नउडोस् इतिहासको पाना

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

विष्णुकुमार भट्टराई,

इतिहासका पानाहरु एकपछि अर्को गर्दै उक्किराछन् । भयावह आँधीबेहरीले उडाएर अज्ञात दिशातिर कहाँ हो कहाँ लगेर विलुप्त बनाइरहेका ती इतिहासका पाना कति त स्वर्णाक्षर लिखित थिए, कति शिलामा कुँदेर राख्न लायक थिए, कति कागजकै खोस्टामा भए पनि बहुमूल्य थिए ।

इतिहास उड्नु स्वयम्मा पीडादायी भविताको धोतक हुँदै हो अझ अचेलका लाल बुझक्कड तथाकथित राजनीतिकर्मीहरुले त यो पीडालाई अझ चर्को पार्ने चेष्टा सधैँ गरिरहेका छन् । इतिहासका पानाहरु आफ्नै हातले उक्काउने, च्यात्ने, जलाउने र नामोनिसान समाप्त पार्ने खेल खेल्नमा व्यस्त राजनीतिले हाम्रो समाजलाई किमार्थ उठ्न दिने छैन । सबैलाई ज्ञान भएकै कुरा हो, तर फेरि पनि सबै चुप छन् । सबै मुकदर्शक छन् ।

आज अचानक एउटा पाना उक्किएको छ । इतिहासको । यो पाना उठाउने आँधी चलिरहेको यो बेला त्यो आँधीको विरुद्धमा खडा भएर पाना जोगाउने दायित्व अब हाम्रो काँधमा आएको छ । यो पानामा लिखित इतिहास सबैले पढ्ने लायक भएका भए पनि कसैले वास्ता नगरिकन छोडेका छन् । त्यो पानामा के लेखिएको थियो ? त्यसलाई जोगाउने दायित्व हामीले किन लिनु प¥यो ? कैरन सविस्तार कहनु जरुरी छ र ध्यानपूर्वक सुन्न, गुन्न र परिशीलन गर्न जरुरी छ ।

इतिहास गाउँबाट शुरु हुन्छ, गाउँ बन्छ, गाउँले समाज बन्छ अनि फैलिँदै जाँदा जिल्लाव्यापी हुन्छ । देशको राजधानीसम्म मोफसलको एउटा दुर्गम र पीडित गाउँ चर्चित हुन पुग्छ । यस्तो चर्चाको निर्माता वा प्रधान कारण त्यो गाउँका सिमित बासिन्दा र तिनका अग्रजहरु हुन पुग्दछन् । त्यही गाउँ र तिनै अग्रजको इतिहासको पानु आज मोठबाट एकाएक छुट्टिएको छ ।

हो, त्यो गाउँको पुरानो शनिश्चरे गाउँ पञ्चायतभित्रको सानो गोलधाप । सानो गोलधाप नामले परिचित यो गाउँको चौहद्दी पनि सानै थियो, बासिन्दाहरु पनि कमै थिए । खेती गर्नु प्रमुख पेशा त देशभरकै बासिन्दाको छँदै थियो । गोलधापबासी मेचे परिवार र अन्य हमाल, रिमाल आदिको पनि अर्को पेशा हुने कुरै थिएन । पछि बद्लिँदै जानु बेग्लै कुरा हो, तर त्यो बेलाको गोलधापको जतनलाल मेचे ठूलै खेतीवाला थिए । उनी गाउँ, पञ्चायतको निर्वाचित उपप्रधानपञ्च समेत भएका थिए । पछि पानखेती अपनाएर देशव्यापी चर्चा पाए । तर, उनको पानखेतीले निरन्तरता पाएन । आफ्ना कुलवंशको सन्त परम्परामा दीक्षित भएर केही वर्ष सन्यास जस्तै भएर रहे पनि पछि त्यो सब आफ्नोपनलाई तिलाञ्जलि दिएर युरोपियन युनियनको विश्वव्यापी विषाक्त महाजालभित्र परेर माकुराको जालोमा परेको किरो जस्तै भएर चुसिए र शेष भए । उनको इतिहास उड्यो र अज्ञात दिशातर्फ पुगी विलिन हुन पुग्यो ।

यही गाउँको उसकै छेउमा उसकै सँधियार भएर बसेको रिमाल गाउँको (रिमाल डाँडो) २०३१÷०३२ सालदेखिको कथा (इतिहास) लेखिएको एउटा पन्ना अहिले उक्किएको छ । तोयानाथ रिमालको बसोबासो गराएका उनका दाजुभाइ भएको र उनकै अगुवाइमा उनका अरु आफन्तहरुको बाक्लो बसोबास भएको हुनाले यो रिमाल गाउँ रिमाल डाँडो भएर केही समय परिचित रह्यो । २०३१ सालमा आफ्नो नाममा जग्गा लिए पनि बसोबास गर्न चाहिँ २०३२÷०३३ सालतिरबाट पं. तोयानाथ रिमालको शुरु भएको थियो ।

आफू तत्काल आसामबाट आएको हुनाले उतैका मानिसहरुलाई यता आउन प्रेरित गरी ल्याएको र बसोबास गराएको हुनाले आसामे नेपाली समाजको प्रभावले यहाँका अरु बासिन्दालाई पनि प्रभावित पा¥यो । आसाम बाहेक आफ्ना नातागोताका र आफ्नो गाउँ र जिल्ला इलामका मानिसहरु उनको आश्रय र आडभरोसामा उनकै वरिपरि बसे÷बसाइए र उनको नेतृत्वमा गाउँ नै चल्यो । उनी टीनघरे नामले गाउँमा चिनिए । वडा अध्यक्ष भएर शनिश्चरे गाउँ पञ्चायतभरि चिनिए । र, २०३३ सालको हात्ती आतंकको शासन गर्न जिल्लाका प्रशासन, प्रहरी, सेना र नेताहरुको समेत नेतृत्व लिएको हुनाले जिल्लाभरि चिनिए । उनको यो परिचय अब उडिसकेको इतिहासको पानु भएको छ ।

तर, यति मात्र होइन, उसको इतिहास बनिँदै मेटिँदै गरेको अरु अनेकौं पन्नाहरु छन् । उनी आसामबाट आउँदा घनश्याम शरण लुइँटेल पनि साथै आएका थिए । घनश्यामको परिवार पनि आफूसरह स्वावलम्वी र सम्पन्न भएकाले दुबैको जोडी खुबै मिलेको थियो । आसाममा गर्ने गरेको कीर्तनमा दुबैले यहाँ पनि गर्ने÷गराउने गरे । गर्दागर्दै हरिनाम नाम कीर्तन गर्ने डाँडोको रुपमा यो गाउँ चिनिन थाल्यो । शनिश्चरे गोलधापको नाम संकीर्तनको यतिसम्म चर्चा फैलियो कि यो गाउँले राजधानीका राजारानीका सामुन्ने समेत नाम संकीर्तन गर्ने अवसर पायो । नेतृत्वमा पं. तोयानाथ रिमालको नाम थियो । त्यो बेला मोफसलको एउटा अभेकमा रहेको गाउँलेको समूहलाई कीर्तन गाउनमा दक्ष बनाउनु र समूहलाई नै राजधानी लगी राजारानी समक्षमा कीर्तन गर्नु÷गराउनु एउटा ठूलो पुरुषार्थ मानिन्थ्यो । अब यो इतिहासको पातो पनि पुरानु भइसकेको भए पनि आँधीले उठाउन बाँकी थियो । त्यो पनि अब अज्ञात दिशाको यात्री भएर गयो ।

हरिनाम संकीर्तनसँग जोडिएको श्री भगवद भक्ति आश्रममा पनि खडा भएर साक्षी बकिरहेको छ अहिले गोलधापमा । तर, अब यो देवर्षि टोल भएर चिनिन थालेको छ । पं. तोयानाथ रिमालको कीर्तिस्तम्भको रुपमा खडा यो आश्रमको स्थापना, विकासक्रम र हालसम्मको अवस्थाका बारेमा उनले नै आफ्ना तीन कृतिहरु ‘जीवन दर्पण’, ‘दमयन्ता स्मृति ग्रन्थ’ र ‘भगवद भक्ति दर्पणमा’, सविस्तार वर्ण गरेका छन् ।

शनिश्चरेको सानो गोलधाप, रिमाल डाँडो हुँदै देवर्षि टोलमा परिणत भइसकेको अवस्था अहिलेको मौजुद अवस्था हो, तर यसका यी तीन कालखण्डका इतिहास बेग्लाबेग्लै बनिँदै जानुमा प्रमुख भूमिका निर्वाह गरेका व्यक्ति पं. तोयानाथ रिमाल अब इतिहासको मोठबाट बलात्, अलग हुन पुगेका छन् । उनको इतिहासलाई विलुप्त हुन नदिन गर्नुपर्ने प्रयत्नहरु गर्दै जान उनका उत्तराधिकारीमा आधासरो दायित्व छ भने गोलधापबासीको आधा छ भन्ने कुरामा कसैको दुईमत छैन ।

पं. तोयानाथको नेतृत्वमा यो गाउँले गरेका अरु अनेकौं चर्चायोग्य गतिविधिमध्ये शुरुको एउटा महापुराण पनि हो । उनले आफ्नै घर परिसरमा एउटा अभूतपूर्व कार्यक्रमको आयोजना गरे । यस अगाडिको खेतमा धेरै अस्थायी टहराहरु बनाइए, पुराण वाचन गर्ने मञ्च निर्माण गरियो । निकै आकर्षक आयोजना भएको हुनाले धेरै सम्प्रदायको चासो त्यसमा रहेको थियो । खासगरी वैष्णव सम्प्रदायका दुई शाखा तप्ताङ्कित र शीताङ्कित अनि सनातन शैली र प्रणामीहरुको अभूत पूर्व सम्मेलन गराइएको त्यो महापुराणमा ब्याख्याताको रुपमा देश–विदेशसम्म पुराण ब्याख्या गरेर नाम कमाइसकेका रेडियो नेपालबाट धार्मिक प्रवचन दिने गरेका आचार्य खेमराज केशवशरण जो स्वयम् शीर्ताकित वैष्णव सम्प्रदायमा आबद्ध थिए । भागवत कण्ठस्थ गरेका वाचक तप्ताङ्कित सम्प्रदायका थिए र आयोजक र प्रमुखकर्ता भएर सनातन गैर साम्प्रदायिक आचरणका प्रसिद्ध धार्मिक व्यक्ति उनै पं. तोयानाथ रिमाल थिए । यस्तो कार्यक्रममा श्रोताको रुपमा प्रसिद्ध योगीराज, तिष्णत वेदान्ती करोडौं शिष्यहरुलाई आफ्ना तप्ताङ्कित वैष्णव सम्प्रदायमा दीक्षित गरिसक्नुभएका दुग्धाहारी बाबा जगतगुरु कमलनयनचार्य ढुक्कै आफ्ना देश–विदेशका अनगिन्ती शिष्यहरुलाई लिएर पुराण अवधिभर बस्नु भएको थियो ।

यस्तो साम्प्रदायिक सामञ्जस्य कायम भएको उक्त महापुराण व्यक्तिगत व्यय भारसा आफ्नो घर परिसरमा उनैद्वार मात्र आयोजित हुन सक्थ्यो । आज उनै महापुराण आयोजक पं. तोयानाथको यो इतिहासको पन्नालाई आँधीहुरीले बलात् छुट्याइ दिएको छ । पुराण आयोजनासँग जोडिएका अरु अनेक ठाउँहरु, व्यक्तिहरु र समयहरु उत्तिकै ऐतिहासिक छन् । जो पं. तोयानाथका नामसँग जोडिएर आएका छन् । भगवद भक्ति आश्रममा खेमराज केशवशरणबाट भनिएको पुराण पनि यो ठाउँका लागि उत्तिकै महत्वको थियो र स्वयम् केशवशरणका लागि समेत नेपालको पूर्वी भेगमा उनको यशकिर्ति फैलाउन ठूलो मद्दतगार सावित भएको थियो । उनै पं. तोयानाथ रिमाल यसको श्रेय भागी हुने एकमात्र व्यक्ति थिए ।
पुराण आयोजक मात्र होइन पं. तोयानाथ रिमाल स्वयम् व्यासासनमा बसेर भागवतको पाठ गर्दथे । उनले पचासौं ठाउँमा, पचासौं घरपरिवारमा भागवत पाठ गरेर सुनाइसकेका थिए । व्यासासनमा सधँै र सबै ठाउँमा साथ दिने उनको मावली भाइ सूर्यकुमार सुवेदी थिए । उनको पनि अघिल्लो दिन स्वर्गबास भइसकेको थियो । यसरी लगातार इतिहासका महत्वपूर्ण पन्नाहरु छुट्टिदै हावामा उठेर विलिन हुँदैछन् । एउटा भयावह भविताको त्रासद आकृति सामुन्ने खडा भएको अनुभव गोलधापबासीले अहिले गरिरहेका छन् । पं. तोयानाथ रिमालका सहोदर भाइ गर्भेटुहुरा देवनारायण रिमालको पनि सात दिन अगाडि स्वर्गबास भइसकेको थियो जसलाई तोयानाथले गोलधापमा ल्याएर राखेका थिए ।

कीर्तन, पुराण र मानिसहरुको बसोबास मात्र होइन तोयानाथ रिमालको इतिहास अर्जुनधारा धामले पनि सुरक्षित राख्ने दायित्व लिनु पर्दछ । उनले त्यहाँ लामो समयसम्म सचिवको पदभार ग्रहरण गरेर त्यसको सुनिश्चित र दिव्य भविष्य सुरक्षित गरिदिएका छन् । अझ ठूलो दायित्व सनातन धर्म सेवा समितिले लिनुपर्नेछ । किनकि त्यहाँ सनातन धर्म सेवा समितिको भवन खडा छ र त्यसका प्रत्येक इँटा र ढुंगालाई तोयानाथ रिमालको नाम थाहा छ ।

२०९० सालको भुइँचालो आमाका गर्भमा हुँदा भोगेका तोयानाथ रिमालले भुइँचालोको अवशेष देख्ने चर्म चक्षु दुई महिनेपछि आएका भए पनि ज्ञान चक्षु खुल्ने समय भई नसकेकाले भुइँचालोको ताण्डवको कथा सुनेर नै जानेका थिए । उनी अडाइ वर्षको हुँदा आफ्नो परिवारमा गएको भुइँचालोले क्षतविक्षत पारेको आमाको हृदयको धड्कनलाई भने केही महशुस गरेका थिए । आफ्ना दाजुहरु दुई र दिदीहरु दुईलाई अनि आमाका पेटमा भएको भाइलाई समेत छाडेर आफ्ना पिताको ३५ वर्षको उमेरमा भएको अप्रत्याशित देहावसानले उनकी आमाको हृदय छिया–छिया भएको थियो । परिवारमा परेको यो आपत्ति २०९० सालको भुइँचालोभन्दा कम अवश्य थिएन । त्यसैले यसको थोर–बहुत आघात यिनका मुटुमा पनि परेको थियो ।

आमा र दाजुको निगरानीमा पढ्न पाउने अवसर प्राप्त गरेर कखरा र गुरुकुलतिर चिनेर सिध्याएपछि चण्डी, रुद्री, अमरकोष र लघुकौमदी समेत पढेर अंग्रेजीका पनि ए.बी.सी. लुकी–लुकी चिनेपछि नर्मल तालिम लिई तत्कालका प्राथमिक विद्यालयमा शिक्षक भई जिविका गर्दागर्दै र कहिले माङचोक, कहिले शान्तिनगर, कहिले घुमाउने टारतिरका स्कूलतिर शिक्षक भई घुम्दाघुम्दै आफू चौबिस वर्षको भएपछि नौ वर्षको हुँदा विवाह गरेकी आफ्नी श्रीमती मैतालु ल्याउन नपाउँदै माइतीद्वारा मणिपुर बसाइँ जाँदा सँगै लगिएकी हुनाले उनलाई लिन स्कूलको जागिर छोडेर गई लिएर आएको र नाम्सालिङमा दाजु र आमासँग मिलेर खेतीपातीको काम सघाएको इतिहास सँगै २०१५ सालको महानिर्वाचनलाई छाडेर आसाम गएको अनि त्यहाँ दुई दशकसम्म गरेको पुरुषार्थको इतिहास पनि अब ऊ सँगै अज्ञात गन्तव्य लिएर अज्ञात दिशातर्फ विलुप्त भएको छ ।

समग्रमा भन्नुपर्दा हाम्रा पितापुर्खाका पुरुषार्थको इतिहास हराउँदै गएको र बितण्डावादीहरुको चलखेलमा परी हामी आफै पनि आफूलाई बिर्सिदै जानुपरेको बाध्यकारी अवस्थामा पं. तोयानाथ रिमाल जस्तो साहसी पुरुषार्थी दृढनिश्चयी र ‘कार्य वा साधयामी देह वा पातयामी’को (आफ्नो काम सिद्ध नभए देह बिसर्जनसम्म गर्ने) संकल्पले प्रेरित भएका व्यक्तिको यो इतिहास कसले सुरक्षित राखिदेला ? उत्तराधिकारीहरुको सक्रियतामा गोलधाप गाउँबासी तयार भए पनि यो काम गर्न साच्चै नै माथि उल्लेख गरिएका दुई संस्थाहरु अर्जुनधारा धाम र सनातन धर्म सेवा समिति जिल्ला शाखा झापा पनि उत्तिकै सक्रिय भई लागीपरेमा उनको इतिहासलाई हावाहुरीले उडाउन पाउने थिएन भन्ने आशा गर्नु यो बेला सान्दर्भिक छ ।

पं. तोयानाथले वरण गरेको मृत्यु सबै वृद्धातुर व्यक्तिहरुका लागि आहारिसलाग्दो विषय बनेको छ । दृढ इच्छाशक्ति र आत्म्बलले बाँचेका व्यक्तिले मृत्युलाई पनि आफ्नै अनुकूल हुनेगरी वंशीकरण गरेको हुँदा रहेछन् । आफ्नो समय सकिएको अनुभव र आफ्नो परिवेशीय घटनाहरुको गहिरो अध्ययन र विश्लेषणले मृत्युलाई आफू अनुकूल बनाउन सक्ने रहेछ । उनका आत्माको चिरशान्ति र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here