नयाँ संहितापछि पर्वत अदालतमा मुद्दाको चाप अत्यधिक

0
665

पर्वत,

गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । गत वर्षबाट लगत सरेर आएका मुद्दाहरुको चापका कारण चालू वर्षका नयाँ मुद्दाको सङ्ख्या अत्यधिक बढेको अदालतले जनाएको छ ।

अदालतले चालू वर्षका छ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म भएका मुद्दाहरुको स्थिति, फछ्र्यौट र जरिवानाको बारेमा पत्रकारलाई बुधबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

अदालतका तहसिलदार नन्दप्रसाद आचार्यका अनुसार चालू वर्षको छ महिनाको अवधिमा ४०६ विभिन्न प्रकृतिका मुद्दा आएका थिए । तीमध्ये २१३ मुद्दा फछ्र्यौट भई १९३ मुद्दा फैसला गर्न बाँकी रहेका छन् । अदालतमा दुनियाँवादी देवानी मुद्दा २६८ रहेकामा १२८ फछ्र्यौट भई १४० बाँकी रहेका छन् । दुनियाँवादी फौजदारीका ७७ मुद्दा आएकामा ४० फछ्र्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् । सरकारवादी ५९ मुद्दा रहेकामा ४३ फछ्र्यौट भई १६ बाँकी रहेका छन् ।

अदालतमा पुनरावेदनसम्बन्धी एक र निषेधज्ञासम्बन्धी एक मुद्दा रहेकामा दुवै फछ्र्यौट भएका छन् । अदालतका अनुसार चालू वर्ष सम्बन्धविच्छेदका १३० मुद्दा दर्ता भए । तीमध्ये पुरुषले दिएको सम्बन्धविच्छेदका मुद्दा ६४ थिए भने महिलाले दिएका ६६ थिए । चौहत्तर मुद्दा फछ्र्यौट भएका छन् भने फछ्र्यौट गर्न बाँकी ५६ रहेका छन् । अदालतका न्यायाधीश सूर्यबहादुर थापाले अदालतमा अरु मुद्दाका तुलनामा धेरै रहेको बताउनुभयो ।

सम्बन्धविच्छेदका मुद्दाहरु मेलमिलापमा टुङ्ग्याउन प्रयास गर्दै आएको थापाले बताउनुभयो । न्यायाधीश थापाका अनुसार चालू वर्ष १३ जोडीको मेलमिलाप भएको छ । जिल्ला अदालतका स्रेस्तेदार जीवनकुमार पौडेलले चालू वर्ष ७८४ वर्ष पाँच महिना १२ दिन कैदको दायित्व रहेकामा ३० वर्ष सात महिना पाँच दिन फछ्र्यौट भई ७५३ वर्ष १० महिना सात दिन बाँकी रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here