सम्पादकीय
वैदेशिक रोजगारी हिजोआज अनिवार्य जस्तै भएको छ । यसको मोहले गाउँ रित्ता छन् । क्षमतावान जनशक्तिको पलायनका कारण मलामी समेत नहुने अवस्थामा पुगेका गाउँहरु बालबालिका र वृद्धवृद्धाहरुको वासस्थल मात्र हुन थालेको छ । भौतिक वस्तुको आकर्षण, लोभ, अज्ञानता र केही गरिबीका कारण रित्तिएका गाउँबस्तीहरुलाई भरिभराउ पार्नु पर्छ भन्ने जिम्मेवार संस्थाहरुले कल्पना पनि गरेका छैनन् । अझ विगतमा तिर्नुपर्ने शुल्क तिर्नु नपर्ने भनेर विदेश पलायनको सपनालाई ‘मलजल’ गर्ने काम गरिँदैछ । देश र जनताको अभिभावक र संरक्षक भनिने सरकारको यस्तो नीतिका कारण विदेश मोह अरु बलियो भएको छ ।
श्रम बेच्न जाने युवाहरु कतिपय वक्सामा बन्द भएर आएका छन् । कतिपय अङ्गभङ्ग र असाध्य रोग बोकेर रित्तो हात फर्किएका पनि छन् । दुई–चारको जीवनस्तरमा आएको परिवर्तनलाई प्रेरणा मानेर विदेशिनेहरुको होडमा कति घरपरिवार विखण्डित भएका छन् भने नेपाली समाजको सांस्कृतिक एवम् मौलिक विशिष्टता कमजोर हुँदैछ । यो सँगै युवती र महिलाहरुले भोग्नु परेको पीडा, अस्मिताको जोखिम र अनिश्चित जीवन भोगाइका कहालीलाग्दा तस्वीरले सरकार र सम्बन्धित पक्षलाई थोरै पनि छोएको छैन । यही समय बेचबिखन र हिंसामा पारिएकी सिन्धुपाल्चोककी एक युवतीले वैदेशिक रोजगारको कष्टकर भोगाइ र अनुभूतिहरुलाई सार्वजनिक गरेकी छन् । उनको जीवनको भोगाइको यथार्थ तस्वीरले वैदेशिक रोजगारको यात्राका लागि तम्तयार युवती र महिलाहरुको अन्तरमनलाई चिमोट्नु पर्दछ, सचेत गराउनु पर्दछ ।
लैङ्गिक समानताको ब्याख्या र विश्लेषण जतिसुकै गरिए पनि प्राकृतिक रुपमै यी दुईका बीच समानता हुन सक्दैन । पुरुषले महिलाका केही नितान्त बेग्लै पीडा र भोगाइहरुलाई अनुभूत गर्न सक्दैन । बराबरी केवल शब्दको मोहजाल मात्रै हो । त्यसभित्रको गुण, विशेषता, भिन्नता र अवस्थालाई न तुलना गर्न सकिन्छ न त बोध गर्न नै । सिन्धुपाल्चोककी युवतीको पीडा उनको नितान्त निजी अनुभूति होइन । उनी केवल प्रतिनिधि हुन् वैदेशिक रोजगारमा गएका महिलाहरुको । ‘तैँ चुप, मैँ चुप’ को अवस्थाले गुम्सिएको र अहिले सार्वजनिक भएको यो सत्यले हाम्रा प्रतिनिधि संस्था, पात्र र सरकारमा रहेकाहरुको मन र बुद्धिको ढोका खुल्नु पर्दछ ।
विदेशको आकर्षणले जुनसुकै बाटो, जुनसुकै माध्यम र जस्तोसुकै परिस्थिति पनि व्यहोर्न तयार हाम्रो मानसिकता पनि दोषी हुन सक्छ । अनुचित फाइदा उठाउने, स्वार्थ पूरा गर्ने व्यक्ति वा समूहले आश्वासन दिएको भरमा सम्पूर्णता ठान्ने सोचलाई सरकार र सम्बद्ध पक्षले बदल्नु पर्दछ । यसका लागि स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्छ । सिप, कला, क्षमताको विकास गर्दै सशक्तिकरणका माध्यमबाट आफ्नै माटोमा सृजना गर्न सकिन्छ भन्ने भावना बलियो बनाउनु पर्दछ । अनुचित बाटो हिँड्नेहरुका विरुद्ध प्रतिवाद, प्रतिकार र प्रतिरक्षा गर्ने आत्मबल जगाइनु पर्दछ । अन्यथा नियमितता जस्तै भएको विश्रृंखलित समाज व्यवस्थामा सुधार आउन सक्दैन ।






























