प्रदेश सरकारको दुई वर्ष: विकासका योजनाले गति लिए, नामाकरणमा अझै अलमल

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

झापा ।

मुलुक संघियतामा गएसंगै प्रदेश सरकार गठन भएको शनिबार दुई वर्ष पुरा भएको छ । संघियता आएसंगै विकासको गतिले तिब्रता लिने अपेक्षा गरेका जनताले भने सोचे जस्तो उपलब्धि हासिल नभएको टिप्पणी गरेका छन् ।

१ नम्बर प्रदेश सरकार गठन भएको दुई वर्ष पुरा भएपनि हालसम्म नामकरण गर्न नसक्नु प्रदेश सरकारको असफलतासंग जोडिएको छ । २०७४ फागुन ३ गते गठन भएको प्रदेश १ को शेरधन राई नेतृत्वको प्रदेश सरकार गठन भएको दुई वर्ष अर्थात ७३० दिन पुरा भएको छ । विकासलाई अघि बढाउन प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन गरिएको जनाएको छ । यसबीचमा प्रदेश लोकसेवा आयोग समेत गठन भइसकेको छ । यसबाट प्रदेश भित्रका कर्मचारी पदपूर्तिको बाटो खुल्ला भई प्रशासनिक संघीयतालाई बलियो बनाउन मद्दत पुग्ने व्यबस्था गरेको छ ।

प्रदेश सरकारले आयोगहरु गठन गर्दै विकासका कामलाई अगाडी बढाएपनि हालसम्म नामाकरणको विषयमा देखिएको अन्यौलतालाई भने सरकारको मुख्य कमजोरीसंग जोडिएको छ । प्रदेश सरकारले प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाई सार्वजनिक गरिसकेको छ । साना सिंचाई, सहरी विकास, पर्यटन विकास लगायतको १० वर्षे गुरुयोजनाले अन्तिम रुप लिन लागेको छ । प्रादेशिक निर्वाचन क्षेत्रमा सडकहरु निर्माण भइरहेका छन । तर कामले भने सोचे जस्तो गति लिन नसकेको विश्लेषण गरिएको छ ।

त्यस्तै पूर्वाधार तर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १२६ वटा मोटरेवल पुल र ११४ वटा झोलुङ्गे पुल धमाधम निर्माण हुँदै गरेको मुख्य मन्त्री राईले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रदेशका खेती योग्य जमिनहरुमा सिंचाई पुर्‍याउन १२९ वटा योजनाहरु सम्पन्न भएका छन् भने ६३१ वटा योजनाहरु निर्माणाधिन छन् । खानेपानीका आयोजनाहरु ११० वटा सम्पन्न भएका छन् भने ९४९ वटा आयोजनाहरु बनिरहेका छन् । प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि “जनता आवास कार्यक्रम” अन्तर्गत १७१ वटा घर निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना, जनतासँग प्रहरी कार्यक्रम अन्र्तगत १० लाख भन्दा बढी घरधुरी संख्यामा स्टिकर टाँस अभियान, परियोजना बैंकको स्थापना भएको छ । सगरमाथा टिन्स क्लब अभियानमा तीब्रता, डिजिटल साक्षरता कार्यक्रम र अनलाईन शिक्षाको शुरुवात, समृद्विका लागि एकिकृत जैविक स्रोत नामक २५० जना स्वेदशी तथा विदेशी बैज्ञानिकहरुको सहभागितामा बैज्ञानिक सम्मेलन सम्पन्न भएका छन् । यही बीचमा मिल्क होलिडेको अन्त्य गरिएको समेत दावी गरिएको छ ।

इलामको फिक्कल कन्याम सूर्योदय नगरपालिकामा एक टि टेस्टिंग एण्ड प्रोमोशन सेन्टर निर्माण कार्य समेत अगाडि बढेको जनाएको छ । कोशी रिफ्रेसमेन्ट सेन्टरको डिपीआर तयार भइ निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम कार्यान्वयनको तयारीमा रहेको समेत जानकारी गराए ।

संघीयता कार्यान्वयनको महत्वपुर्ण कडीको रुपमा हामीले पहिलो पटक एक अर्ब रुपैयाँ बराबरको वैदेशिक अनुदान सहयोग लिएको मुख्य मन्त्री राई जनाएका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here