प्रथम शहीद थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग


२ फाल्गुन २०७६, शुक्रबार १३:०३ मा प्रकासित

अर्जुनधारा ।

Advertisement

जहाँनिया राणा शासनको अन्त्य गर्न आन्दोलन गर्ने क्रममा मारिएका प्रथम शहीद क्या. लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति झापाको आयोजना र मगर संघ अर्जुनधारा नगर समितिको संयोजनमा प्रथम शहीद थापाको १४३औं स्मृति दिवसको सन्दर्भमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो माग गरेका हुन् ।

उनलाई राष्ट्रिय विभूति घोषणासँगै फागुन २ गते सार्वजनिक विदा दिन संघद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले मगर संघको माग पूरा गर्न प्रदेश र संघीय सरकार सकारात्मक हुनुपर्ने बताए । उनी भन्छन्–“जहाँनिय राणा शासन विरुद्ध आन्दोलन गर्ने क्रममा मारिएका प्रथम शहीद थापाको लागि संघले आव्हान् गरेको मागप्रति नगरपालिकाको ऐक्यबद्धता छ ।”

त्यसैगरी संघ झापाका उपाध्यक्ष दलबहादुर मगरले १९०३ देखि सुरु भएको जहाँनिया राणा शासनको अन्त्य गर्न विद्रोह गरेका प्रथम शहीद लखन थापा मगरलाई मगर जातीले मात्र नभई सबै समुदायले मान्नुपर्ने जिकिर गर्छन् ।

संघका अध्यक्ष जगत राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव बबिता मगरले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संघका सचिव बबिता मगर र सल्लाहकार सुष्मा राना मगरले गरेका थिए ।

२०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको सरकारले प्रथम शहीद घोषणा गरेको लखन थापालाई १९३३ फागुन २ गते राणा शासकहरुले गोरखाको बुङ्कोटमा फाँसी दिएका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्