बाँसुरी बोक्नेलाई अस्पतालमा प्रवेश निषेध

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

भूवन तामाङ,

‘ए बा ! यो बाँसुरी बाहिरै राख्नुस् ।’ अस्पतालको गार्डले यसो भनेपछि लौरो टेक्दै अस्पतालको ढोकामा आइपुगेका बृद्ध बिरामी मानिस सोध्छन्– ‘किन र ?’ जवाफमा गार्ड भन्छन्– ‘बाँसुरी बोकेर आउने जो कोहीलाई अस्पतालभित्र पस्न नदिनु भनेर अस्पतालका डाइरेक्टर साबले भन्नु भाको छ क्या ।’ बृद्ध भन्छन्– ‘अनि यो कहाँ बाँसुरी हो र ? यो त बुढाबुढीले टेक्ने लौरो पो हो त भाई !’ गार्ड भन्छन्– ‘ए हो त रछ त तर, यही लोरो पनि बाँसुरी जस्तै गरेर बज्यो भने नि त ?’

बृद्ध तीनछक्क पर्दै गार्डलाई शीरदेखि पाउसम्म हेर्छन् । गार्ड भन्छन्– ‘ए बा ! के हेर्नु भो मेरो शीरदेखि पाउसम्म ?’ बृद्ध भन्छन्– ‘होइन यो अस्पतालमा लौरो टेक्नेले पस्न किन नपाउनु हो भाइ ? हामी बुढाबुढी भैसकेका मान्छेले के लौरो पनि टेक्न नपाउनु ? के खालको अस्पताल रछ यो त !’ गार्ड भन्छन्– ‘ए बा ! म सँग धेरै जिद्दी नगर्नुहोस् र फर्केर जानुहोस् ।’ बृद्ध भन्छन्– ‘लु यो लौरो तिमी नै राखिदेउ, म लौरो बिनै डाक्टरकोमा जँचाउन अस्पतालभित्र जान्छु । छोड मलाई बाटो ।’ गार्ड भन्छन्– ‘हुँदैन हुँदैन बा ! यो लौरो म राख्न सक्दिनँ । म लौरो रुङ्ने तपाईको नोकर हुँ र ?’ बृद्ध भन्छन्– ‘ए बाबा ठाकुरे हो, होइन यो अस्पताललाई के भाको ? लौरो देख्नै नहुने ?’ बृद्ध रिसाउँदै ढोकानेर थचक्क बस्छन् ।

गार्ड कड्केर भन्छन्– ‘ए बा ! तपाईको लौरो त लौरो होइन रहेछ त । बाँसुरी नै हो रछ । बाँसुरीको धुन निस्कँदै छ यसबाट ।’ बृद्ध आश्चर्य चकित पर्छन् । उनी असिनपसिन हुँदै भन्छन्– ‘लौरो कहिल्यै बाँसुरी हुन सक्छ र ?’ गार्ड भन्छन्– ‘अनि के बाट बजेको हो त बाँसुरीको धुन ?’ हैरान हुँदै बृद्ध भन्छन्– ‘ए गार्ड भाइ ! कहाँ यो मेरो लौरो बाँसुरी बज्या हो र । उ त्यो बहिनीको मोबाइलको रिङ्ग टोनमा पो बाँसुरीको धुन बजेको हो क्या सुनेनौ । लु अब चाहिँ मलाई अस्पतालभित्र छिर्न देऊ ।’ गार्ड भन्छन्– ‘हुँदैन हुँदैन । पहिला तपाईको लौरो उ त्यो परको पसलमा राख्न लगाएर आउनुहोस् अनि अस्पतालभित्र पस्नुस् ।’ बृद्ध पुर्पुरोमा हात राख्दै पसलतिर लाग्छन् लौरो राखिमाग्न ।

रिङ्ग टोनमा बाँसुरीको धुन बज्ने मोबाइल बोक्ने बिरामी बहिनी अस्पतालभित्र प्रवेश गर्न खोज्छिन् । उनलाई पनि रोक्दै गार्ड भन्छन्, ‘बहिनी तपाई अस्पतालभित्र पस्न पाउनु हुन्न ?’ ति बहिनी भन्छिन्– ‘किन र ?’ गार्ड भन्छन्– ‘तपाईको मोबाइलको रिङ्ग टोनमा बाँसुरीको धुन बज्छ त्यसैले ।’ बहिनी छक्क पर्दै भन्छिन्– ‘ए बा बा हो ! मोबाइलको रिङ्ग टोनमा बाँसुरी बज्नेले अस्पतालमा पस्न किन नपाउनु ?’ गार्ड भन्छन्– ‘अस्पतालका डाइरेक्टर साबले मोबाइलको रिङ्ग टोनमा बाँसुरी बज्नेलाई पनि रोक्नु भन्नु भा छ क्या ।’

ती बहिनी आपूmसँग ल्याएको बोतलको पानी स्वाट्टै पारेर गार्डसँग गलफत्ती गर्न थाल्छिन् । यत्तिकैमा अघिका लौरोवाला बिरामी बृद्ध पनि पसलमा लौरो थन्क्याएर आइपुग्छन् । अब त झन् गलफत्तीले वादविवादको रुप दिन्छ । हो हल्ला हुन्छ । मानिसहरु अस्पतालको ढोकामा जम्मा हुन्छन् ।
यतिकैमा अस्पतालको ढोकामा एक सचेत बिरामी सेवाग्राही आईपुग्छन् र वादविवाद सुनेपछि उनी सबैलाई स्पष्ट पार्दै भन्छन्– ‘ल सुन्नुहोस्, म भन्दिन्छु यो अस्पताल बाँसुरीको धुनसँग तर्सिनुको कारण ।’ वादविवाद गरिरहेकाहरु चुप लाग्छन् । ति सचेत बिरामी सेवाग्राही भन्छन्– ‘यो अस्पताल मात्र होइन अरु अस्पताल पनि बाँसुरीको धुनसँग तर्सन थालेका छन् ।’ अस्पतालको ढोकाको भिड सोध्छ– ‘किन ?’ ति सचेत बिरामी भन्छन्, ‘किनकि, बाँसुरीको धुन सुनेपछि आईसियूमा रहेका बिरामी समेत चाँडै निको हुन्छन् ।

बिरामी चाँडै निको भएपछि बिरामीहरुलाई चाँडै डिस्चार्ज गर्नुपर्छ । परिणामस्वरुप अस्तालको आम्दानी अथवा लुट धन्दामा ब्रेक लाग्छ । त्यै भएर बाँसुरीको धुन निक्लने मोबाइल बोक्नेलाई होस् या बाँसुरी या बाँसुरी जस्तो देखिने लौरो टेकेर आउने बिरामीलाई पनि यो अस्पतालमा प्रवेष निषेध गरेका हुन क्या ।’ उनको तर्क सुनेपछि ढोकामा थुप्रिएका मानिसहरु एकै स्वरमा भन्छन्– ‘ए हो र !’

ती सचेत बिरामी थप्छन्– ‘अस्ति भर्खरै एक अस्पतालको आईसियू कक्षमा मृत्युको मुखमा पुगेका बिरामी बाँसुरीको धुन सुनेपछि तुरुन्तै निको भएका थिए । बिरामीबाट थुप्रो पैसा धुत्ने त्यो अस्पतालको योजना असफल भयो । त्यै खबर सुनेर होला यो अस्पताल पनि बाँसरीको धुनसँग मात्र होइन कि बृद्ध बृद्धाहरुले टेक्ने लौरोले समेत बाँसुरीको धुन निकाल्ला कि भनेर तर्सन थालेछ ।’

यति सुनिसकेपछि अस्पतालको ढोकामा थुप्रिएका मानिसहरु गलल हाँस्छन् र आआप्mनै तर्क वितर्क गर्दै तितरबितर हुन्छन् । यता लौरो टेक्ने बृद्ध र बाँसुरीको धुन बज्ने मोबाइल फोन बोक्ने बहिनी पनि गार्डले गरेको अबरोध पार गर्दै अस्पतालभित्र छिर्दछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here