आत्मनिर्भरता बढाऔं

0
428

सम्पादकीय

बढ्दो जनसंख्या र परम्परागत कृषि प्रणालीका कारण खाद्य वस्तुको अभाव सृजना हुँदैछ । वातावरणीय क्षेत्रका अनुसन्धाता एवम् विज्ञहरुले खाद्य सङ्कट भनेको पनि भएका जनसंख्याले पेटभर खान नपाउने अवस्था हो । अर्थात् सबैले बुझ्ने भाषामा यो भातको सङ्कट हो । तर, खाद्य सङ्कटले भात, भातसँग खाने अन्य वस्तु र फलफूल लगायतको अनिकाल भन्ने अर्थ दिन्छ । आज विश्व यही संकटबाट गुज्रिदैँछ । कतिपय मुलुक त भोकमरीको चपेटा मै छन् भने हाम्रा उच्च हिमाली क्षेत्रका बासिन्दा भात खानका लागि चाडपर्व कुरेर बस्ने गरेको यथार्थ नलुकेको सत्य हो ।

एकातिर भातको सङ्कट अनि अर्कोतिर कृषि पेशाबाट पलायनको अवस्थाले हाम्रो भोलि सुरक्षित छैन । नेपाली युवाको पेशा र देशबाट पलायन हुने प्रतिस्पर्धाले रहे–बचेको कृषि प्रणाली आफैं विस्थापनको संघारमा छ भन्दा पनि हुन्छ । जसका कारण कृषि वस्तुमाथिको परनिर्भरता बढ्दैछ र माटोबाट उत्पादन हुने सबै प्रकारका कृषिवस्तुका लागि अरुको मुख ताक्न बाध्य हुनुपर्ने कारणले हाम्रो आर्थिक तथा स्वास्थ्य अवस्था प्रतिकूलतातर्फ उन्मुख छ । यस्तो अवस्थालाई रोक्न सरकारका तर्फबाट परामर्श, सहयोग र कृषि कर्मको प्रवद्र्धनका लागि आवश्यक सेवा प्रदान गर्नै पर्छ । नत्र सम्पूर्ण प्राणीको बाँच्ने आधार विसर्जनको विन्दुमा पुग्ने निश्चित छ ।

यही संकटका समय कतै केन्द्र सरकारले कृषि उत्पादनमा जोड दिँदै ‘सुपरजोन’ नामकरण गर्दै अनुदान, सहयोग तथा परामर्श र प्रविधि हस्तान्तरण गर्दैछ । तर, त्यसको वैज्ञानिक र भरपर्दो वातावरण दिन नसक्दा घट्दो क्रममा रहेको जमिनको उत्पादकत्व बढाउन थप उपचार गर्नैपर्छ । झापा बिर्तामोड नगरपालिकामा केही स्थानीय कृषकहरुले समूह बनाउँदै व्यावसायिक खेती गर्न थालेका छन् । उनीहरुको सामुहिकता र ऊर्जालाई बल पु¥याउन नगरपालिकाले अनुदान, प्रविधि, परामर्श र प्रवद्र्धनमा सहयोग गरेपछि थोरै भए पनि परनिर्भरता कम गर्ने अपेक्षा गरिएको छ । धान, तोरी, उखु, तरकारी र मकै लगायतका खाद्यवस्तु उत्पादनका लागि सुपरजोन घोषणा गरेर हौसिएका किसान उत्पादित वस्तुले लागत मुल्य मात्रै पनि नबोकेर निराश भएका उदाहरण पनि छन् ।

बिर्तामोड नगरपालिकाभित्रका केही किसानहरुले खण्डित जग्गालाई एकीकृत गर्दै समूह बनाएर आधुनिक प्रणालीबाट खेती गर्न थालेको सुखद् समाचार आएको छ । ‘एकतामा बल हुन्छ’ यो सत्यलाई स्वीकार्नु पर्दछ । यसैका आधारमा यहाँका किसानले विषादि र रसायनरहीत कृषि प्रणालीको प्रयोग गरेका छन् । स्वास्थ्यमा पर्दै गरेको असरलाई रोक्न, अग्र्यानिक प्रणालीलाई जोगाइ राख्न, उत्पादित वस्तुको बजारीकरण गर्न समेत नगरपालिकाले यथेष्ट सहयोग गर्नुपर्नेछ । तोरी, आलु, राज्मा, फापर, सूर्यमुखी र फूलखेती व्यावसायिक रुपले गरिरहेका किसानको मनोबल उठाउन नगरपालिकाले सिँचाइदेखि बजारसम्मको सेवा निर्झर प्रदान गर्नुपर्दछ । उत्पादित वस्तुले लागत मूल्य मात्र होइन व्यावसायमुखी बनिने आधार पनि तयार गर्नुपर्दछ । यसो भयो भने युवाहरुको विदेश पलायनको मोहलाई कम गर्न सकिन्छ, अनि मात्र उत्पादन बढ्नेछ । यसले परनिर्भरता घटाउने र देशको समृद्धि सम्भव हुनेछ । तर, यो केवल प्रदर्शनी र सस्तो लोकप्रियताका लागि हुनुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here