केमिकलयुक्त सडक एक महिना पनि टिकेन

0
924

झापा।

विकास निर्माणका काममा चरम लापरबार्ही हुदाँ विकासका लागि खर्चिएका रकम त्यसै खेर जाने गरेको छ । यसैक्रममा मोरङको कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरछेउमा निर्माण गरिएको सडक निर्माणमा चरम लापरवाही भएको पाइएको छ । उक्त सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किएको छ ।

प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण गरिएको कालोपत्रे भत्किएर गिट्टी छरपस्ट भएको छ । प्रदेश नम्बर १ को पूर्वाधार विकास कार्यालय मोरङको योजनामा निर्माण गरिएको कालोपत्रे सडकको अवस्था यतिखेर गिटी र बालुवामा सीमित हुन पुगेको हो ।

सरकारी कर्मचारी र उपभोक्ताबीचको मिलेमतोमा कालोपत्रे (केमिकलयुक्त सडक) गर्दा कमसल सामग्री प्रयोग गरिएका कारण एक महिना नपुग्दै भत्किएको स्थानीय अनिलकुमार यादवले बताए ।

यादवले कालोपत्रे निर्माण गर्न खटिएका कर्मचारी र केमिकल निर्यातकर्तालाई कारबाही गर्नसमेत माग गरे । उक्त सडकबाट कटहरी गाउँपालिकाका ६, ७ र ग्रामथान गाउँपालिकाका–४ लगायतका दैनिक १ हजारभन्दा बढी मानिसहरूले विराटनगर आवतजावत गर्छन् । प्रदेश नं. १ को पूर्वाधार विकास कार्यालयको मर्मत शीर्षकबाट ८३ लाख बजेट विनियोजन गरिएको थियो ।

यो कालोपत्रे सडक केमिकलयुक्त रहेकाले ५ वर्षसम्म टिक्नुपर्ने स्थानीय इन्जिनियर यम प्रधानले बताए । कम खर्चमा निर्माण गर्ने उद्देश्यले उक्त केमिकलयुक्त सडक निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मोरङका डिभिजन इन्जिनियर सुशील श्रेष्ठले बताए ।

केमिकलयुक्त सडक बनाए कम्तिमा ५ वर्षसम्म टिक्ने निर्यातकर्ताको दाबी थियो तर एक महिना पनि नटिकेपछि लाखै रुपैंया त्यसै खेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here