बिर्तामोडमा खेलकुद महोत्सव

0
824

बिर्तामोड।

बिर्तामोड नगरपालिकामा पहिलो पटक खेलकुद महोत्सवको तयारी गरिएको छ । माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवलाई नगरपालिकाले प्रथम बिर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ २०७६ भएको जनाएको छ ।

बिर्तामोड नगरपालिका, बिर्तामोड नगर शिक्षा, विर्तामोड नगर खेलकुद प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी दिएको छ । मूल आयोजक समितिका संयोजक तथा खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाका अनुसार महोत्सवमा बिर्तामोडका ४० संस्थागत र ९ सामुदायिक विद्यालयको सहभागिता रहनेछ ।

महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटबल, एथ्लेटिक्स, कराते, तेक्वान्दो र कबड्डी गरी ११ विधा प्रतिस्पर्धा हुने बताइएको छ ।
१० लाख ७१ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा कूल एक सय ६७ स्वर्ण, एक सय ६७ रजत र एक सय ४७ कास्य पदकमा अलग–अलग स्पर्धा हुने खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिए ।

विभिन्न विधाका प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा एक हजार पाँच सय खेलाडीले ११ खेलमा भाग लिनेछन् । विजेता खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रचारप्रसार समितिका संयोजक केशव भण्डारीका अनुसार प्रतियागिता डोमालाल राजवंशी रंगशाला, कनकाई मावि, नवोदय स्कूल, टावर टेम्पल स्कूल, महेन्द्ररत्न माविमा सञ्चालन हुनेछ । प्रतियोगितामा एक सय २३ जना खेल प्रविधिक र अफिसियल रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै, संग्रौलाको संयोजकत्वमा केशव भण्डारी, दुर्गाराज निरौला, प्रेम सुब्बा, सुरेन्द्र खरेल, धर्मराज माझी, दिनेशप्रसाद आचार्य, कृष्णप्रसाद पाठक र गोमा कटवाल रहेको नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here