, दिदी जीवनभर आँखामा पट्टि बाँधेर बस्नुपर्ने नियतिमा फसेको बदला लिने दाउमा थिए । विदुरको स्वार्थी कूटनीति कम जिम्मेवार थिएन । उनका कुरा विदुर नीति मानिएका थिए महाभारतकालमा, अश्वत्थामा यता त्यसलाई विदुर कूनीति मान्नुपर्नेछ । द्वन्द्व गराउने, पक्षधरता लिने, अव्यावहारिक छ त्यो । कुन्ती, द्रौपदी, पाण्डु धेरै कौरव तथा पाण्डव पक्षधरहरूको आकांक्षा, व्यवहारको योग नै महाभारत युद्ध थियो । कौरवहरूको अन्यायी, स्वार्थी, अधर्मी, र घमण्डी चरित्र जिम्मेवार थिएन, प्रकाश पारेको छ अश्वत्थामाले ।
महाभारतको आशयमात्र होइन अश्वत्थामाले रूढ सामाजिक धारणाको पनि खण्डन गर्छ । कुन देश कुन कालका यी अवधारणा ? गुरु द्रोणको नवजात शिशुलाई एक मुठी गाईको दूध पनि पिलाउन नसक्ने बाध्यता आधार लिई अश्वत्थामामा तर्क गरिएको छ– ब्राम्हण दरिद्र, अर्काको भकारीको आश गर्ने जात हो । शुद्र आफ्नै मेहनतले पालिएको । त्यसैले कर्मको आधारमा ब्राम्हणभन्दा शुद्रमाथि हुन्छ (पृ.८३)। युद्ध गर्न क्षेत्रीमात्र भएर भएन, हेरौं दुर्वल पाण्डुलाई, अन्धा धृतराष्ट्रलाई । शुद्रका घरमा पालिएर पनि कर्ण सर्वश्रेष्ठ धनुर्धर हुने योग्यताका हुन सके । कथा वाचक द्रोण पुत्र अश्वत्थामालाई पटक–पटक ब्राम्हण हुनुको पीडा भयो गुरुकुलमा । राजकुमारहरूका बीचमा ।
उपन्यासले ठाउँ–ठाउँमा वर्तमानमा हामी बाँचेको युगको कथा भनेर आजको महाभारत हो कि अश्वत्थामा को भ्रम दिन खोज्छ । उदाहरण यहाँ छन् । वयस्क हुनै लागेको छोरा अश्वत्थामासँग बसेकी, पति द्रोणले ब्राम्हणीय विवशताबस साथ नपाएकी कृपीको छिमेकी हरी काकाले बलात्कार गर्ने प्रयासमा आजको समय प्रतिनिधि बन्छ । अर्को ठाउँमा (पृ.१५३) परशुराम भन्छन्– सारा भारतवर्ष फेरि युद्धको चपेटामा परेको छ । युद्धमा युद्धनायक कम तर सर्वसाधारण अत्याधिक मर्ने गरेका छन् । ….एउटालाई राजगद्दीमा पुर्याएर शासक बनाउन कैयौंले ज्यान गुमाउने गरेका छन्। …बौद्धिकहरू गौंडा–गौंडामा असुरक्षित र अपमानित भइरहेछन् । राज्य बलशालीहरूको मात्र हुने सिद्धान्त प्रतिपादित हुँदै गएको छ । आजको नवउदारवादी या लोकरिझ्याइँवादी राज्य यस्तै छन् । आजका लाग्ने यी घटना, यी कथा क्षणमै आजका होइन रहेछन् लाग्छ । संकेत, योजक या विधिले त्यस्तो बताउँदैन । कथा रेखीय भएकोबाट पनि समकालीनजस्ता लाग्ने घटना र कथन अघि भूतकालकै हुन् भन्ने पक्का हुन्छ । भ्रम खुल्छ । आवर्तकाल खुल्दैन ।
उपन्यासका सबै होइन, केही घटना नियतिका कार्य हुन् भनिएको छ । एकलव्यको औँठो काटिएको र कर्णले द्रोणको गुरुकुलमा पढ्न नपाएकोमा ती दुवै नियतिको कुनै दीर्घ योजनाका पात्र थिए र त्यो दुर्घटना भयो । अश्वत्थामाले कृष्णलाई वाण हानेर मरणासन्न पारेपछि किन यत्रो विध्वंस रचियो ? किन लाखौंलाई घरबार, आमाबाबु, पतिविहीन बनाउनुपरर््यो ? को उत्तरमा कृष्ण भन्छन्– युद्धको आवश्यकता थियो र त भयो। ’युद्धको रचयिताले मलाई यहाँ सूत्रधारको रूपमा मात्रै स्थापित गरेको रहेछ (पृ.३१३)। नियतिले यसको मुख्य पात्रको रूपमा मलाई नै किन चुनेको होला ? (पृ ३१४)।
यसरी कृष्ण स्वयम् नियतिका दास थिए । पृश्वीको भार हरण गर्ने विष्णु अवतार थिएनन् । हस्तिनापुरमा पारिवारिक झगडा बढ्दै गएर कौरव पाण्डवबीच युद्ध हुँदैछ भन्ने लाग्दा लाग्दै किन बस्नुपर्यो भन्ने अश्वत्थामाको प्रश्नमा आचार्य द्रोण भन्छन्– नियतिबाट भागेर हामी कहीँ जान सक्तैनौं बाबु । जति भागे पनि नियतिले डोर्रुयाएर फेरि यहीँ ल्याइपु्रयाउँछ (पृ.८१)। कृष्ण, आचार्य द्रोण, कर्ण, एकलव्य नियतिका पात्र थिए, र नै उनीहरूले महाभारत वर्णित भूमिका निभाउनु पर्यो– उपन्यास भन्छ । उसो भए पाण्डव, कौरव र उनीहरूका चरित्र थिएनन् नियतिका कार्य ? व्यास कथाकार र गणेश लेखक नियतिवादमा थिएनन् ? अश्वत्थामा र कुमार अनि अर्जुनधारा धाम नि ?
उहिले व्यासले महाभारत लेखाए गणेशबाट । कुमारबाट अहिले अश्वत्थामाले । यसरी दाजुभाइबाट लेखिँदैछ हामीले बाँच्ने युग–युगको महाभारत कथा । जीवन थियो र जीवनका महत्वाकांक्षा थिए हरेक युगमा, महाभारत पनि छ सँगसँगै । व्यास र अश्वत्थामालाई सुन्ने अनि लेख्ने गणेश र कुमारहरू पनि छन् । पुनरावृत्ति छापिएको छ जहीँ र अश्वत्थामामा पनि । पुनरावृत्ति नै पढिरहेका छौं रूप र आशय दुवैको अश्वत्थामामा पनि ।



























