बिर्तामोड ।
भ्रष्टाचारविरुद्ध सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई आइतवार झापामा स्वागत गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा झापाका २३ वटाभन्दा बढी संघ– संस्थाले लामिछानेलाई स्वागत गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा लामिछानेले आफूले भ्रष्टाचारबिरुद्ध सँधै खवरदारी गरिरहने बताए । उनले जनताले आफूमाथि गरेको विश्वासलाई टुट्न नदिने बताउँदै सँधै जनताको बोली बोलिरहने विश्वास दिलाए ।
कार्यक्रममा बोल्दै पत्रकार लामिछानेले भ्रष्टाचारबिरुद्ध सबै नागरिक जिम्मेवार र सचेत भई खबरदारीमा अग्रसर हुनुपर्ने बताए । ‘सिधा कुरा जनतासँग’ न्यूज २४ टेलिभिजनको कार्यक्रममा कतिपय कर्मचारीले घुस लिँदै गरेका भिडियो क्लीप प्रशारण गर्दा आफूलाई ‘एक हजार घुस खाएको पनि किन प्रशारण गरेको ?’ भनेर प्रश्न आउने गरेको स्मरण गर्दै लामिछानेले भने– ‘तिनीहरुलाई मेरो प्रतिप्रश्न छ– एक हजार पनि घुस खाने ?’ उनले वास्तविक आवाजविहीनहरुको आवाज सञ्चारमाध्यमको हेडलाइन हुनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य बलराम कार्की, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता जीतेन्द्र कार्कीले गरेका थिए ।































