मिक्लाजुङ,
राँके–रवि–भेडेटार सडकखण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ । उक्त सडकखण्डका इञ्जिनीयर शकरबहादुर खनालका अनुसार निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीय कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्राटे प्रालिले भएको कामको पुनःनिर्माण गर्ने सहमति जनाएको अवस्था छ ।
उहाँले भन्नुभयो, “अनुगमनका क्रममा हामीले हेर्दा बाहिर बाहिर सिमेन्ट लगाएको, भित्रभित्रमा ड्राइ गरेको हुनाले तत्कालै हामीले मजदूरको अगाडि नै भत्काइदियौँ ।” निरीक्षण गर्दा तीन लेयरसम्म ६० मिटर जति उचाइ थियो । ड्राइ ढुङ्गामात्रै भेटिएको हुनाले भत्काएर अब आइन्दा त्यस्तो काम नगर्न उक्त कम्पनीका प्रतिनिधि तथा कम्पनीले दिएका नेपालीपेटी ठेकेदारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।
“राष्ट्रियस्तरको आयोजना भएको हुँदा गुणस्तरीयता कायम गर्न हामी लागेका छाँै”, उहाँले भन्नुभयो, “अब हामी ती निर्माण व्यवसायी र मजदूरलाई बोलाएर ओरन्टेशन राखेर कामको गुणस्तरीयता दिन लागि परेका छौँ ।” यस्तै घुर्विसे–पञ्चमीदेखि राँकेसम्म गरिएको अनुगमनका क्रममा भेटिनुभएका फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले भन्नुभयो, “काम गुणस्तरीय होस् भनेर हामीले अनुगमन गरिरहेका छौँ, हाम्रो गाउँपालिकाभित्र यस्तो गुणस्तरहीन काम गर्न दिँदैनाँै ।”
उक्त सडकको जिम्मा लिएको नेपाली पेटी ठेकेदारमध्येका दिपेश बोहोराले भारतीय कम्पनी र कन्सल्टेन्सीको समन्वय अभावका कारण यस्तो समस्या सिर्जना भएको र काम गर्ने क्रममा गल्ती भएकाले सुधारेर अघि बढ्ने बताउनुभयो । उक्त सडकको काम पनि द्रुत गतिमा अघि नबढेपछि एक महिना अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत स्थलगत अनुगमन गरी गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
गतवर्ष पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सडक कालोपत्रको शिलान्यास गर्नुभएको थियो । भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा रु तीन अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो ।































