भैंसी देख्दा जोगी डर, जोगी देख्दा भैंसी डर

७ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

चिन्तामणि दाहाल,

शुरु : परापूर्वकालदेखि हाम्रो समाजमा प्रचलित ‘भैंसी देख्दा जोगी डर, जोगी देख्दा भैंसी डर’ भन्ने उखानका आधारमा आजको आलेख अघि बढाउँदैछु । हाम्रो परम्परा विविध संस्कार तथा संस्कृतिले भरिपूर्ण छ । विविध जाति र धर्माबलम्बीको बसोबासो अनि विविध भौगोलिकताले गर्दा यहाँ प्रचलित उखान पनि मौलिक छन् । शीर्षकमा उल्लेखित उखान जोगी परम्परा र बस्तुपालनसँग सम्बन्धित हुँदाहुँदै पनि यसको लाक्षणिक अर्थ भनेको दुबै एउटै वर्गसँग जोडिएकाले एकले अर्को देख्दा उतर्सिन्छन् र डराउँछन् भन्ने हो ।

हाम्रो समाजमा दूध र मल दिने गाई जसरी पुजनीय, आदरणीय र सम्माननीय छ त्यसको ठीक विपरित दूध र मल दिए पनि भैंसी छैन, मानिँदैन । भैंसीलाई आसुरी प्रवृत्तिको र भूतप्रेत पिशाचको प्रतिक मानिन्छ । जोगी जो कात्तिक र चैतमा घर–घरमा डुलेर भूतप्रेत मन्साएर गृहस्थहरुलाई आरामको निद्रा दिन सघाउँछन् । उनीहरु पनि भूतप्रेत र पिशाच चलाउने भएकोले आसुरी प्रवृत्तिकै मानिन्छन् । दुबै आसुरी र भूतप्रेत पिशाचकै वर्ग र सञ्चालक भएकोले दुबैको भेट हुँदा एकदेखि अर्को डराउने भएकोले भैंसी देख्दा जोगी डर, जोगी देख्दा भैंसी डर भन्ने उखान चलेको हो ।

हाम्रो समाजमा तन्त्रमन्त्रको प्रभावका कारण जोगी परम्परा चल्यो भने जोगीलाई शासकहरुले जासुसका रुपमा पनि प्रयोग गर्ने गरेको भनिन्छ । जे भए पनि अहिलेको आधुनिक समाजमा पनि जोगी परम्परा हटेको छैन । हरेक बर्षको कात्तिक र चैत महिनामा मात्र फेरि लगाउन आउने जोगीहरु हिजोआज भने प्रायः बाह्रै महिना आउने गरेका छन् ।

आलेखमा प्रयोग :

आइतबार आफ्नो निर्वाचन गृह झापाको दमक आएका प्रधानमन्त्री तथा नेकपाका प्रभावशाली अध्यक्ष केपी शर्मा ओलीले सत्तामा आएको दुइ बर्ष पुगेको भोलिपल्टै आफ्नो सरकार फाल्न षडयन्त्र शुरु भएको सार्वजनिक भाषण मै भनेपछि माथिको उखान लाक्षणिक रुपमा प्रयोग गरिएको हो ।

अर्थात् अहिले ओलीजी आफैंले पालेको भैंसीसँग डराउन थालेका छन् । अर्थात् ओलीजी परे जोगी, तर फेरि लाउने जोगी होइन, झोली चिम्टा बोकेका जोगी । उनी आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने भन्दै हिँडिरहेछन्, पछिल्लो प्रधानमन्त्री कालमा । अघि उनी के र कस्ता थिए पंक्तिकारले इतिहास खोतलेको छैन र अहिले खोतल्ने फुर्सदमा पनि छैन ।

मलाई लाग्छ ओलीजीले पक्कै पनि अर्का अध्यक्ष प्रचण्डलाई देखेका होलान् । ओलीजीले प्रायः देख्ने र डर मान्नुपर्ने उनै प्रचण्डसँगै हो अहिलेको सन्दर्भमा । कांग्रेससँग अहिले ओली सरकार ढाल्ने हिम्मत छैन र हैसियत पनि छैन । ढाल्दा प्रचण्डजीले नै हो । प्रचण्डका प्रायः भाषणमा सरकारको कहिले कडा र कहिले नरम भए पनि आलोचना गर्ने गरेको सुनिएको छ । त्यसको अलावा आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको भनेर प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न पनि छोडेका छैनन् प्रचण्डले । दशैंताका भद्र सहमतिको कुरा गरेर ओलीजीको निद्रा हराम गरेका प्रचण्ड अहिले नरम भएको बेला किन झापा आएर आफ्नो सरकारविरुद्ध षडयन्त्र भइरहेको, कहिले मर्छ भनेर पर्खेको, बिरामी छ केही गर्न सक्तैन भनेर आलोचना गरेको भनेर ओलीजी बम्किएका हुन् भन्ने प्रष्ट छैन ।

उनलाई यस्तो डर कसले दियो । उनी किन यसरी डराएका हुन् । झण्डै दुईतिहाइको बहुमतवाला प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्ने षडयन्त्र हुँदैछ भनेर कुर्लने अवस्था कहाँबाट आयो । प्रश्न र आशंका गम्भीर छ । कि चर्चा परिचर्चा गरिरहुन् भनेर राजनीतिका चतुर खेलाडी ओलीजीले तलाउमा ढुंगा हानेका त होइनन्, यसै भन्न सकिने अवस्था छैन ।
किनकि उनले विकासको रफ्तारमा बाधा पु¥याउन आफ्नो सरकारविरुद्ध षडयन्त्र भइरहेको भने पनि कसले त्यस्तो षडयन्त्र गर्दैछ भन्ने खुलाएनन् । प्रमुख विपक्षीले त्यस्तो षडयन्त्र गरेको भए, ओलीजीले मुख खोल्थे । उनले अरिंगाल खायौं, बछ्युँ खायौं त्यो मुले झुसे बारुला भनेर कांग्रेसप्रति टिप्पणी पनि गर्थे होलान् । तर, षडयन्त्रकारीको नाम लिएनन् । किनकि त्यस्ता षडयन्त्रकारी आफैभित्र छन् भन्ने आशंका दुई वर्षको सरकारका उपलब्धि संसदमा फलाकेर गएपछि शायद राति अनिद्रा पर्दा अब भद्र सहमतिको फेरि कुरा उठ्छ कि भन्ने लाग्यो होला । अनि झापा आएपछि दमकको आम सभामा ओलीजी बम्किए ।

उनले भने अहिले म मर्दिन । रोग र षडयन्त्रसँग ५० बर्षदेखि लड्दै आएको छु । मर्छ र ठाउँ पाउँला अर्थात् झर्ला र खाउँला भनेर… पछि लागे जस्तो कोही नलागे हुन्छ । विकासको रफ्तारमा हिँंडेको सरकारले पाँच वर्ष निष्कंटक शासन गर्छ आदि इत्यादि । डराएको मान्छेले प्रायः भन्ने गर्छ म त डराएको छैन । मलाई डर लाग्दैन । म भूतप्रेत मान्दिन र त्यससँग डराउँदिन । त्यसले भन्छ जो भूतप्रेतसँग असाध्यै डराउँछ । मेरो ६७ वर्षे जीवनको अनुभवले त्यसै भन्छ । के त्यस्तै त होइन ओलीजीको भाषणमा उल्लेखित डर र डराउँदिन भनेको अर्थ ।

जे होस् हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओली डराउने मान्छे होइनन् र पछि हट्ने मान्छे पनि होइनन् । उनलाई लागेपछि लाग्यो–लाग्यो । जसरी एउटा सामन्तको चरित्र र स्वभाव हुन्छ, जसरी एउटा तानाशाहको स्वभाव हुन्छ त्यस्तै–त्यस्तै स्वभाव छ ओलीजीको । हुन त संस्कार र राजनीतिक शिक्षाले उनमा यस्तो स्वभाव आएको होला । लोकतन्त्रको कुरा गर्ने आलोचना सहन नसक्ने स्वभाव भएका हाम्रा कांग्रेसका सभापति देउवाकै जस्तै स्वभाव छ, ओलीजीमा पनि । बामपन्थी भए पनि ओलीजी लोकतन्त्रको कुरा गर्छन् अनि लोकतन्त्रका आधारशीलामा बन्देज लगाउने कानून बनाउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here