अग्र्यानिक आलु उत्पादन

0
1103

बिर्तामोड।

बिर्तामोड–७का प्रदीप खनाल बिर्तामोड नगरपालिकाले गत वर्ष सञ्चालन गरेको मेयर विषादिमुक्त कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा सहभागी हुँदा विषादिका असरका विषयमा उनले धेरै कुरा सिक्ने अवसर पाए । तालिममा सिकाएका कुराबाट प्रभावित भएका खनालले सिकेको सिपलाई व्यवहारमा उतार्ने अठोट गरे । उनले लगत्तै हाम्रो कृषक समूहमार्फत व्यवसायिक र विषादिरहीत तरकारी खेती गर्ने निर्णय लिँँदै छिमेकीसंग सल्लाह गरे । सबैको राय र सुझाव एउटै हुन्छ भन्ने पाएपछि बिर्तामोड–७मा अहिले व्यवसायिक र अग्र्यानिक आलु खेती शुरु गरिएको छ ।

कृषि पेशाप्रति रुची राख्ने उनले समूहमा भएकामध्ये १२ जनालाई आवद्ध गराएर अहिले पाँच विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा आलु खेती गरेका छन् । जसमा बिर्तामोड नगरपालिकाले सहयोग गरेको छ । आलुको बीऊमा अनुदान र मल खरिदका लागि प्रतिविगाह १५ सय रुपैयाँ प्रदान गरेसँगै हाम्रो कृषक समूहले पाँच विगाह क्षेत्रफलमा व्यवसायिक आलु खेती शुरु गरेको समूहका अध्यक्ष समेत रहेका खनालले बताए ।

बिर्तामोड नगरपालिकाले २ लाख २५ हजार रुपैयाँ आलु खेतीका लागि सहयोग गरेपछि समूहमा आवद्ध हामीले व्यवसायिक र अग्र्यानिक खेती शुरु गरेका हौं– उनले भने । पाँच विगाह क्षेत्रफलमा ब्लक÷ब्लक बनाएर शुरु गरिएको आलु खेतीमा नगरकै सहयोगमा सिञ्चाईको समेत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । नगरले एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेपछि बिर्तामोड–७ र ९मा व्यवसायिक आलु खेती शुरु भएको हो । बिर्तामोड–९मा पनि अहिले बद्रीबाडी कृषक समूहले पाँच विगाह क्षेत्रफलमा व्यवसायिक आलू खेती गरिरहेको छ ।

बिर्तामोड–७मा गरिएको सामुहिक आलु खेतीमा ९३ मन आलु रोपिएको छ । नेपाल सरकारले सिफारिस गरेको कार्डिनल जातको बीऊ काभ्रेबाट ल्याएर रोपेको र केही क्षेत्रफलमा स्थानीय जातको बीऊ रोपिएको छ– समूहका अध्यक्ष खनालले भने– ९३ मन आलु रोपेका छौं, जसमा लाल गुलाफ एक विगाहमा र चार विगाहमा कार्डिनल जातको बीऊ रोपिएको हो ।

नवीनतम् प्रविधि अपनाएर रोपिएको आलु प्रतिकठ्ठा १५ मनसम्म फल्ने बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख कडरियाले बताए । हाम्रो कृषक समूहका कृषकले प्राङ्गरिक मलको अधिकतम् प्रयोग गर्दै नवीनतम् प्रविधि अपनाएर रोपेको आलू प्रतिविगाह तीन सय मन फल्ने अपेक्षा गरिएको छ ।

यो हिसाबले पाँच विगाह क्षेत्रफममा १५ सय मन आलू उत्पादन हुँदा अर्काे समूहको पनि १५ सय मन आलूले सिङ्गो बिर्तामोड नगरलाई अर्काे वर्ष बीऊ आलू पर्याप्त हुन्छ । थोरै लगानीमा सामुहिक खेती गर्दा पर्याप्त आम्दानी गर्न सकिने बताउँदै नगरले फरक–फरक गाउँलाई यो वर्ष परीक्षणका रुपमा फरक–फरक वालीमा अनुदान प्रदान गरिएको कडरियाले बताए ।

झापा आलुमा अझैं पनि आत्मनिर्भर नभइरहेका बेला बिर्तामोडका कृषकले व्यवसायिक आलु खेतीमा जोड दिएका छन् । झापामा कुप्रे ज्योति, कुपे्र सिन्धुली, टीपीएस, पीपीएस, जनकदेब तथा लोकल जातका आलू खेती हुने गरेको छ । जिल्लाको महारानी झोडा, लखनपुर, अर्जुनधारा, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा बढी आलु खेती हुने गरेको छ । जिल्लामा झण्डै १४ हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको सरकारी तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here