स्वस्थानीको पाना च्यात्दैमा समस्या सकिँदैन

0
918

रञ्जु प्याकुरेल बराल,

माननीय यसोदा सुवेदीज्यू,
संसदमा तपाईको प्रस्तुति हेर्ने मौका मिल्यो । कतिपय परम्परा गलत लाग्छन्, जो समाज र मानवीय हितका लागि उपयुक्त छैनन् । त्यस्ता अन्धविश्वासहरुलाई तोड्दै जानु पर्छ । तर, कसरी ? भन्ने प्रश्न खडा हुन्छ ।

हजारौं मान्छे मार्ने काममा खटिएकी, वर्षौंदेखि राजनीति गर्दै आएकी, पश्चिमतिरैकी चेली अझ भनुँ प्रभावशाली कम्युनिस्ट नेता देव गुरुङकी श्रीमती जस्ती ब्यक्तित्वले अझै समाज र त्यसलाई रुपान्तरण गर्ने शैली नबुझेकी देख्दा छाउपडी प्रथा मान्दै आएका सुदुरपश्चिमी जनतामा चेतना आउन कति समय लाग्ला भनेर अनुमान लगाउन असहज भएन । एक महिना आन्दोलन गरेर मध्यरातमा राजाले राष्ट्रका नाममा सम्बोधन गरेपछि फेरिएको राजनीतिक अवस्था, शब्द वाक्य मिलाएर भाषण गर्दै जितेको चुनाव र गुरुङसँग विवाह गरेर ब्राम्हणकी छोरी जनजाति भएर समानुपातिकमा सांसद भए जस्तो सहज हुँदैन समाज परिवर्तन गर्न । राजनीतिक परिवर्तन खरायोको गतिमा हुन सक्छ, तर सांस्कृतिक परिवर्तन कछुवाको गतिमा हुन्छ ।

चन्द्र शम्शेरले छुवाछुत प्रथाको अन्त्य गर्न शुरु गरेको अभियान आज पनि पूरा भएको छैन । जुन कुरा परिवर्तन गर्न चाहेको हो त्यसको पहिला गहिरो अध्ययन गर्नुपर्छ । बर्षौंदेखि राजनीतिमा लागेकी मान्छे अध्ययन चाहिँ लाल किताबको मात्र गरे जस्तो लाग्यो । त्यसको साथसाथै श्री स्वास्थानी माताको किताब अध्ययन गरेको भए समाज बुझ्न सजिलो हुन्थ्यो । स्वस्थानी माताको किताबमा विदेशीहरुले अध्ययन गरेर विद्यावारिधी समेत गरिसकेका छन् । यसलाई उत्कृष्ट भनिसकेका छन् । मलाइ त लाग्थ्यो १० बर्षे जनयुद्धले सामाजिक रुपान्तरणमा केही फड्को मारेको छ । तर, त्यसले तपाईं जस्ता आगो उगेल्ने मेशिनहरु मात्र उत्पादन गरेछ । जनभावना अनुरुप चल्न सक्ने नेता उत्पादन गरेनछ ।

करोडौं हिन्दू धर्मावलम्बीहरुको आस्थाको प्रतिक स्वस्थानीको अपमान गर्नु भनेको सामान्य कुरा होइन । अन्धविश्वास मान्नुपर्छ भन्ने मेरो अभिप्राय होइन, तर यसलाई परिवर्तन गर्ने तरिकाको बिरोध हो । यसका सकारात्मक पक्ष पनि त छन् । त्यसैका सकारात्मक पक्षमा टेकेर नकारात्मक पक्षको सुधार गर्न सक्नु पर्छ । मैले पनि पढेकी छु स्वस्थानीको कथा तर त्यहाँ कतै रजस्वला भएकी स्त्रीलाई बारीको डिलमा लगेर झुप्रो बनाइराख्नु भनेको कतै पाइएन । रह्यो ऋषिपञ्चमीको कुरा त्यसले त्यही समयलाई ध्यानमा राखेर केही नियम बनाएको छ । त्यसलाई समयसापेक्ष परिवर्तन गर्न गराउन नसक्नु तोलाको जिब्रो मात्र फड्को मार्ने नेतृत्वको कमजोरी हो

छाउपडी प्रथा कहिले र कसरी शुरु भयो होला भन्ने खोज गरौ न । हुन सक्छ आदिम युगमा सभ्यताको शुरुवात नहुँदै अर्थात् शिकार गरेर खानेयुगमा रजस्वला भएकी महिलाहरुलाई त्यो रगतको गन्धले गर्दा हिंश्रक जंगली जनावरले आक्रमण गरे होलान् । त्यसपछि उनीहरुको सुरक्षाको लागि रुखका हाँगा र पातले बेरेर छोपेर राख्ने चलन चल्यो होला । घर बनाएर बस्ने सभ्यताको शुरुवात सायद त्यही थियो कि ? आजसम्म पनि त्यो जंगली युगबाट आधुनिक सभ्यतामा ल्याउन नसक्नु त्यहाँका जनताको पछौटेपन, गरिबी र अशिक्षालाई भजाएर मन्त्री प्रधानमन्त्री बन्नेहरु कति उत्तरदायी बन्न सक्छन् ? छाउगोठ भत्काउँदैमा स्वस्थानी किताबका पाना च्यात्दैमा छाउप्रथाको अन्त्य होला र ? यो प्रथाको अन्त्य भयो भने तपाईं र तपाई जस्ता कैयौंले कुन विषयमा राजनीति गर्नु एनजीओ र आइएनजीओसँग मिलेर डलरको खेती कसरी गर्नु भन्ने प्रश्न तेर्सिन सक्छ ।

माननीयज्यू, सकारात्मक सोच राखेर काम गर्नुहोस् सफलता मिल्नेछ । रजस्वला भएका बेला खाना पकाउन हुन्न, पानी छुन हुन्न, पूजा गर्न हुन्न, पति सँग एउटै ओछ्यान गर्न हुन्न र कुनै पुरुषलाई छुन हुन्न भन्ने जस्ता मान्यताले गर्दा नै यो प्रथाको अन्त्य नभएको भन्ने बुझाइ राख्नुभएको छ भने यसरी बुझाउनुहोस् । जुनबेला यो मान्यता स्थापित भयो त्यो बेला खाना बनाउनु भनेको आहारा खोज्नु समेत पर्दथ्यो होला । पानी छुन नहुनुले टाढाबाट पानीको भारी बोकेर ल्याउने अर्थात् पानीको श्रोत नदी तलाउ मात्र पर्दथे । पानीमा रगत चुहिन्छ भनेर पनि यस्तो मान्यताको बिकास भएको हुनुपर्छ । पतिसँग एक ओछ्यान हुन नहुने कुरा तपाईले बुझ्नु भएकै छ ।

पुरुषलाई छुन नहुने कुराले महिलाहरुलाई सुरक्षित बनाएको छ । मसिनो ढंगले बुझाउँदै लगे गलत मूल्य र मान्यतामा पनि परिवर्तन ल्याउन सकिन्छ । किताबका पाना च्यात्दैमा छाउपडी प्रथाको अन्त्य हुने भए सबैले साथ दिन्थे, तर त्यसो हुँदैन । बरु त्यो गफाडीहरुको गफ गर्ने अखडा छाडेर गाउँ पस्नुहोस् (बन्दुक नबोकी) सकारात्मक सोच लिएर जनचेतना जगाउनुहोस् । श्री स्वस्थानी किताबका पाना च्यात्नु पर्दैन । कसैको आस्थालाई चोट पुर्याउनु पर्दैन । श्री स्वस्थानी माता कि जय !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here