छात्रावासको आवश्यकता

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

सिम्रिका सुवेदी

संसारमा थुप्रै विद्यालयहरू छन् । अधिकांश विद्यालयहरूमा विषयगत शिक्षक, शैक्षिक सामग्री, खानेपानी, खेलमैदान, शौचालय जस्ता भौतिक पूर्वाधारको विशेष ख्याल गरिएको हुन्छ । तर, छात्रावास सम्बन्धमा त्यति ख्याल गरिएको पाइँदैन । हिमाली तथा पहाडी भेगका दुर्गम स्थानहरूमा मात्र नभई शहर–बजार तथा विद्यार्थीको सहज पहुँच भएका ग्रामीण विद्यालयमा समेत छात्रावास आवश्यक हुन्छ ।

विद्यालय समयभन्दा बाहिर पठनपाठनको उद्देश्यले बनाइएको घरलाई छात्रावास भनिन्छ । यहाँ शिक्षकहरूको निर्देशन अनुसार पठनपाठन हुन्छ । विद्यालय समयको जस्तो विषयगत कक्षा भने हुँदैन । विशेषगरी विद्यालयबाट टाढा घर भएका तथा कमजोर वा विभिन्न कारणले पढाइमा पछि परेका विद्यार्थीहरूका लागि छात्रावास उपयुक्त हुनसक्छ । सही व्यवस्थापन र सेवामुखी भावनाले सञ्चालन गर्ने हो भने छात्रावास विद्यार्थीहरूका लागि अति उपयोगी छ । विद्यार्थीहरूले असल विचार तथा अनुशासित व्यवहार सिक्ने थलो छात्रावास नै हुन सक्छ । त्यसैगरी समयको पावन्दीलाई ख्याल गर्दै समयमा काम गर्ने बानीको विकास छात्रावासले गराउँछ । छात्रावासमा सबै काम समयका आधारमा गराइन्छ । यसबाट विद्यार्थीहरूमा पढ्ने बानी बस्छ भने कुनै पनि कार्यलाई उचित समयमा गर्नुपर्छ भन्ने भावनको विकास हुन्छ ।

आजको युगमा कुनै पनि कुरालाई अत्यन्तै सतही रूपमा लिने बानीको विकास भइरहेको छ । आमा–बुबा, साथीभाइ, परिवार र समाजको महत्व घट्दै गएको छ । छात्रावासमा बस्नाले यी सबैको महत्व बुझ्न पनि विद्यार्थीहरूलाई सहयोग गर्छ । छात्रावासमा रहँदा बाबुआमाले निकै रकम खर्चनुपर्ने हुन्छ । तर, यसबाट पैसाको महत्व बुझ्न र मितव्ययी हुन पनि विद्यार्थीलाई मद्दत पुग्छ । विद्यार्थीहरूमा लगनशील, मिहिनेती एवम् कर्तव्यनिष्ठ बन्ने बानीको विकास हुन्छ । घरमा हुँदा आफ्नो काम समेत नगर्ने विद्यार्थीहरूले छात्रावासमा आफ्नो काम आफैं गर्ने, साथीहरूसँग मिलेर अन्य काम गर्ने काम गर्छन् ।

यसले उनीहरूलाई कामप्रतिको सम्मान गर्ने कुरामा अभ्यस्त गराउँछ । त्यसैगरी साथीभाइसँग मिलेर बस्ने, अर्काको पिरमर्का बुझ्ने र सहयोगी हुने जस्ता गुणहरू छात्रावासले विकास गराउँछ । समग्रमा छात्रावास विद्यार्थीका लागि जेल होइन, असल बानी सिकाउने मन्दिर बन्नुपर्छ । यहाँ कसैको दबाबमा होइन, स्वतःस्फूर्त आफ्नो काम गर्ने बानी बसाल्नुपर्दछ । विद्यार्थीलाई जबरजस्ती नभई आफ्नै विवेकको प्रयोग गर्न सिकाउने हो भने छात्रावास अपरिहार्य नै हुन्छ ।

कक्षा ९ (कर्णाली एजुकेसन फाउन्डेसन, बुद्धशान्ति १)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here