प्रजातन्त्र तथा निर्वाचन दिवस मनाइने

२ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

भद्रपुर,

झापामा ७० औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी गरिएको छ । बिहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन ६ गते भद्रपुर नगरपालिकाभित्रका माविस्तरीय विद्यालयबीच ‘लोकतन्त्र र निर्वाचन’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको छ । सोको संयोजन निर्वाचन कार्यालय र जिल्ला शिक्षा समन्वय एकाइ समितिले गर्ने छन् । सोही दिन बिहान मेची अञ्चल अस्पतालमा विराट सामुदायिक अध्ययन केन्द्रको अगुवाइमा सरसफाइ र सोही दिन बेलुका ६ बजे जिसस अगाडि ट्रेड यूनियन चोकमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ ।

समितिका संयोजक पोर्तेलले फागुन ७ गते बिहान चन्द्रगढीको लेखनाथ चोकबाट प्रभावतफेरी निकाली जिससको सभाहलमा पुगी राष्ट्रियता झल्कने सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ७ गते बेलुका भद्रपुर जेसीजको आयोजनामा झापा चोकमा दीपावली गर्ने र फागुन ८ गते बिहान मेची अञ्चल अस्पतालमा भद्रपुर उद्योग वाणिज्य सङ्घको संयोजनमा बिरामीलाई फलफूल वितरण गरिनेछ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राजनीतिक दल र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी रानामगरले सबै स्थानीय तहमा केन्द्रीय र सङ्घीय सरकारले पठाएको निर्देशनअनुसार प्रजातन्त्र र निर्वाचन दिवस मनाउन परिपत्र गरिने जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here