‘कबड्डी’ अभिनेत्री रिश्माले कसिन् लगनगाँठो

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

काठमाण्डौ,

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । फिल्मकर्मी कोही उपस्थित भएका थिएनन् ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए । ‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छन् ।

रिश्मा अब फिल्म नगर्ने निर्णयमा पुगेको बुझिएको छ । फिल्मबाट टाढिने निर्णय लिनुको कारण खुलाउँदै उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘फिल्म क्षेत्र सोचेजस्तो रहेनछ । पहिला हामी स्थापित हुन संघर्ष गर्छौं । तर, एउटा स्थानमा पुगेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गर्छन् । त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा फिल्म नै नगर्नु उत्तम लाग्यो ।’

उनी फिल्म क्षेत्रमा हुने गरेको शोषणबाट पनि आजित भएकी रहेछिन् । आफू यौन शोषणमा नपरेको भए पनि श्रम शोषणमा परेको उनको भनाई छ । उनी अहिलेसम्म आफूले गरेका कुनै फिल्मबाट पूरा पारिश्रमिक नपाएको बताउँछिन् । प्राप्त जानकारी अनुसार, अभिनेत्री रिश्माको अन्तिम फिल्म ‘कबड्डी ४’ हुनेछ । यो फिल्मपछि उनले फिल्म अभिनयबाट सन्यास लिने बुझिएको छ ।-फिल्मीखबर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here