स्वयम्मा चेतना जागोस्

१ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

सम्पादकीय

पढेलेखेका र सचेत भन्नेहरुबाटै सवारी सञ्चालनको नियम उल्लंघन भइरहेको सरोकारवाला निकायले जनाएको छ । सवारी र सडक व्यवस्थापनको जिम्मेवारी बोकेको ट्राफिक प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले बढ्दो दुर्घटनाको मूल कारण मध्ये ट्राफिक नियम उल्लंघन प्रमुख रहेको बताएका छन् । प्रहरी उपरीक्षक दाहालले चालू आर्थिक वर्ष ०७६–०७७ को पुस महिनासम्ममा प्रदेश नम्बर १ मा सात सय बत्तीस वटा सवारी दुर्घटना भएको उल्लेख गरे । उक्त दुर्घटनामा एक सय अस्सी जनाले ज्यान गुमाउनु परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटना चाहेर हुने र नचाहेर नहुने अवस्था होइन । आकस्मिक र अप्रत्याशित हुने घटना नै दुर्घटना हो । अझ सवारी दुर्घटनामा धेरै जना प्रभावित हुने भएकाले अत्यन्त सावधानी र ट्राफिक नियमको पूर्ण पालना अमूल्य जीवन रक्षाको सर्वोत्तम उपाय हो । नियम उल्लंघनको प्रवृत्तिलाई निरुत्साहित गर्न नसक्ने हो भने दुर्घटना न्यूनीकरणका सबै प्रयास निष्फल हुनेछन् । खासगरी किशोर र युवावर्ग ट्राफिक नियमको उल्लंघन गर्ने पहिलो वर्गमा पर्छन्, जसका कारण आर्थिक, शारीरिक, मानसिक सँगै जीवनकै क्षतिसम्मको परिणाम भोग्न बाध्य हुनु पर्दछ ।

ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्वयम्सेवी संस्थाहरुसँगको सहकार्यमा अभियान सञ्चालन गरिरहेको छ । सचेतना शिक्षादेखि पर्चा–पम्प्लेटिङ, छड्के र नियमित जाँच गरेर दुर्घटना न्यूनीकरणका लागि क्रियाशील ट्राफिक प्रहरीले आवश्यक जनशक्तिको अभावमा समेत प्रयत्न गरिरहेको छ । अनि पनि किशोर–किशोरी, युवा–युवती हेल्मेट नलगाई, लगाए पनि क्लिप नलगाई, तीव्रगति र सडक अनुशासन उल्लंघन गर्ने समूहमा पर्छन् । कतै टाउकाको रक्षक हेल्मेटलाई सौन्दर्यको शत्रु ठानेर, कतै पैसा र शक्तिको सामथ्र्य देखाएर ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिले आफ्नै जीवन जोखिममा पारिँदैछ ।

सवारी दुर्घटनामा ठूलो हिस्सा दुई पाङ्ग्रेले ओगटेको छ । यसैमा परेर १ नम्बर प्रदेशमा चालू आर्थिक वर्षमा मात्रै तीन सय अड्चालीस वटा घटनामा तीन सय बाह्र जना घाइते भए । त्यही दुर्घटनामा ठूलो सङ्ख्यामा चालक र सवारको मृत्यु हुन पुग्यो । तीब्रगति वा मानवीय त्रुटि जे भए पनि क्षति हुने भनेको सवारी चालक र सवार नै हुन् । तसर्थ अकाल मृत्युको यो भयावहताबाट जोगिन आफैं सचेत हुनुपर्छ । सरकारले पनि दुई पाङ्ग्रेको निर्वाध आयातका बारेमा सोच्नै पर्छ । त्यसैगरी चालक अनुमति पत्र पनि आवश्यकता र प्रयोजनका आधारमा बीस वर्ष उमेर पुगेपछि मात्रै दिने कानून बनाउनु पर्दछ । अन्यथा ‘काग गराउँदै गर्छ–पिना सुक्दै गर्छ’ को नियतिबाट कोही मुक्त हुन सक्दैनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here