तेस्रो कचनकवल गोल्डकप शुरु, उद्घाटन खेलमा इलाम विजयी

२७ माघ २०७६, सोमबार मा प्रकाशित

भद्रपुर ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आजदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।

उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटर फाइनलमा प्रवेश गरेको छ । जलथललाई एकको विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २६ औ मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ३६ औ मिनेटमा राईले थप एक गोल गरे । जलथलका सरोज कार्कीले खेलको ५१ औ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच इलामका किस्मत राई घोषित भए । उनलाई नगद दुई हजारसहित प्रदेश सांसद वसन्त बानियाँले पुरस्कृत गरेका थिए ।

बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद बानिया, ओमप्रकाश सरावगी, गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य क्वलका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले राखेको कार्यक्रमको सञ्चालन क्वलका सचिव शिव गुरुङले गरेका थिए । फागुन ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी आठ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चार लाख २५ हजार, कचनकवल गाउँपालिकाले तीन लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट सङ्कलन गरिनेछ । भ्रमण बर्षलाई सफल बनाउन गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here