झापाको बिर्तामोडकी एक महिलाले नेपाली हाते कागज उद्योग सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएकी छिन् । बिर्तामोड नगरपालिका–३ बिर्ताबजार निवासी नैनकला चुडाल ढकालले नेपाली हाते कागज उद्योग सञ्चालन गरेर सफल महिला उद्यमीका रुपमा आफूलाई प्रस्तुत गरेकी हुन् ।
बिर्तामोड–३ उन्नति टोल (डोमालाल रंगशालारोड)मा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ज्योति नेपाली हाते कागज उद्योगकी सञ्चालिका ढकालले २०४६ सालमा बिर्तामोड–१० बाट उक्त व्यवसाय शुरु गरेकी हुन् ।
विगत १९ वर्षदेखि निरन्तर पहाडी जिल्ला पाँचथर र ताप्लेजुङबाट लोक्ता र बाबियो ल्याएर परम्परागत रुपमा जापानी प्रविधिको नेपाली कागज उत्पादन गर्दै आएकी उनले मासिक ५० हजार बचाउने गरेको बताइन् । जाँगर, आत्मविश्वास र इच्छाशक्ति भए महिलाहरु पनि उद्योमी बनेर आत्मनिर्भर बन्नसक्ने बताउँदै उनले भनिन्–‘मैले यही व्यवसायबाट आफू स्वरोजगार बनेर अरु दशजनालाई रोजगारी पनि दिएको छु, आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा प्रदान गर्न सक्षम भएको छु ।’
महिला उद्यमी संघ, ढकाल बन्धु समाजलगात संघ–संस्थामा आबद्ध ५० वर्षीया नैनकलाका दुई छोराछोरी उच्च शिक्षा अध्ययनका क्रममा विदेशमा छन् । हाल उनको छोरा इञ्जिनियरिङ विषयमा स्नातकोतर (मास्टर्स) र छोरी स्नातक तहमा अध्ययन गर्दैछन् ।
उनका बुबा भोलानाथ चुडालले ताप्लेजुङको फोक्लिङमा २०४७ सालमा हाते कागज बनाउने घरेलु उद्योग शुरु गरेको र आफूले बाबुको प्रेरणाबाटै यो व्यवसायमा हात हालेको बताइन् । जुन झापाकै पुरानो नेपाली कागज उद्योग भएको र आफ्नो बाबुको कामको सिको गरेर धेरैले यो व्यवसाय शुरु गरेको समेत उनले बताइन् ।
हाल नैनकलाका एकै परिवारका भाइबहिनी नवराज तथा अम्बिका लगायत चारजना छुट्टाछुट्टै यही पेशामा आबद्ध छन् । उनले जीवनमा उद्योग सञ्चालनका क्रममा उद्यमशील बन्दाको भिन्न अनुभूतिसँगै पति वियोगको बज्रपात पनि सहन गर्नु प¥यो । उनले भनिन्– ‘व्यवसायिक कामकै सिलसिलमा उहाँ बित्नुभयो ।’
पति इन्द्रप्रसाद ढकालको २०७० सालमा मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि परिवारको पालनपोषण र शिक्षादिक्षाको सम्पूर्ण जिम्मेवारी आफूमाथि आइपरे पनि हरेश नखाई उद्योगमा निरन्तरता दिएको उनले बताइन् ।
पहाडी जिल्लामा पाइने लोक्ता र बाबियो पकाएर प्रशोधन गरी लेदो बनाएर नेपाली कागज उत्पादन गरिन्छ । हाते कागज भनिए पनि कम्प्युटर प्रिन्टमा उपयुक्त नेपाली कागज समेत यसरी बन्ने गरेको छ । आफूले उत्पादन गरेको कागजको बजार तथा व्यापारीसँगको सम्पर्क निश्चित भएकाले कागज बिक्रीका लागि समस्या नभए पनि प्रतिष्पर्धा बढेका कारण आपूर्ति बढी तथा माग कम हुँदा मूल्यमा केही कमी आएको र पहिले जस्तो सहज भने नभएको अनुभव उनले बताइन ्।
बिर्तामोड नगरपालिकाभित्र मात्र सात–आठ वटा यस्ता उद्योग सञ्चालनमा रहेका छन् । उनले उत्पादित सामग्री मध्ये केही स्थानीय व्यापारीले आफै आएर लैजाने र अरु बाँकी दमक, विराटनगर, वीरगञ्ज, जनकपुर लगायत स्थानहरुमा पठाउने गरेको बताइन् ।
नेपाली हाते कागज नेपालका सरकारी कार्यालयदेखि विदेशसम्म माग हुने गरेको यसैको मार्केटिङ गर्दै आएका बिर्तामोड–१० विराटपोखरका नवराज चुडाल बताउँछन् । झापामा तीन दर्जनको हाराहारीमा हाते कागज उद्योग सञ्चालनमा छन् । नेपाल बैंकबाट सहुलियत ब्याज दरमा कर्जाको केही सुविधा पाएको भए पनि कुनै सरकारी अनुदान अहिलेसम्म कसैबाट नलिएको उद्यमी ढकालको भनाइ छ ।
उच्च मनोबल तथा दृढ अठोटका साथ लगनशील भई निरन्तर लाग्ने हो भने स्वदेशमै कुनै पनि व्यवसायमा सफल बन्न सकिन्छ । कामप्रति उत्साही हुँदै उनले भनिन्– ‘व्यवसाय शुरु गरेपछि घाटा भयो भनेर छोड्नु हुँदैन । विश्वासका साथ लगनशील भई निरन्तर लागीपर्नुपर्छ, लक्ष्य प्राप्त गर्न सकिन्छ । उनले दिगोरुपमा आफ्नो उद्योग व्यवसाय स्थापित हुन सकेकोमा आत्मसन्तुष्टि मिलेको बताइन् ।
प्रस्तुती : रत्नबहादुर बस्नेत































