दादुराविरुद्धको अभियान

0
455

सम्पादकीय

हाम्रा बाइस प्रतिशत बालबालिका सङ्क्रमणको जोखिममा छन् । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले आंशिक खोप लिने र नलिने गरी ती बालबालिका जोखिममा रहेको जनाएका हुन् । उनले बसाइँसराइ, चेतनाको कमी जस्ता कारणले बाइस प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित रहेको जनाएका छन् । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने कारणले मृत्युदर बढी रहन्छ । सामान्य रुघाखोकी, ज्वरो, दादुरा जस्ता सङ्क्रामक रोगका कारणले बालबालिका छिट्टै प्रभावित हुने र समयमा उपचारको पहुँच नहुँदा ज्यान नै जाने गरेको छ । यस्ता रोगले छिट्टै महामारीको रुप लिने भएकाले तिनका विरुद्ध खोपको मात्रा पूर्ण गर्नुपर्दछ ।

सरकारले बालबालिकाको स्वास्थ्यमाथिको जोखिम कम गर्न दादुरा–रुबेलाविरुद्ध खोप लगाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गरेको छ । त्यस अनुसार सन् २०१९ सम्ममा नेपाललाई दादुरामुक्त देश बनाउने लक्ष्य बनाइएको थियो । लक्ष्य पूरा नभएपछि सरकारले अभियानलाई निरन्तरता दिँदै सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने कार्यक्रम तय गरेको छ । त्यही अभियान अनुसार फागुन १० गतेबाट झापामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्दैछ । प्रत्येक चार वर्षमा अभियानका रुपमा सञ्चालन भइरहेको खोप कार्यक्रममा देशभरका जन्मिएको नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई समेटिने गरेको छ ।

दुईचरणमा सञ्चालन गर्न लागिएको अभियानमा देशभरका तीस लाख बालबालिकालाई खोप लगाइने छ भने पोलियो थोपा खुवाउने लक्ष्य लिइएको छ । पहिलोचरणमा प्रदेश नम्बर १, २ र ५ का र दोस्रोचरणमा प्रदेश नम्बर ३, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २००४ देखि शुरु भएको दादुरा–रुबेलाविरुद्धको अभियान त्यसपछि २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ । यस्ता खोपहरुका कारण कतिपय सङ्क्रमण उत्पन्न गर्ने रोगहरुलाई निवारण गर्न सकिने भएकाले खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर जोखिम कम गर्न र बाँच्न पाउने अधिकारको रक्षा गर्न अभिभावकले सचेत हुनैपर्छ ।

राष्ट्रिय दादुरा खोप अभियानका लागि राज्यले तीस करोड खर्च गर्ने भएको छ । सबै बालबालिकालाई खोपको पहुँचसम्म ल्याउन र खोपको मात्रा पूरा गरी अकाल मृत्युबाट जोगाउन सरकारको अभियानमा सम्बद्ध सबैले ध्यान दिनैपर्छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाली क्षेत्रमा सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यलाई सफल पार्न चेतना प्रवाह गर्नैपर्छ । प्रचार–प्रसारका माध्यमबाट अभिभावकलाई सचेत गर्दै दादुराका कारण हुनसक्ने अन्धोपन, पखाला, कानको सङ्क्रमण, निमोनिया जस्तो सङ्क्रमणबाट जोगिन र अकाल मृत्युसम्मको जोखिमबाट मुक्त हुन स्वयम्सेवी संस्था, स्थानीय सरकार, सञ्चारमाध्यम सबैको सामुहिक संलग्नता हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here