भद्रपुर।

महाभारतकालीन किम्वदन्तीसँग जोडिएको किच्चकबध धार्मिक मेलामा यसबर्ष पनि श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ ।
झापाको भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किच्चकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलमा प्रत्येक वर्ष माघे शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन किच्चकबध धार्मिक मेला लाग्ने गरेको छ ।
किच्चकबध धार्मिक मेलाको आइतबार बिहान एक कार्यक्रमकाबीच संघीय सांसद राजेन्द्र लिङ्देन र प्रदेश सांसद बसन्त बानियाँले संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले परेवा तथा बेलुनमा किच्चकबध धार्मिकस्थल लेखिएको ब्यानर उडाएर मेलाको उद्घाटन गरेका थिए ।
किच्चकबध धार्मिक मेला उप समितिका अध्यक्ष खड्ग लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, किच्चकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे लगायतको उपस्थिति रहेको थियो ।
किच्चकवधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुक्ल पूर्णिमा दिन स्वतस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने गरेको धार्मिक विश्वास छ । भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक चलन रहेको छ ।
मेलामा गएका श्रद्धालु तथा भक्तजनहरूले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा पूजाअर्चना समेत गर्छन् । वर्षमा एकपटक लाग्ने यस मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दा घुइँचो लाग्ने गरेको किच्चकबध धार्मिक मेला उपसमितिका अध्यक्ष लिम्बूले बताए ।
महाभारतकालीन किम्वदन्ती अनुसार विराट राजाका सालो किच्चक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किच्चकलाई भीमसेनले मुड्क्याएर मारेको किम्वदन्ती छ । सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किच्चकबध नामकरण गरी किच्चकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल राखिएको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष मेला व्यवस्थित बनाइएको उपसमितिका कोषाध्यक्ष पुनम लिम्बूले जानकारी दिइन् । मेलामा विभिन्न किसिमका मनोरञ्जनका खेल सामग्रीसहित विभिन्न स्टलहरू राख्दा आकर्षण बढेको उनले बताइन् ।
यता मेलाको उपलक्ष्यमा यस वर्ष भद्रपुर नगरपालिका, कचनकवल, बाह्दशी र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए ।































