सीके प्रसाईंको स्मृति दिवस मनाइयो

0
954

विर्तामोड।

नेपाली राजनीतिमा सरल, आदर्शवान विचारशील नेताका रुपमा परिचित स्वर्गीय सीके प्रसाईको २६औं स्मृति दिवस सम्पन्न भएको छ ।

सीके स्मृति प्रतिष्ठान विर्तामोडको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश नेता तथा सीकेका समकक्षीहरुले उनको नीति, आदर्श, सिद्धान्त र वीपले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई अहिलेका राजनेताहरुले अवलम्बन गर्न नसकेको बताए ।

नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्धव थापाले सीकेसँगका केही अविस्मरणीय क्षणहरुको स्मरण गर्दै सीकेलाई सम्झँदै गर्दा कांग्रेसजनले उनको विचार अनुकूल समाजवादी दर्शनबाट चल्नुपर्नेमा जोड दिए ।
राजनीतिको आडमा अकूत सम्पत्ति कमाउने प्रवृत्ति बढेकोतर्फ सचेत गराउँदै सभापति थापाले सीकेलाई सफल राजनीतिज्ञ बनाउन गिरिराजकुमारी प्रसाईको त्याग र सहयोग उल्लेखनीय भएको चर्चा गरे ।

संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका निवर्तमान सभापति सुधिरकुमार शिवाकोटीले सीकेले नै आफूलाई संरक्षण गरेको बताउँदै भने– ‘सीके ज्ञान र विचारको भण्डार हुनुहुन्थ्यो, कांग्रेसले चाहेको भए सीकेले हजारौं पुस्तक लेख्नसक्ने क्षमता राख्नुहुन्थ्यो ।’

कांग्रेसको राजनीतिक इतिहासमा सीकेलाई इन्साइक्लोपेडियाका रुपमा चिनिने बताउँदै नेता शिवाकोटीले कांग्रेसले उनको चिन्तनको उपयोग र अनुशरण गर्न नसकेको धारणा राखे ।

पूर्वसांसद डिल्ली सिटौलाले वीपी र सीकेको प्रजातान्त्रिक समाजवादमा आधारित रहेर नेपाली अर्थतन्त्र अनुकूल समाजवादी आर्थिक खाका नबनेको धारणा राखे । ‘सीकेले कस्तो नेपाल चाहनुभएको थियो ? आज नेपाल कस्तो हुँदैछ ? यसको अध्ययन जरुरी छ’– सिटौलाले भने ।

यस्तै सीकेका समकालीन नेता पूर्णानन्द शर्माले ‘प्रजातान्त्रिक समाजवादका अन्ुयायीले उच्च खानपान, मधुपान, महलजस्ता विषय नसुहाउने विषय हुन्’ भन्दै सीके प्रसाईंले मुरै बोकेर गाउँ–गाउँमा हिँडेरै राजनीति गरेको प्रसङ्ग उल्लेख गरे ।

विराट–भरत विश्रान्ति आश्रमका अध्यक्ष हर्कलाल गिरीलगायतले मन्तव्य राखेको कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका पूर्वअध्यक्ष लोकराज ढकालले प्रकाश पारेका थिए । प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भट्टराई र सञ्चालन महासचिव लक्ष्मी आचार्यले गरेका थिए । बुवा देवीप्रसाद र आमा देवकुमारी प्रसाईका सुपुत्र प्रसाईंको जन्म वि.सं. १९८८ सालमा भएको थियो ।

नेपाली राजनीतिमा बौद्धिक चिन्तक, दार्शनिक राजनीतिज्ञ र निष्ठावान नेताको रुपमा परिचित उनले काठमाडौंबाट प्राथमिक शिक्षा लिएका थिए भने बनारसबाट एमकमसम्मको अध्ययन पूरा गरी २०१४ सालबाट झापामा बसोबास गर्न थालेका थिए ।

वि.सं.२०१७ सालमा तत्कालीन जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई अपदस्त गरेर पञ्चायत सरकारले सर्वस्वहरण गरेपछि उनी भारत निर्वासित भएका थिए । भारतमा बस्दा उत्तर बङ्गाल विश्वविद्यालयमा अध्यापन समेत गराएका प्रसाईले राजनीति र दर्शन विषयमा विभिन्न पुस्तकहरु लेखेका छन् ।

तीमध्ये आजको सरल राजनीति र अनुवादित कृति कम्युनिष्ट मेनिफेस्टो समाजवादको आधारशीला चर्चित छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको प्रवक्तासमेतको जिम्मेवारी संम्हालेका प्रसाईंको २०५० सालमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here