गौरादह।
असोज १२ गते दिनको करिब २ बजे । उपभोक्ता समितिको रकम निकासाका लागि धनवीर राजवंशी गौरादह नगरपालिका पुग्छन् । हुन त उनी सोही उपभोक्ता समितिको रकम निकासाका लागि यसअघि कैयौंपटक नगरपालिका पुगेका थिए । गौरादह–८ भुडिसिमल बस्ने वर्ष ५८का राजवंशीले त्यो दिन नगरपालिका पुगेको अन्तिम दिन हो भनेर सोचेका थिएनन् । रकम निकासाका लागि उनले लगेको फाइलमा कागजात नै नपुगेको भनेर कमर्चारीले भनेपछि उनी नगरपालिकाको मूलगेटमै बेहोस भएर ढले । केही घण्टा पश्चात् उनको मृत्यु भयो ।
गौरादह–८को बैराती बजारमा टहरा निर्माणका लागि गठित समितिमा धनवीर अध्यक्ष थिए । नगरपालिकाको तीन लाख रुपैयाँको लागतमा बजारमा टहरा निर्माण भइसकेपछि वार्डको सिफारिससहित अन्य कागजातको फाइल लिएर तीन लाख रूपैयाँ निकासाका लागि उनी नगरपालिका पुगेका थिए । पीडितको पक्षमा उनका नातेदार र स्थानीयहरूले विरोध प्रदर्शनका क्रममा कार्यालयको झ्यालको सीसा, साइन बोर्ड तोडफोड गरेका थिए भने सोही दिन राति ९ बजे नगरपालिकाले तीन लाख रूपैयाँ दिने भनी एकतर्फी निर्णय गर्दा नमानेर उनका नातेदार र स्थानीयहरू रातभर मृतक धनवीरको शवलाई नगरपालिकाको गेट अगाडि नै राखेर प्रदर्शनमा उत्रिएका थिए ।
उनको मृत्यु पश्चात गौरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहत स्वरूप पाँच लाख रूपैयाँ र इञ्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानीयबीच भएको तनाव साम्य भएको थियो ।
नगरपालिकाको सर्वपक्षीय बैठकले निर्णय गरेको करिब साढे चार महिना बितिसक्दा पनि स्व. धनवीर राजवंशीको पीडित परिवारले नगरपालिकाले कबुल गरेको राहत रकम पाएका छैनन् । यो अवधिमा कैयौंपटक कार्यपालिका बैठक पनि बसिसकेको छ । तर, आफैंले गरेको निर्णय कार्यान्वयन गर्न सकेको छैन भने इञ्जिनियर सचिन क्षेत्री भने कार्यालयमा हाजिर गरिरहेका छन् ।
नगरपालिकाले बिकासको नाममा टहरा निर्माणको लागि उपभोक्ता समितिको अध्यक्ष बनाएर काम सकेर रकम नदिएर आफ्नो श्रीमान्लाई मर्न बाध्य बनाएको उनकी श्रीमती पार्वती राजवंशीले बताइन् । उनले भनिन्– ‘नगरपालिकाले दिने राहत आज–भोलि भन्दै मलाई टार्दै गएको छ । न्याय मिल्ने कुनै छाँटकाँट छैन ।’ नगरपालिकाले घोषणा गरेको क्षतिपूर्ति बापतको रकम पटक–पटक माग गर्दा समेत नपाएको भन्दै बुहारी शुभसरी राजवंशीले दुखेसो पोखिन् । उनले काजकिरिया खर्च वापत नगरपालिकाबाट ५० हजार मात्र पाएको बताइन् ।
नगर कार्यपालिकाको बैठकले घटनाको छानविन गरी पीडितलाई राहत दिन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । कार्यपालिकाको बैठकले सीताराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा अनिलकृष्ण प्रसाईं, ढण्डीराज घिमिरे, बद्री कार्की र यादव अधिकारी छन् । कार्यपालिकाले १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न भनेको थियो । समय अपुग भएपछि पुनः सात दिन थप गरी माघ मसान्तसम्म समितिको समयसीमा तोकिएको छ ।
नगरपालिका आफंैले गरेको निर्णयलाई लत्याउँदै पीडितलाई राहत स्वरूप क्षतिपूर्ति दिनुपर्नेमा नगरपालिकाले छानविन समिति गठन गरेर थप अनुसन्धान गर्नुले क्षतिपूर्ति दिने समयलाई लम्ब्याउनु र तत्कालीन समयको आन्दोलनलाई मत्थर पार्न मात्र क्षतिपूर्ति वापतको रकम दिने घोषणा गरेको कतिपयको ठम्याइ छ ।
नगर कार्यपालिकाको बैठकको निर्णयले पारित गरे बमोजिम गठन भएको छानविन समितिले प्रतिवेदन बुझाएपछि त्यसको आधारमा कार्यालयको फुटेका झ्याल र भवन बनाउनुका साथै स्व. धनवीर राजवंशीको परिवारलाई क्षतिपूर्ति दिने गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह बताउँछन् । छानविन समितिले घटनाको बिषयमा सूक्ष्म अध्ययन गरिरहेको समितिका संयोजक सीताराम भट्टराई बताउँछन् । भट्टराईका अनुसार समितिले अहिलेसम्म पीडित परिवारको घरआँगनमा पुगेर घटनाको बारेमा छलफल गरेको, जनप्रतिनिधिसँग राय सल्लाह सुझाव लिएर प्रतिवेदन तयार पार्ने क्रममा रहेकाले चाँडै नगरपालिकालाई प्रतिवेदन बुझाउने बताए ।































