सार्वजनिक स्थलमा बढ्दो प्रदुषण

0
968

पूर्णबहादुर कटुवाल,

सडक, मन्दिर, विद्यालय, पार्किङस्थल, धार्मिक एवम पर्यटकीयस्थल, नदी, पोखरी, जंगल, चौर लगायतका स्थान सार्वजनिक स्थल हुन् । यस्ता ठाउँहरु अहिले चरम प्रदुषण, अतिक्रमण, अनाधिकृत प्रयोगको चपेटामा पर्दे गएका छन् । यसले धुँवा, धुलो, होहल्ला, सामाजिक विकृतिजन्य प्रदुषण बढाइरहेको छ । यसको नकारात्मक र दीर्घकालीन असरबारे सम्बन्धित सरोकारवालाहरुले सोच्नसम्म पनि भ्याएका छैनन् । राज्यको ध्यान विकास निर्माणमा गएको छ, तर विनास संरक्षणमा गएको छैन । समृद्ध समाज निर्माणको राष्ट्रिय मूल अभियानमा राज्य अघि बढिरहँदा आमजनसरोकासँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने यस्ता विषय प्रति हामी गम्भीर छैनौं ।

अहिलो शहर–बजारका सडकदेखि गाउँघरका गल्लीसम्म र प्राकृतिक धरोहरु समेत प्रदुषण, अनाधिकृत प्रयोग र विकृतिको मारमा पर्नुलाई स्वभाविक मान्न सकिँदैन । साना विषय भएर वा विकास निर्माण र प्रतिष्ठासँंग जोडिएका विषय भएर नै होला यसतर्फ सम्बद्ध पक्षको ध्यान गएको देखिँदैन । फोहोरमैलाको व्यवस्थापन र भौतिक संरचनाको निर्माणमा यथोचित ध्यान जान नसक्दा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या बढ्दै जानेप्रति ध्यान जान जरुरी छ । सडक लगायतका सार्वजनिक स्थलका किनारा छेऊ फोहोरमैलाका डम्पीङसाइड बन्दै गएका छन । चोकबजार र मुख्य राजमार्ग किनारा जताततै फोहोरमैला थुपारिनुलाई सामान्य मान्ने परम्परा विकास भएको छ ।

बढ्दो व्यक्तिवादी र स्वार्थी प्रवृत्ति हावी भएकै कारणले निजी घरलाई मात्र हराभरा सफा राख्ने अनि सार्वजनिक स्थलका् सरसफाईप्रति गैरजिम्मेवार बन्ने प्रवृत्ति विकास हुनु पक्कै पनि राम्रो सोच र संस्कार होइन । स्थानीय सरकारले बजार क्षेत्रका फोहोरमैला संकलन गर्ने औपचारिकता देखाए पनि आम जनसमुदाय नै फोहोरमेला उत्सर्जन र व्यवस्थापनमा गैरजिम्मेवार देखिएको छ । यो के कारणले भइरहेको छ भन्ने विषय नै गम्भीर छ । शहरीया सम्भ्रान्त मानसिकतादेखि ग्रामीण क्षेत्रको कमजोर मानसिकता र सोच ठानिएको वर्गबीच नै देखिएको र देखाउन खोजिएको फरक यसको कारक त होइन, यो प्रश्न सर्वत्र उब्जिनु अस्वभाविक होइन । यी विकृत व्यवहारलाई व्यवस्थापन गर्न र गराउन कानूनी दायरासम्म पुग्न र पुर्याइन नसक्नु समेत अब जिम्मेवार पक्ष बन्न सक्छ । शहरमा सुविधासम्पन्न संरचना बने, व्यक्ति तिनीहरुको संरक्षणममा लाग्नु र सार्वजनिक क्षेत्रमा रहेका सोच बदलिन नसक्नु मानवीय कमजोरी हो । उता सडक राज्यले बनायो, उसको सम्बन्ध केवल सडकसित मात्र रह्यो, वातावरणसँग रहेन । व्यक्ति, व्यक्तिगत र राज्य राज्यको संरचनामा मात्र सिमित रहने हो भने विकृत बन्दै गएको वातावरण संरक्षणलाई चाहिँ बिना कार्यान्वयनका नीतिलाई मात्र छोडी दिने हो भने यो ठूलो मानवीय भूल मात्र हुनेछ । त्यसैले हाम्रा सडक, बजार, गाउँघर फोहोरमैला, प्रदुषण, धुँवा, धुलो अतिक्रमण, अनाधिकारीक प्रयोगको चपेटामा पर्दै जाने पक्का छ ।

यता ध्वनी प्रदुषण दीर्घकालीन मानवीय काल बन्दै गएको छ । विकास, प्रगति र विज्ञान र प्रविधिको उच्च प्रयोगको नाममा ध्वनी प्रदुषण त्यतिकै जटिल समस्या बन्दै गएको छ । हाम्रा सबै अभियान देखावटी मात्र भएका छन् । बजार गाउँघरका कुना–कन्दरासम्म सवारीसाधनको बढ्दो प्रयोगले ध्वनी प्रदुषणको उच्च जोखिम रहेको छ । यस्ता सवारीसाधनका कारण होहल्ला, धुलो, धँुवाले जनस्वास्थ्यमा अप्रत्यक्ष र नकारात्मक असर परिरहेको छ । ध्वनी प्रदुषण घट्ने होइन बढ्ने क्रममा छ । चौविसै घण्टा राष्ट्रिय राजमार्गदेखि गाउँघरका सडक र गल्लीमा गुड्ने ट्याक्टर लगायतका सवारीसाधनले वातावरणलाई विभिन्न दृष्टिकोणबाट प्रदुषित बनाइरहेका छन् । पुराना सवारीसाधन कहाँ, कहिले, कसरी कुन समयमा गुडाउने भन्ने विषयमा कुनै नियमन हुन सकेको छैन । यसबाट सिर्जित आवाज, धुँवा र धुलोले प्रदुषण र जनस्वास्थ्यमा घातक समस्या निम्त्याउन सक्ने अवस्थाप्रति हामी कोही पनि सचेत बन्न सकेको छैनौं ।

शहर बजार र सडकमा टाँगिएका विभिन्न सचेतनामूलक पुराना होडिङ्बोडले हाम्रा नियम र कानूनको खिल्ली उडाइरहेका छन् । सरकारी नीतिलाई गिज्याइरहेका छन् । राज्यको सचेतना बकम्मा देखिएको छ । गाउँघरका गल्लीमा बिहान ३ बजेदेखि रातको १२ बजेसम्म मिनेट मिनेटमा गुड्ने पुराना ट्याक्टरको आवाजले आम जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यसको नियन्त्रण र नियमनमा कुनै पक्षको गम्भीर चासो देखिँदैन ।

अर्कोतर्फ सार्वजनिक स्थलमा आयोजना गरिने कार्यक्रम, सभा समारोह, विवाह, पुराण आदिमा चर्को स्वरकामा प्रयोग गरिने माइक पनि त्यतिकै घातक बनेका छन् । यसको प्रयोग कति व्यवहारिक छ र यसले समाज र जनस्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने विषयमा समेत कोही बोल्न सकिरहेको छैन । व्यक्तिको घर होस् वा कुनै धार्मिक स्थल, आयोजना गरिने उत्सव, धार्मिक समारोह आदिमा प्रयोग गरिने माइक र त्यसले उत्सर्जन गर्ने ध्वनी मानसिक स्वास्थ्यका लागि हानिकारक छ । घातक छ । पुराणमा टाढा–टाढासम्म ध्वनी पुर्याउन जडान गरिने माइक र तिनले उत्सर्जन गर्ने ध्वनी मानव स्वास्थ्यको फाइदाजनक छैन । आयोजकले मनोरन्जन लिनु स्वभाविक हो, तर अर्को पक्षलाई त्यो ध्वनी आवश्यक छ कि छैन ? यो गम्भीर चासो र चर्चाको विषय हो । कसैलाई कुनै ध्वनीले असर गरिरहेको छ भने त्यो होहल्ला व्यवहारिक हुन सक्दैन । खासगरी व्यक्ति होस् वा सार्वजनिक स्थलका नामवाट ध्वनी उत्सर्जन गरिने त्यस्ता क्रियाकलाप तुरुन्त वन्द गरिनुपर्छ । किनकि कसैले सुन्न चाहेको कुरा अर्कोले सुन्न नचाहिरहेको हुनसक्छ । जबरजस्ती सुनाउन किन टाढासम्म माइक जडान गरिनु ? यो प्रश्न पनि त्यतिकै बहसको विषय बनेको छ । एउटा घर वा मन्दिरमा पुराण लाग्दैछ भने त्यही स्थानमा मात्र ध्वनीलाई किन सिमित नराख्ने ?

श्रद्धालु भक्तजन होस् वा कसैको आमन्त्रित व्यक्ति नै किन नहुनु ऊ त कार्यक्रम आयोजना स्थलमै उपस्थित भइहाल्छ नि । त्यसैले माइक जडान गरेर अरुलाई असर पुर्याउने काम मानवीय व्यवहार होइन । आफ्नो अधिकार प्रयोग गरिरहँदा अरुको अधिकारमा नकारात्मक प्रभाव पार्नु हुँदैन ।

मनोमानी ढंगले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यले सार्वजनिक स्थलको अनुचित प्रयोग गरिनु अर्को सामाजिक विकृति बनेको छ । यो सामाजिक प्रदुषण हो । व्यक्तिगत, घरायसी कार्य वा अन्य कुनै समारोह आयोजना गरिँदा कैयांै दिनसम्म सार्वजनिक सडक र सडकपेटीमा अवरोध पुर्याइनु सामान्य बनेको छ । विवाह उत्सव हुन् वा पुराण हुन् सडकमै टेन्ट टाँगरे अवरोध पुर्याइएका घटना यत्रतत्र देखिएका छन् । व्यक्तिगत प्रयोजनका लािग हप्तौंसम्म सडक अवरुद्ध गरिँदा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई हुने र आम सर्वसाधारणले सास्ती व्यहोरिरहँदासम्म कोही कुनै पक्ष चुइक्क बोलेका देखिँदैन । यस्तो हैरानी आम मानिसले भागिरहेको कथा सामान्य बनेको छ । अर्को ज्वलन्त दुष्टान्त भनेको व्यक्तिगत भौतिक संरचना निर्माणका लागि राष्ट्रिय राजमार्गदेखि गाउँघरका सडकमा ढुंगा, गिटी, बालुवा, माटो, बास, काठ लगायतका निर्माण सामग्री थुपार्ने र भण्डारण गर्ने कार्य हो । यो सबैका लागि समान्य बनेको छ । यसले ल्याउने नकारात्मक असर धुँवा, धुलो ट्राफिक जाम, दुर्घटना, अस्तव्यस्तता, वातावरणीय कुरुपता, फोहोरमैला आदिको सम्बन्धमा सरोकारवाला पक्ष मौन छ । यो हाँस्यास्पद र लज्जास्पद मात्र होइन सार्वजनिक विकृति पनि हो ।

वातावरणीय स्वच्छता विकासको पहिलो खुड्किलो हो । समाजका यी विकृति र विसंगतिको अन्त्य बिना विकासको गुञ्जायस सम्भव छैन । यसको लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ । सरकारको बुझाइमा रहेको विकास सडक बनाउनु मात्र होइन, भेला र गोष्ठी मात्र होइन । उसले त विकासका आधार पहिल्याउन सक्नुपर्छ । आधारहरु के–के हुन, कुन कुरालाई पहीलो प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ । समाजका स–साना समस्या निराकरण नगरी विकासको आधार तयार हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ । औपचारिकतामा मात्र होइन व्यवहारिकतामा विकासको सिद्धान्त अग्रगतिमा अघि बढ्छ भन्ने कुरालाई बुझ्न सकेमात्र समृद्धि सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here