एसएसपी प्रकरण : करणी भएको मितिमा राणा काठमाडौंमा थिए !

२६ माघ २०७६, आईतवार मा प्रकाशित

इटहरी ।

संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणामाथि थप अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक ८ दिनको म्याद थप भएको छ । राणा गत सातादेखि प्रहरी नियन्त्रणमा छन् ।

एसएसपी राणा आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । झापा निवासी एक महिलाले राणाले आफुलाई गत साउन २५ गते इटहरीस्थित पाथिभरा होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन ।

गृहमन्त्रालयको दबाब

निलम्बित एसएसपी राणाविरुद्ध जरवरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी महिलाले अहिले प्रहरी र सरकारी वकिलको कार्यालयले आफ्नो सहमति विपरीत मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गराउन हारगुहार गरिरहेकी छिन् ।

गृहमन्त्रालयमा समेत यसबारे जानकारी गराएकी ३५ वर्षकी ती महिलाले आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर उनले मुद्दा फिर्ता लिने बताइन् ।

महिलाले आफुलाई गृहमन्त्रालयको एक महिला कर्मचारीको दबाबमा मुद्धा दर्ता गर्न लगाएको बताएकी छिन् । ती महिलाले आफूसँग एसएसपी राणाको लेनदेनसम्बन्धी मात्र विवाद रहेको बताउन थालेकी छन् ।

प्रहरी स्रोतका अनुसार महिलाले किटानी जाहेरी दिएपछि उनलाई सुनसरी प्रहरीले मेडिकल जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानमा चेकअफ गरेर फर्कने क्रममा ती महिलालाई राणाले टेलिफोन गरेका थिए । टेलिफोनपछि उनले मुद्दा फिर्ता लिन खोजिरहेको प्रहरी स्रोत बताउँछ ।

महिलाले दाबी गरे अनुसार इटहरीको होटलमा भएको घटनामा कुनै सत्यता नरहेको बताइएको छ । घटना भएको मिति २०७६ साउन २५ गतेमा राणा काठमाडौं र महिला पनि झापामै रहेको अनुसन्धानले देखाएको छ । दुवैजनाको सिडिआर (कल डिटेल रेकर्डर) अनुसार दुबैजनाको कल लोकेशन काठमाडौं र झापा देखाएको बताइएको छ ।

राणा जिल्ला प्रहरी कार्यालय सुनसरीको एसपीको कार्यकाल सकेपछि महिलासँग उनको कुनै सम्पर्क थिएन । राणाले उनको फेसबुक र मोबाइल नम्बर ब्लकमा राखेका थिए । महिलालले राणालाई धेरै पटक भेट्न खोजेको समेत बताइएको छ । तर राणा महिलादेखि टाँडा भएकै कारण पनि यो आरोप झेल्नु परेको प्रहरी स्रोतको दाबी छ ।

ती महिलाले प्रहरीमा मुद्दा फिर्ताका लागि लिखित निवेदन दिन खोजेकी थिइन् । तर, प्रहरीले निवेदन नलिएपछि उनले हुलाकमार्फत चिट्ठी पठाएकी छन् ।-अपराध न्यूज डटकमबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here