एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि इँटा प्रदान

0
743

बिर्तामोड ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले इँटा प्रदान गरेका छन् ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा आप्mनो तेस्रो वैवाहिक वर्षगाठको अवसर पारेर निरौलाले तीन थान इँटा प्रदान गरेका हुन् ।

बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहयोग पुर्याउन इँटा प्रदान गरेको उनले बताए । पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ लगायतमा फजुल खर्च गर्ने प्रवृत्ति वढ्दै गएकोले त्यसलाई निरुत्साहित गर्न यस्तो कार्य गरेको उनले बताए ।

श्रीमती आर्जु भट्टराई निरौला ,छोरा प्रशिद्ध र उनले उक्त इँटा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पित, झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरि भण्डारीलगायतलाई हस्तान्तरण गरेका थिए ।

सवैको साथ र सहयोगविना बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्राहलयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी, गरीव सवैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन एक व्यक्ति एक इँटा समर्पण अभियान शुरु गरिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले जानकारी दिए ।

बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणका लागि एक करोड २४ लाख रुपैयाँ आवश्यक रहेको मध्ये करिब ५० लाख बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए ।

झापा नाटक घरको निर्माणका लागि झापा क्षेत्र नं. २की संघीय सांसद् पवित्रा निरौला खरेलले सांसद बिकासकोषबाट विनियोजन गरेको १५ लाख र प्रदेश सांसद एकराज कार्कीले सांसद बिकासकोषबाट विनियोजन गरेको १० लाख रुपैयाँ गरी जम्मा २५ लाख रुपैयाँ प्राप्त भएको र निर्माण कार्यलाई तीब्रता दिएको झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंले बताए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले पत्रकार निरौलाले झैं अरुले पनि यसप्रकारको कार्य गरे झापा नाटकघर निर्माणमा ठूलो सहयोग मिल्ने बताए । त्यस्तै ग्लोबल मल्टी कल्चरर अर्गनाइजेशन नेपालका अध्यक्ष एलपी बुढाथोकी, महासचिव रामगोपाल शिवाकोटी लगायतले झापा नाटक घर निर्माणको लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले निरौलाले गरेको कार्यले झापाबासीको मन छोएमा मात्र पनि झापा नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा प्रदान गर्दा करिव १० लाख इँटा संकलन हुने र एक लाख इँटा भवन निर्माणमा प्रयोग भए बाँकी ९ लाख इँटालाई रूपान्तरण गरी नाटकघरको अन्य क्षेत्रमा प्रयोग गर्न सकिने बताए । झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान प्रभावकारी बन्दै गएको उनले बताए ।

उक्त अभियानका लागि बिर्तामोडमा रहेका कमर्शियल तथा बिकास बैकका प्रमुखहरुले बैठकबसी एक थान इँटा प्रदान गर्ने घोषणा गरिसकेका छन् भने श्रीराम इँटा उद्योगका सञ्चालक घनश्याम तिम्सिनाले तीन हजार इँटा प्रदान गरेको बताइएको छ ।

उक्त अभियानलाई सार्थकता दिन गाउँदेखि नगरसम्म इँटा संकलन अभियान संकलन गर्ने सचिव कल्पितले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here