रोकिएन पशुपतिनगर नाकाबाट तस्करी, झापा आउँदै गरेको पिकअपसहित ५० लाखको लत्ताकपडा बरामद

२ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

झापा ।

इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठुलो परिणामको लत्ताकपडा भित्रिरहेको खुलासा भएको छ ।

केही दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाखको लत्ताकपडा बरामद गरेको घटना सेलाउन नपाउँदै झापा प्रहरीले बिहीबार करिब ५० लाख मूल्य बराबरको लत्ताकपडासहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेची राजमार्गस्थित मेचीनगर १२ धाइजनबाट इलाम पशुपतिनगरबाट झापा तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको पिकअप भ्यानसहित सो मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । प्रहरी कार्यालय झापाले शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै बरामद गरिएको लत्ताकपडाको बारेमा जानकारी गराएको हो ।

बरामद गरिएको सामानमा नेट, सुती तथा फेन्सी साडी, कुर्ता सुरुवाल, सर्ट तथा थान कपडा गरी १६ प्रकारको लत्ताकपडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पिकअप चालक विकास राजवंशीसँग लत्ताकपडाको बिल भेटिएको छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘बिलमा शिव स्टोर भद्रपुरले सो सामान काठमाडौँ श्रेष्ठ एन्ड सप्लायर्सलाई बेचेको भन्ने उल्लेख छ ।’ ‘बिलसहित सामानको अनुसन्धान गर्दा भद्रपुरबाट काठमाडौँ बिक्री गरेको खुलाएको छ, तर सामान इलामबाट झापा आएको फेला परेकोले सो सामान भन्सार छलेर नै भित्राएको हो,’ उनले भने ।’

बिलमा सामानको मूल्य १४ लाख २८ हजार उल्लेख गरिएको र भिसिटिएस सिस्टमबाट सामान पठाउनु पर्नेमा त्यो पनि नभेटिएको उनको भनाई छ । बरामद गरिएको सामानको पोकामा भूपाल इटहरी लेखिएको छ । बरामद गरिएको सामानको मूल्य बजार मुल्याकन अनुसार ५० लाख ३१ हजार एक सय र भ्यानको १० लाख गरी ६० लाख ३१ हजार एक सय मूल्य कायम गरी चालक राजवंशीलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

माघ २४ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा खटिएका टोलीले ५ बजे ५० मिनेटमा इलामको सूर्योदय नगरपालिका ४ स्थित सुवास गुरुङको खाली घरमा छापा मारेर १७ पोका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेर भन्सार बुझाइसकेको छ ।

सूर्योदय नगरपालिकाको छब्बिसे नाका भन्सार छलेर भित्राएको करिब १४ लाख ८९ हजार मूल्य बराबरको सामान बरामद गरेको थियो । सो सामान झापा पठाउने तयारी अवस्थामा रहेको प्रहरीले छापा मारेर बरामद गरेको थियो ।

पछिल्लो समयमा पशुपतिनगरबाट ठुलो परिणामको लत्ताकपडा भन्सार छलेर भित्राउने र समय अनुकूल मिलाएर झापा हुँदै मोरङ र सुनसरीका बजारमा सम्म पुर्‍याउने तस्कर तथा कारोबारी सक्रिय बन्न थालेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here