असल नेतृत्वले असल काम गर्छ

0
2471

तीर्थराज खरेल,

जनसमुदाय वा आफ्नो जनशक्तिको मनमस्तिष्कमा सकारात्मक हस्तक्षेप गरी उनीहरुलाई आफ्नो योजना अनुरुप निर्दिष्ट दिशातिर डो¥याउन सक्ने आफ्नो क्षेत्रको नेता हुन्छ । सबैबाट आएका असल विचारहरुलाई संश्लेषण गरी सबैको साझा विचार निर्माण गर्नसक्ने र सोही विचार अनुरुप सबैलाई डो¥याउनु नै नेतृत्वको गुण हो । नेतृत्व भनेको जनतालाई असल बाटोमा डो¥याउने कला हो । नेतृत्व भनेको हरेक ठाउँमा आफैं नेता हुनुपर्ने र अरु चाहिँ आफ्ना रैती हुन् जस्तो व्यवहार गर्दैन । कुनै संस्था वा संगठनको लक्ष्य प्राप्ति गर्ने सिलसिलामा आफ्ना अनुयायीहरुलाई प्रभावित गर्ने कला, सीप, क्षमता र दक्षता नै नेतृत्व हो ।

अनुभव, तालिम, स्वाध्ययन, शिक्षा आदिको कमी भएमा नेतृत्व असफल हुन्छ । अनुयायीलाई उत्प्रेरित गर्दै उनीहरुलाई पथप्रदर्शन गर्ने, मानव संसाधनको उचित व्यवस्थापन गर्ने योग्यता र क्षमता नेतृत्वमा हुन्छ । नेतृत्व र नेता भन्नाले आम रुपमा राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई बुझिन्छ । राजनीति राज्य सञ्चालनको प्रमुख नीति हो र सबै नीतिहरुलाई निर्देशित गर्ने सर्वश्रेष्ठ नीति हो । यो कुरालाई अस्वीकार गर्न सकिन्न । तर, नेतृत्व हरेक क्षेत्रमा हुन्छ । आम रुपमा नेतृत्वका गुणहरु उस्तै हुन् । विशिष्टीकृत रुपमा हरेक क्षेत्रमा नेतृत्वले अलग–अलग गुणहरुको विकास गर्न आवश्यक छ ।

नेतृत्व रातारात विकास हुँदैन । आजको नेपालको कुरा गर्ने हो भने पनि यो कुरा सही हो । जीवनको लामो समय खर्चेर अनेकौं आरोह–अवरोह छिचोल्दै आजको नेतृत्व जनताको बीचमा क्रियाशील छ । इमान्दारी, क्षमता, सुझबुझ, क्रियाशीलता र दूरदृष्टिसहितको नेतृत्वबाट मात्र कुनै पनि संस्था, पार्टी र मुलुकको भविष्य सुनिश्चित हुने हो । मानका लागि कुर्सीमा जान खोज्ने र कुर्सीमा जानका लागि जालझेल र षड्यन्त्र गर्ने अनि जनताको कामभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि संगठन, संस्था र राज्यसंयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति व्याप्त छ अहिले । ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भने झैं मुलुकमा कम्युनिष्टहरुको वर्चस्व रहेको छ । सात दशकदेखिको जनआन्दोलन, जनयुद्ध र जनसंघर्षको प्रतिफलको रुपमा नेपाली जनताको आशा र भरोसा बनेर अहिले केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरुमा धेरैजसो नेकपाको नेतृत्व छ ।

विपक्षीको कमजोरीको आडमा राजनीतिक सिँढी चढेर प्रसिद्धिको पठारमा सँधै टिकिरहन सम्भव छैन । मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी हो । सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कूल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहमा र जहिले पनि मानिसले कोही न कोही अरूको सहयोग खोजी नै रहेको हुन्छ । धेरै कुरामा अरूमा भरपर्दा मानिसले आफ्नो नेतृत्व गर्ने क्षमता पनि बिस्तारै गुमाउँदै गइरहेको हुन्छ । यस्ता मानिसहरूले आफ्नो असफलताका लागि प्रायः अरूलाई दोषी देखिरहेको हुन्छ । यी तिनै मानिस हुन् जो आफ्नो जीवनको जिम्मेवारी आफैंले लिन चाहँदैनन् । हाम्रो समाजमा पनि सानैदेखि यस्तै अभ्यास हुने भएकाले गर्दा मानिस वयष्क भइसक्दा पनि प्रायः धेरै कुरामा परनिर्भर हुन्छ ।

निर्णय गर्न सक्ने क्षमता कुशल नेतृत्व गर्नका लागि चाहिने महत्वपूर्ण गुण हो । नेतृत्व गर्ने व्यक्तिले सही निर्णय सही समयमा लिन सक्नुपर्छ । धेरै मानिस निर्णय गर्न नसक्नुको कारणले गर्दा जीवनमा धेरैपछि परिरहेका हुन्छन् । मानिस कुनै पनि महत्वपूर्ण निर्णय गर्दा धेरै जनासँग सल्लाह लिइरहेको हुन्छ । आवश्यक र अनावश्यक सल्लाह लिइरहँदा मानिस आफैं भ्रमित भई सही निर्णय लिन सक्दैन । त्यसैले सही निर्णय मानिसले आफ्नो अनुभवबाट सिकेर तथा सही व्यक्तिसँगबाट प्राप्त भएको सल्लाहलाई विचार गरेर मात्र लिनुपर्छ । निर्णय गर्ने क्षमताले नै नेतृत्वलाई गति दिन्छ । मानिसमा हुने डरको भावनालाई उचित व्यवस्थापन गर्न नसक्दा निर्णय गर्न सक्ने क्षमता तथा मानिसमा भएको रचनात्मकतामा ह्रास आउन सक्दछ । डरको भावनाले मानिसको जोखिम उठाउन सक्ने क्षमतालाई नष्ट गरिदिन्छ । नेतृत्व गर्ने मानिसले आफ्नो क्षमता हेरेर जोखिम उठाउनुपर्ने हुन्छ, तर धेरै मानिस कपोलकल्पित डरका कारण निर्णय गर्दैनन् ।

नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु पनि हो । सबै सोच र विचार भएका मानिसलाई मिलाएर एउटै नेतृत्वमा अगाडि बढाउन सक्नु नेतृत्वको सबैभन्दा ठूलो चुनौति हो । मानिसलाई उत्प्रेरित गर्न सक्नु, उचित सम्मान गर्नु, मानिसको क्षमताको कदर गर्नु तथा प्रोत्साहन दिनु र विभिन्न किसिमका सफलता तथा असफलताको भावनालाई व्यवस्थापन गर्नु भावनात्मक बुद्धिको प्रयोग गर्नु हो । सफल नेतृत्वकर्तासँग व्यावहारिक रूपमा मानिसलाई बुझ्न सक्ने क्षमता रहेको हुन्छ । मानिसलाई राम्रोसँग सुन्ने र उसलाई बुझ्नका लागि सुन्ने, मानिसको फरक–फरक मानसिक अवस्थामा फरक तरिकाले सकारात्मक व्यवहार गर्ने, मानिसलाई अघि बढ्न उत्प्रेरणा दिने तथा मद्दत गर्ने बानी नेतृत्वमा हुन जरुरी छ ।

देशको सकारात्मक परिवर्तन र विकासको नयाँ मार्गचित्र जनताले नेतृत्वको क्रियाशीलताबाटै प्राप्त गर्ने हो । देश विकासको प्रेरणा पनि जनताले नेतृत्वबाटै ग्रहण गर्ने हो । नेतृत्व त रोलमोडल वा नमूना हुनुपर्छ । नेतृत्वमा रहने व्यक्तित्वहरुले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बुझेमा मात्र साँचो अर्थमा संगठन, संस्था, पार्टी र मुलुकको नेतृत्व सम्भव हुन्छ । व्यक्तिगत स्वार्थ र हीनताबोधबाट माथि उठेर चिन्तन गर्ने हो भने मात्र आफ्नो क्षेत्रको सच्चा सारथी हुन सकिन्छ । मानिस त्यहीं पुग्छ जति उसको सोचको परिधि छ । एउटा सफल नेतृत्वको सोच जहिले पनि ठूलो हुन्छ । ठूलो सोचले मानिसलाई ठूलो काम गर्न उत्प्रेरित गर्छ । नेता सानोतिनो नकारात्मकतामा अल्झिएर आफ्नो समय खेर फाल्दैन । नेता अरुको प्रगतिमा जल्दैन । नेता आफू जस्तै साथीहरुको क्षमतामा पनि विश्वास गर्छ ।

बरु ठूलो लक्ष्य राखी त्यसलाई प्राप्त गर्न मेहनत गरिरहन्छ । धेरै मानिसले उसको ठूलो लक्ष्यमा आफ्नो अविश्वास देखाइरहन्छन् । तर, सफल नेताले जहिले पनि चरम नकारात्मकता हुँदाहुँदै आफ्नो लक्ष्यमा विश्वास राख्छ र संघर्ष गरिरहन्छ । यो नै त्यो गुण हो जसले एउटा साधारण मानिसलाई असाधारण नेता बनाउँछ । सानो सोचले जीवनमा ठूलो सफलता प्राप्त गर्न प्रायः असम्भव हुन्छ । चीनका महान नेता माओत्सेतुङ भन्छन्– ‘नेतृत्वको मूल्यांकन चुनौतिपूर्ण घडीमा मात्र होइन, अति नै सहज र सुखका दिनमा पनि गर्नुपर्छ । जीवनमा एक–दुई वटा असल काम गर्न सकिन्छ, तर जीवन भर असल काम गर्न गा¥हो हुन्छ ।’

सफल नेता पथप्रदर्शक मात्रै नभएर, त्यो बाटोमा आफू पनि हिँडेको हुन्छ । नेताले खाली अरूलाई यो गर्नुपर्छ, त्यो गर्नैपर्छ मात्र भन्दैन, बरु आफैं ले कतिपय कुरा गरेर उदाहरण बन्छ । महात्मा गान्धीले आफ्नै जीवनमा उदाहरण बनेर देखाए । नेतृत्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेको आफैंले गरेर उदाहरण बन्नु पनि हो । कुनै कुरा जान्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई प्रयोगमा ल्याउन सक्नु मानिसको लागि ठूलो चुनौति हो । सफल नेता आफूले लिनमा मात्र होइन, जहिले पनि दिनमा विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुशी हुन्छ र सहयोग गर्छ । असल नेतृत्वको विकास भएर मात्र मुलुकको साँचो अर्थमा विकास हुने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here