अर्जुनधारा : पर्यटनको सम्भावना र ‘भ्रमण वर्ष २०२०’

0
1356

अमित खम्बू,

सन् २०२० को शुरुवातसँगै मुख्य गरी पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई आर्थिकरुपमा अगाडि बढाउन २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित औपचारिकरुपमा शुभारम्भ भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ र हाम्रो नगरपालिकामा भएका पर्यटन क्षेत्र र त्यसको सम्भावनाबारे चर्चा गर्न चाहन्छु ।

यसअघि सन् १९९८ र २०११ पछि तेस्रोपटक नेपाल सरकारले आयोजना गरेको उक्त भ्रमण वर्षको उद्देश्य विश्व माझ नेपाल शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको र लगानीको दृष्टिकोणले उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नु रहेको नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ ।

सात प्रदेश मध्ये समुद्र सतहदेखि ५८ मिटरमा रहेको होचो भू–भाग केचनादेखि आठ हजार आठ सय४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित प्रदेश नं. १ को एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित जम्मा एक सय ३७ स्थानीय तहमध्ये एक अर्जुनधारा नगरपालिकाको चर्चा मुख्यगरी धार्मिक पर्यटनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिएको घाम झैं छर्लङ्ग रहेको छ ।

सदरमुकाम भद्रपुरदेखि २३ किलोमिटर उत्तरमा १०९.८६ वर्ग किलोमिटरमा रहेको अर्जुनधारा नगरपालिकाको नाम नै ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि जोडिएको महाभारतकालीन समयबाट रहन गएको छ । सो समयमा कौरव पक्षबाट षड्यन्त्र गरी पाण्डवहरुलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवासमा भएको थियो । सोही गुप्तवासको समयमा राजा विराटको हजारौं गाईहरुलाई कौरवहरुले हरण गरेर भारतको गुवाहाटीमा पु¥याएको अवस्थामा वृहन्नला (हिजडा)को रुपधारण गरेका अर्जुनले दार्जिलिङ, इलाम जिल्लाको लुकानी (हाल सुखानी) हुँदै ल्याउने क्रममा हाल अर्जुनधारा जलेश्वरधाम रहेको स्थानमा आइपुगेपछि गाईलाई तिर्खा लागेको बेला उनले भगवान शिवको पूजा गरी पर्जन्याशस्त्र वाण प्रयोग गरी पानी निकालेको हुँदा ‘अर्जुनधारा’ नाम रहन गएको किंवदन्ती रहेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ बाट नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामसँगै मुलुकको एकमात्र शंकराचार्यपीठ अर्जुनधारा–१ स्थित साधुटारमा, मुलुककै पहिलो डाङग्रे बाबा (भगवान विश्वकर्माको देब्रे अंग)को पुजास्थल अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी–साँइली पाथीभरा माता धाममा र भगवान ब्रह्माको मन्दिर अर्जुनधारा–९ स्थित सत्यधाममा रहेको छ ।

त्यसैगरी बर्देश्वर मन्दिर (अर्जुनधारा–३), सर्वेश्वर मन्दिर (अर्जुनधारा–३), त्रिपुरेश्वर मन्दिर (अर्जुनधारा–३), अर्जुनधारा–३ स्थित फाल्गुनन्द शान्ति वन वाटिका परिसरमा रहेको फाल्गुनन्द लिङ्देन मिङसो माङहिम, डुकू नोर्वु छोइलिङ गुम्बा, विन्ध्यावासिनी मन्दिर (अर्जुनधारा–४), सिंहवाहिनी भद्रकाली शक्तिपीठ (अर्जुनधारा–४), महाभारतकालीन समयसँग जोडिएको अर्को स्थान पाण्डवपुर (हाल पाण्डापुर), भीमसेन मन्दिर (अर्जुनधारा–६), दुर्गा कात्यानी मन्दिर(अर्जुनधारा–८), कालिकापीठ (अर्जुनधारा–९), कालीस्थान बौद्ध गुम्बा (अर्जुनधारा–९), कृष्ण प्रणामी मन्दिर (अर्जुनधारा–९), जलकन्यादेवी मन्दिर (अर्जुनधारा–१०) लगायत रहेको छ ।

उत्तरमा इलाम जिल्लाको माई नगरपालिका र रोङ गाउँपालिकासँग सिमाना रहेको अर्जुनधारा नगरपालिका धार्मिक पर्यटनको सम्भावनासँगै प्राकृतिकरुपमा पनि आकर्षक रहेको छ । चुरे क्षेत्रसँगै प्राकृतिकरुपमा रहेको रमणीय स्थलहरु, वनमा पाइने विभिन्न प्रजातिका रुख–बिरुवाहरु, जडिबुटीहरु, जनावरहरु र स्थानीय सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण र सम्बद्र्धन गर्दै शुरु गरेको पर्यापर्यटन विकासको कार्यक्रमहरुले प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने प्रचुर सम्भावना रहेको छ । अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको अनुमानित ३० हेक्टरमा निर्माण शुरु गरेको ‘हात्ती आहाल’ ।

त्यसैगरी सोही वडामा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनको ४.७ हेक्टरमा पर्यापर्यटन विकास कार्यक्रम अन्तर्गत हलुवागढ–कालीखोला सिमसार क्षेत्र र अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले कैदले पर्यापर्यटन क्षेत्र हाल निर्माण भइरहेको अवस्थामा छ । समूहको जम्मा क्षेत्रफल ७४८.९० हेक्टरमध्ये कैदले वनको खाली रहेको ७०.९० हेक्टर जमिनमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । २०४९ सालदेखि २०६९ सम्म भूटानी शरणार्थीहरुको बसोबास रहेको सो क्षेत्र शरणार्थीहरु तेस्रो मुलुक पुर्नवाससँगै उक्त शिविरमा बाँकी रहेका शरणार्थीहरुलाई झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेस्थित पथरी शिविरमा स्थानान्नतरण गरेपछि जमिन खाली भएको थियो ।

त्यसैगरी प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने क्रममा तत्कालीन पञ्चायती व्यवस्थाबाट २०२९ साल फागुन २१ गते इलाम र झापाको सीमाना सुखानीमा मारिएका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र गौतम, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मृतिमा शहादत स्थल सुखानीमा निर्माण भएको सुखानी शहीद स्मृति विकास पार्क र अर्जुनधारा–९ मा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले निर्माण गरेको सुखानी शहीद उद्यान पर्यटकहरु आगमनको अर्को बलियो आधार हुन सक्छ । सोही उद्यानसँगै प्रतिष्ठानले सञ्चालन गरेको कछुवा उद्धार तथा संरक्षण केन्द्र कछुवामा अध्ययन गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि उपयुक्त थलो हो । जसले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण यस नगरपालिकामा बढाउन सक्दछ ।

त्यस्तै नयाँ गन्तव्यकोरुपमा अर्जुनधारा–२, माई नगरपालिका–५ र सूर्योदय नगरपालिका–१४ को संगमस्थलमा रहेको सहकाले झरना पर्यटकहरुको लागि यस नगरपालिकामा आउने अर्को कारण हुन सक्छ । धार्मिक, प्राकृतिक र राजनीतिक घटनाक्रमसहित तीनवटा प्याकेजमा पर्याप्तरुपमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने अर्जुनधारा नगरपालिकामा स्थानीय सरकार, सरोकारवाला संघ–संस्थाहरु र नगरबासी सबै जुट्नु बाहेक अन्य विकल्प छैन ।

यातायात, सञ्चार, सुरक्षाको प्रत्याभूति सँगै पर्यटनको सम्भावना भएको उक्त क्षेत्रहरुमा आवश्यक पर्यटनका पूर्वाधारहरु निर्माण गर्न स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग साझेदारी गर्ने, सरोकारवाला संघ–संस्थाहरुले स्थानीय सरकारसँग साझेदारी गरी कार्यक्रमहरु सञ्चालन गर्ने र नगरबासी आ–आफ्नो क्षेत्रबाट जुट्ने हो भने सबै प्रकारको मौसममा पर्यटकहरुको चहलपहल बढ्ने हुँदा नेपाल सरकारले आयोजना गर्ने हरेक भ्रमण वर्ष सफल बनाउन सात सय ५३ स्थानीय तहमध्ये अर्जुनधारा अब्बल सावित हुने र ‘समृद्ध अर्जुनधारा र सुखी अर्जुनधाराबासी’को चाहना पूरा हुने निश्चत छ ।

(खम्बू पूर्वाञ्चल दैनिकका अर्जुनधारा संवाददाता हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here