तीर्थराज खरेल,
हामी विकसित हुन चाहन्छौं र संसारका विकसित देशका सामु नेपाली हुनुको पहिचान स्थापित गर्न चाहन्छौं । कुनै पनि परिवार, समाज, समुदाय र मुलुकका विकासमा प्रभाव पार्ने धेरै तत्वहरु हुन्छन् । चेतनाको स्तर, प्रविधिको उपलब्धता र प्रयोगको स्थिति, भौगोलिक अवस्थिति, राजनीतिक व्यवस्था, हावापानीको अवस्था, जमिनको उर्वरता आदिलाई विकासमा प्रभाव पार्ने तत्वका रुपमा लिन सकिन्छ, तर यी सबैभन्दा महत्वपूर्ण कुरा भनेको त्यो देशका जनताको कामप्रतिको लगाव वा कार्यसंस्कृति हो । समाज विभिन्न सामाजिक एकाइहरुको योग हो, मानवीय जीवनका महत्वपूर्ण अवयवहरू विवाह, परिवार, नाता आर्थिक, सामाजिक, धार्मिक संस्थाहरू, भौतिक तथा अभौतिक संस्कृतिका विभिन्न पक्षहरू आदिको कार्यात्मक सम्बन्ध नै समाज हो । समाजका मानिसहरूको जीवन पद्धतिको तरिका नै संस्कृति हो ।
समाजमा विकसित भएका सामाजिक मूल्य–मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायतको सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूपलाई संस्कृति भन्न सकिन्छ । संस्कृति मानवले आफ्नो दैनिक कार्य प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य मान्यता, प्रथा, भाषा, रीति–रिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो जुन अजैविक हुन्छ र समाजमा हस्तान्तरित हुन्छ । त्यसैले कुनै राजनीतिक व्यवस्था परिवर्तन हुँदा विकासका लागि सकारात्मक वातावरण निर्माण हुन सक्छ । तर, राजनीतिक व्यवस्थामा हुने सकारात्मक रुपान्तरणले विकास–निर्माणमा सकारात्मक प्रभाव पार्न सक्दछ, तर त्सले मात्र विकासको ग्यारेण्टी हुन सक्दैन । त्यो समाज, जनता र मुलुकको काम गर्ने संस्कृति कस्तो छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
नेपालमा सांस्कृतिक विविधतायुक्त देश हो । हामी र हाम्रो समाज बहुल समाज हो । जसका कारण विविधतापूर्ण सांस्कृतिक विशेषताहरूले नेपाललाई सम्पन्न बनाएको छ । विविधतायुक्त भूगोल, भूगोल अनुसारको विभिन्न जातजातिको बसोबास साथै १२५ जाति र झण्डै १२३ भाषाको धनी राष्ट्र नेपाललाई सांस्कृतिक विविधतालाई उचित रूपमा व्यवस्थापन गर्ने प्रयास २०४७ को संविधानबाट थालनी भएको देखिन्छ । वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पछि सहभागितामूलक समावेशीकरण एवम् पहिचान लगायतका नीतिहरूको संवैधानिक व्यवस्था भई व्यावहारिक अभ्यास गरिरहेको छ । पहिचानको संकटबाट गुज्रिनु परेमा मुलुकका नागरिकबाट मुलुकले ठूलो आशा गर्न सक्दैन । तर, आजको युगमा जातीय, भाषिक, क्षेत्रीय विभेदको अन्त्य गरेर मात्र हुँदैन, हामीमा रहेको कार्यसंस्कृतिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन पनि जरुरी छ । कार्यसंस्कृतिको यथोचित विकास र प्रबद्र्धनबाट कार्यदक्षता, उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । वस्तु र सेवामा हुने गुणात्मक वृद्धिका कारण कुनै पनि संगठन, कम्पनी वा मुलुकको समग्र जीवनमा आशातीत सफलता प्राप्त हुन्छ । कार्यसंस्कृति विभिन्न पक्षहरूबाट प्रभावित हुने गर्दछ । प्रविधिको अधिकतम विकास र प्रयोग, बढ्दो शहरीकरण, बसाइ सराइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय सांस्कृतिक अतिक्रमण, मूल्य र मान्यताहरूमा आएका परिवर्तन, बहिष्करण र वञ्चितीकरण, भाषाको प्रयोगको अवस्था आदिले कार्यसंस्कृतिमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ ।
स्वच्छ, समावेशी लोकतन्त्रको अभ्यासद्वारा सहभागिता, समावेशीकरण एवम् विविधता र विरोधी विचारधाराप्रति सहिष्णुता कायम गरी बहुसांस्कृतिक समाजको सामाजिक र राजनीतिक समानताको निश्चितता गर्न सांस्कृतिक स्वतन्त्रता र समानता कायमका माध्यमद्वारा सांस्कृतिक र सांस्कृतिक सम्पदाको संरक्षणको माध्यमद्वारा साधन, स्रोत माथिको अवसर र न्यायिक बाँडफाँडबाट र सामाजिक न्याय, मानव अधिकार, स्वतन्त्रतता कायमको माध्यमद्वारा कार्यसंस्कृतिको बढावाका लागि जनतालाई उत्प्रेरित गर्न सकिन्छ । सामाजिक, सांस्कृतिक रुपले नेपाली समाज एक जीवित संग्रहालय हो, संस्कृति एउटा समाजबाट अर्को समाजमा, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा र एउटा पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हुँदै जान्छ, यो निरन्तर बनिरहन्छ र परिवर्तन र परिष्कृत पनि हुँदै जान्छ । कार्यसंस्कृति रातारात हुने कुरा होइन । यसको राम्रो उदाहरण जापान, अमेरिका, कोरिया, कतार आदि देशहरुमा नेपालीहरु रोजगारका लागि जान्छन् र इमान्दार कामदारका रुपमा छवि बनाएर फर्कन्छन् । ती देशमा काम गर्ने, मेहनत गर्ने संस्कृति छ । कार्यसंस्कृति भनेको २४ सै घण्टा काममा दलिरहने र मानवीय स्वतन्त्रताको हरण गर्ने कदापि हुन सक्दैन । तोकिएको समयावधिमा कडा परिश्रम गर्ने र फुर्सदको समयमा आराम र मनोरञ्जन गर्ने भन्ने बुझिन्छ । ‘राजा जस्तो खाऊ, गधा जस्तो काम गर’ कार्यसंस्कृतिको मूल मर्म हो । थोरै समय, थोरै लगानी, थोरै समयमा धेरै काम गर्न सक्ने हो भने उत्पादन र उत्पादकत्व दुवै बढ्छ । विकसित देशहरुमा दैनिक ८ वा १० घण्टा काम गरेर मात्र सक्षम नागरिक आफूलाई सुयोग्य नागरिक ठान्दछ । तर, तिनै नेपालीहरु नेपालमा फर्केपछि वेरोजगार बनेर, कतिपय त आपराधिक काममा पनि सरिक हुने गरेका धेरै उदाहरणहरु छन् ।
एउटा पूर्ण संगठनका लागि उद्देश्य संरचना अधिकार कामको विभाजन, प्रभावकारी संचारको व्यवस्था र कार्यसंस्कृति आवश्यकता पर्छ । संगठनमा कार्यरत मानिसका अन्तरनिहित भावना, दृष्टिकोण विश्वास र व्यवहारको अध्ययन गरी कमी–कमजोरी सुधार गर्ने विषय नै संगठनात्मक व्यवहार हो । संगठनमा आबद्ध मानिसको व्यक्तिगत, समूहगत र संगठनात्मक क्रियाकलायको अभिव्यक्ति र अभ्यास नै संगठनात्मक व्यवहार हो । संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् ? त्यस्तो व्यवहार किन देखाउँछन् ? त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने सम्बन्धमा संगठनात्मक व्यवहारमा अध्ययन गरिन्छ । संगठनमा रहेर मानिसले देखाउने व्यवहार नै संगठनात्मक व्यवहार हो । यसले मानिसको व्यवहार र कार्यशैलीको विश्लेषण अनुमान र नियन्त्रणको वर्णन गर्छ । संगठनमा कार्यरत मानिस, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो र कार्यशैलीले निक्र्योल गर्छ । कार्यसंस्कृतिले मानिसलाई लक्ष्य प्राप्तिमा प्रभावकारी रूपमा लगाउन सहयोग पु¥याउँछ, यसले संगठनको दिशा वा गतिबारे जानकारी दिन्छ, कर्मचारीका अपेक्षा र उत्प्रेरणाको स्तरको जानकारी हुन्छ । कार्यसंस्कृतिले सेवाग्राही र सहकर्मीसँगको व्यवहारबारे जानकारी हुन्छ । परिवर्तनलाई आत्मसात् र व्यवस्थापन गर्न सजिलो हुन्छ ।
कार्यसंसकृति परन्तुमा सामाजिक प्रणालीको रुपमा विकास हुन्छ । यसले झट्ट हेर्दा राज्य वा मालिक पक्षलाई फाइदा हुने देखिए पनि वास्तवमा कर्मचारी वा श्रमिकलाई नै फाइदा पुग्दछ । कार्यसंस्कृति सामाजिक जीवन हुने गर्छ । यसले कार्य सम्पादन र प्रभावकारितामा प्रभाव पार्दछ । कार्यसंस्कृतिको वढावाले नेतृत्वको क्षमता बढाउन, द्वन्द्व व्यवस्थापन गर्न, संगठनको प्रभावकारिता बढाउन, संगठनात्मक व्यवहारमा नवीन प्रवृत्तिको वीजारोपण गर्न, नतिजामुखी कार्यशैलीको विकास गर्न सहयोग पु¥याउँछ । संगठनप्रति कर्मचारीको अपनत्व बढाउन र बनाइएका योजना कार्यान्वयनमा कार्यसंस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ । कार्य संस्कृतिको विकास संगठनको मूल्य, मान्यता, विश्वास, आचरण र कार्य वातावरणमा निर्भर रहन्छ । संगठन र व्यक्तिका मूल्य, मान्यता, कार्यशैली, व्यवहार, संस्कार र अभिव्यक्तिको समष्टिलाई संगठनको कार्य संस्कृति भनिन्छ । यसले संगठनलाई नियन्त्रित, निर्देशित र सञ्चालन गर्छ । संगठनात्मक संस्कृति भनेको संगठनमा काम गर्ने मानिसको सामूहिक मूल्य, मान्यता, विश्वास, सोच र कार्यशैलीको समष्टि हो । संगठनमा काम गर्ने मानिसको संगठनप्रतिको साझा अवधारणा नै संगठनात्मक संस्कृति हो ।
देशको आन्तरिक वातावरण, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवेश, प्रशासकको सोच र दृष्टिकोण, नागरिक समाज र जनचेतना स्तर, अन्तर्राष्ट्रिय परिवेश, मुलुकका कार्यविधि र ऐन कानून, कर्मचारी उत्प्रेरणा र कामप्रतिको लगाव लगायतले कार्यसंसकृतिको प्रकार र प्रकृति निर्धारणमा प्रभाव पार्दछन् । सुशासनमा जोड, कर्मचारीमा निहित क्षमता र प्रतिभाको प्रयोग, प्रशासनिक कार्य प्रक्रियामा सरलीकरण नीति–नियममा स्थायित्व, प्रशासनमा राजनीतिकरणको अन्त्य, कर्मचारीको सिर्जनशीलताको कदर, प्रभावकारी अनुगमन मूल्यांकन र गुनासो व्यवस्थापन लगायतका उपायहरु अवलम्बन गर्ने हो भने कार्यसंस्कृतिको विकास हुन्छ र कार्यसंस्कृतिको विकासले नै मुलुकको विकासको ढोका खोल्ने हो । कामप्रतिको निष्ठाबाट असल कार्यसंस्कृतिको विकास हुने हो । जापान, अमेरिका, सिंगापुर लगायतका मुलुकहरु आजको अवस्थामा आउन कार्यकुशलता र कामप्रतिको समर्पणभावबाट निसृत कार्यसंस्कृतिको विकास भएको कुरा नेपालीहरुले पनि बुझ्न जरुरी छ ।


























