अर्जुनधाराका पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्न भ्रमण

0
671

अर्जुनधारा ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि नगरपालिकाको विभिन्न पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले अर्जुनधारा नगरपालिकाको आयोजनामा शनिबार विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

जनप्रतिनिधिहरु, कर्मचारीहरुसँगै विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागीतामा सय पर्यटकीय गन्तव्यमा सूचिकृत अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामदेखि सुरु भएको भ्रमण, अर्जुनधारा–२स्थित साठीमुरे, सहकाले र अर्जुनधारा–२सँगै माई नगरपालिका–५ र सूर्योदय नगरपालिका–१४मा रहेको सहकाले झरनामा पुगेर भ्रमण टुङ्गिएको थियो ।

धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले नगर प्रमुख हरिकुमार रानालाई भ्रमण सफलताको लागि शुभ साईतकोरुपमा गणपतिको झण्डा र नगरपालिकाको नामाकरण नै भगवान शिवको मुख्य वास रहेको अर्जुनधारा जलेश्वर धामबाट रहन गएकोले भगवान शिवको प्रतिककोरुपमा शिवको झण्डा दिई कार्यक्रमको समुद्घाटन गरेका थिए ।

धामदेखि अर्जुनधारा–२स्थित साठीमुरेसम्म बसमार्फत् यात्रा गरेका सहभागीहरुले साठीमुरेदेखि सहकाले हुँदै अर्जुनधारा–२, माई–५ र सूर्योदय–१४मा रहेको सहकाले झरनासम्मको अनुमानित १२ किलोमिटरको दुरी पदयात्रा मार्फत् सम्पन्न गरेका थिए ।

भ्रमणका सहभागीहरुका लागि साठीमुरे र सहकालेमा स्थानीयवासीहरुले नृत्यसँगै मौलिक खानाका परिकारहरुको व्यवस्थापन गरेका थिए । नेपाल भ्रमण वर्ष २०२०को सुरु भएको उद्घोषसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणका लागि सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रानाले बताए ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलगायतले मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here