बिर्तामोड,
ताप्लेजुङको फावाखोलामा हाइड्रोपावर सञ्चालन गरिने भएको छ । ताप्लेजुङको सिरिजंगा र पाथीभरा याङवरक गाउँपालिकामा फावाखोला हाइड्रोपावर सञ्चालन गरिने भएको हो । जसका लागि झापा र ताप्लेजुङका व्यवसायीको समेत लगानी रहेको छ ।

युनिटेक हाइड्रोपावर कम्पनीले १ अर्ब २५ करोड ५ लाख रुपैयाँ लगानी गर्दै ५.८ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम शुरु गरिएको झापाका व्यवसायी महेन्द्र प्रसाईले बताए । हाइड्रोमा व्यवसायी, डाक्टर, इन्जिनियरलगायत प्रवासी नेपालीको पनि लगानी रहेको प्रसाइले जानकारी दिए ।
आयोजनाअन्तर्गत हाल ७ किलोमिटर सडक निर्माण, ११ केभी कन्सट्रक्सन पावर लाइन र जग्गा खरिद सम्पन्न भइ हेडवर्क्स, पाइप लाइन र ३३ केभी प्रसारणलाइन निर्माण भइरहेको प्रवर्धक कम्पनी युनिटेकका अध्यक्ष नरेन्द्र मैनालीले जानकारी दिए । आयोजनाबाट २०७८ साउन १६ गतेभित्र बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य लिइएको प्रसाइको भनाई छ ।
यसैबीच युनिटेक कम्पनीले निर्माण गर्न लागेको माथिल्लो फावाखोला जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा तीन वित्तीय संस्थाले लगानी गरेका छन् । आयोजामा माछापुच्छ्रे बैंकको अगुवाइमा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र आइसिएफसी फाइनान्सले ८० करोड लगानी गरेका हुन् ।
तीन वित्तीय संस्था र प्रवर्धक कम्पनी युनिटेकका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा र कम्पनीका तर्फबाट युनिटेकका अध्यक्ष मैनालीले हस्ताक्षर गरेका छन् । आयोजनामा माछापुच्छ्रे बैंकको ४० तथा गुह्येश्वरी र आइसिएफसीको २०र२० करोड लगानी रहनेछ ।
बाँकी ४४ करोड ५ लाख रकम भने सेयरधनीको तर्फबाट लगानी हुनेछ ।
आयोजनामा २६ सय लिटर प्रतिसेकेन्ड पानीको बहावव फर्काएर करिब ४.५ किलोमिटर लामो पाइममार्फत २७१ मिटरको हेड माथिबाट खसालेर सतही पावर हाउस रहने गरी निर्माण संरचना तयार गरिने कम्पनीले जनाएको छ । विद्युत गृहमा दुईवटा पेल्टन टर्वाइन जडान हुनेछन् ।
उत्पादित बिजुली आठ किमी लामो ३३ केभीको प्रसारणलाइनबाट पाँचथरको अमरपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी काबेली सबस्टेसनको राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ ।






























