‘हाम्रो बिरोद नगर्छौ कि कुम्लो बोकेर मेची तर्छौ तपइँ ?’

0
1049

व्यंग्यनारान पाँडे,

“ए पाँडे भाइ, हन के खान तपइँ आबा न चाबाका लठ्ठक जइसो घरको घरइ बसिराख्छौ हँ ? तपइँलाई म जइसो एट्टिप हुन मुन नलाग्या देखता म छक्क पर्छु । म सँद्दै छक्क परिराख्न काँ भ्याउँछु र तपइँले एट्टिप नहुन पाउँछौ यार !”— भन्दै आएका गौंथली बाऊले लगाइराखेको फुस्रो पेन्ट अगाडिपट्टि माथि दुई खुट्टाको भञ्ज्याङदेखि घुँडासम्म भिजेको उनी आउँदा–आउँदै मैले देखेको थिएँ र मलाई शंका लागेको थियो ।….

उनी मेरै अघिल्तिरको कुर्सीमा बसेपछि मेरो नाकमा आएको छिप्पट गन्धले मेरो शंकालाई प्रमाणित गरेको हुँदा मैले भनें— “ए दाइ, फेरि आज पनि अस्ति–अस्ति कहिले–कहिले जस्तै पेन्टमै सुइँक्याएर आउनुभयो कि क्या हो ? छ्या, कस्तो गनायो । जानु होस् हौ, लुगा बद्लेर आउनोस् । यो त सुठ्ठी नै भयो हौ दाइ ।”

उनले पेन्टतिर हेरे र थोत्रा दाँत देखाउँदै भने— “कैलेकैले एस्तै हो, एसिडेन भइहाल्छ ।… मेरो पाइँटको कम्बरमा बाँद्ने टाँक–हुक केइ पनि छैन पढ्के । र, पुरानो सुरालको इँजारले अल्जाइरथेँ । अगि बेहानको टरम कैलुकोभट्टी हुटेलमा छ्यास्स छिरेर दुई गेलास चापेँ— खुदी र पुराना चप्पल–उप्पल पका’र बनाको उधुम खरो रौसी । खाँदा चिसो थ्यो, पेटाँ पुग्नासात भक्भक् उम्ले जस्तो भो । फेरि अलि ओर्तिर आएसि झन भामट पेसाप लागेर उखरमाउलै भो र पेसाप फेर्न इँजारको गाँठो फुस्काउँदा फुस्कोस् त थुक्क । पेसाप चइँ सप्लाइ हुन थालिगो र हतार–हतार गरेर इँजार चुटाउँदा चुटाउँदै पाइँटको एति चइँ भिज्नबड नजोगिया मात्तै हो । अगि बाटामा कलेचका एकहन्जा इस्टुड्यान–इस्टुड्यान्नीले मतिर हेर्दै के–के कमेन गर्दै हाँसे र मैले तीबड करस भएसि छिटोछिटो हिन्दै भनें— ‘के गर्छौ नानी हो, मेरो मुत्रन छन्द र सैली स्यानैदेखुन् एस्तै छ । तिमेरु पनि बालख हुँदा एस्तै गर्थेउ होला नि !’… तर तिनले सुने कि सुनेनन् कोनि । छोड यो टपिक । र, अन्तखेरी तपइँको जति बुइँसामा त म कति एट्टिप थेँ भन्लाउ भने एत्ति ललामा सिङ भको हेर्दै डरलाग्दो ड्यान्जर साँढेले झम्टेर फुँ मात्तै गरो भने तेसका दोडै सिङमा च्याप्प समा’र ढ्याम्मै पछार्थे र ढ्वाँ पार्थेँ । तपइँ जइसो अनएट्टिपले त बिरालाको छाउरो पनि पछार्न सक्तौन होला ।”…

म के भन्न लाग्दैथेँ, उनै भन्दै गए— “हाम्रो छिमल बितेसि यो हाम्रो लोतान्तिक गनतन्त्रको कन्तबिजोक हुन्छ होला भन्ने कुराले त मलाई धेरैपए ट्यान्सिन हुन्छ त । नभादेखुन् कैलु मोराको भट्टी हुटेलमा डेल्ली तो पढ्के झोल सुइँठ्यार दुक्ख गरी–गरी पत्रकार गरेर जोडेका रुप्पे भल्नु किन पथ्र्यो मैले ? मेरो ट्यान्सिनमद्दे कतिपए मात्तै मेरो घरबेभारका लागि हो, धेरैपए त यो कठैबरा गनतन्त्रकै लागि हो क्या पाँडे भाइ, गनतन्त्रतिरै धेरैपए ट्यान्सिन छ मेरो ।”
मैले सोधें— “गणतन्त्र र दाइको नाता साह«ै नजिक हो कि कसो ? धेरै माया पो गर्नुहुन्छ त ?”

उनले लगत्तै भने— “अनि होइन त अनि ? गनेसमानजी, किसुनजी, मन्मोनजी, खोमारी जादौ, मेरा माओलाका हजुर्बा, सूर्जेबादुर, गिर्जाऊ म समेत हामी दस्पन्र जानाले पैलीबड नेपालमा पर्जातन्त्र हुल्यौं र आस्ते–आस्तै सामान्ती निरङ्कुश राजतन्त्रलाई गेटाउट खेलार चाइनेकेरे गनतन्त्र ल्याका होइनौं त ? ह्वाँहेरु सप्पै सोर्गेतिर उडिसकेसि म मात्तै यो बिस्सो–सन्सारमा छु भनेसि मैले पनि मयाँ नगर्नु हो भने यो चौद–पन्र बर्खको बालख गनतन्त्र बिचारा अत्तलिँदै त ? हन कस्तो कुरो गर्छौ हउ पाँडे भाइ तपइँ ? तेइ पनि यो सङ्घीए लोतान्त्रिक गनतन्त्रलाई अ‍ैले होल–टोट्टल हामेरु कम्रेटहेरु गार्जेन भ’र हामेरकै दरो कन्टोलमा राखेका छौंन त ? सत्र हज्जारलाई चिलिम फर्का’र चइनेकेरे पूल, बिजुली घर, टेलिफुनका कोनि क्यातिहर्मा आगो ला’र, धङ्स–बिधङ्स पारेर चाइनेकेरे आतङ्कले थरहरी पारेसि पिउरली हामेरले लेराको जिनिस अब हाम्रो बौमतको सर्खारकै पालादेखुन् कस्सैलाई छुन दे त थुक्क । तेस्मा पनि काङ्रेसले आर्फै कोराकोर गरेर एक–आर्कालाई कुरुप पारेर भाग्गेबश लथालिङ्ग भइदेकै छ, राप्पपालाई हामेरले नै एउडा सिट दान दिँदा मात्तै क्यान्रीए रानीतिमा चिनारी भको हो कि होइन, तपइँ नै भन त ? अब तेसरी कन्जुगल मिलाउन कुरै नट् । घरीघरी सीट दान दिने त इइइइस् । मधेसे पाटीहर्का चउधरी–जिमिन्दार नेताहर्ले पनि हामेरसँगै नमिली नहुने भइसक्या छइँछ । हामेरुसँग मिलेसि यत्राको मधेसे ? नूनको सोजो नगरेर घर पाउँछन् ? भनेसि अब चइँ हाम्रो देशलाई पर्लक्कै कोल्टो फेराइसक्या छम् हाम्ले पाँडे भाइ, सर्लक्कै कोल्टो फेराइहालिम् । अब अरु–अन्ने पाटीको नो–चानस एलेक्सिन जित्ने । चानसै नट् क्या चानसै नो भनेसि थोओओओरैपए पनि चानसै नट नि !”

मैले फेरि प्रश्न गरें— “त्यसो भए दुई वर्ष अघि भएको इलेक्सनको अवधि सकिएर अबको तीन वर्षपछि फेरि संविधानको व्यवस्थालाई पनि हावा ख्वाइन्छ कि कसो दाइ ? कि हुन्छ तीन बर्षपछि फेरि इलेक्सन ?”
उनले झर्को माने झैं निधारको छाला खुम्च्याउँदै भने— “हत्तेरिका हउ पाँडे भाइ, तपइँले के बेबस्ता–सेबस्ता र सम्बिदान–उम्बिदानका कुरा गरिराख्या यार ? हामेरलाई सुबिदा हुने अबस्ता भो भने एलेक्सिन गराउँछौं नत्र के खान गराउनु तो एलेक्सिन ? सम्बिदान त हामेरले निर्लय गरेसि चट् मङ्नी पट सादी’ भन्ने हिन्दी काओत् जस्तै सम्सोदन गरेर हामेरलाई इजिलो हुने बनाइहालिन्छ नि एक्कै दिनमा । कुन बढी बात हो हामेरको मेजर्टीको सम्सत भएसि ।”
मैले भनें— “त्यसो भए अब तपाईंहरुको शासन त कहिल्यै केही हुँदैन कि क्या हो हँ दाइ ?”

उनले धमाधम भने— “अब हामेरलाई कउनै काङरेस, भाङरेस, लाङरेस, ठाङरेस, पाङरेस अथबा कउनै ‘रेस’ले जित्ने दिन गए । ‘रेस’ पुच्छार भका मोराले हामेरलाई जिते त थुक्क । यइ गएको गत दुई बर्खमै छेरौटीले मर्न नसकेका जनता तोम सरनम् भइसके भने आउँदो अगामी तीन बर्खमा ती सप्पै काब्बु–काब्बु भइसकिवरि ‘आओ टुइस् करें—सब्का सब कम्रेट’ भन्दै हामेरका तालमा नात्ने भइसक्छ नै सक्छन् अनि अरु–अन्ने पाटीलाई भोट दिने को बाँकी बचोत हुन्छन् र नाप्छन् भोट जितेर तेस्सिमालानेहर्ले ।”

मैले भनें— “तर म त केही हुन्न । म त म नै रहन्छु ।”
उनले अझ चर्केर भने— “के भन्या तो ? सप्पै कम्रेट भका ठाम्मा तपइँ एउडो अकम्रेट भयौ भने तपइँलाई छोड्छम् हामी ? यो देशाँ अब तेस्तो खुसी–खुसी गर्न पाउने भादेखुन् यो लोतन्त्र किन ल्या’थिम् त हामेरले ? तपइँको धारा–पानी, बिजुली र बाटो बन गरेर चाइनेकेरे छिमेकका कम्रेटधारीहर्बड सिमानामा रातो दिन कचेडा गरा’र, साँज–बेहान बाटातिर हिन्दा बिच्चमा झैंझगडा उठाउँदै कुटा’र, बलत्कारीको मुद्दा ला’र चइनेकेरे हत्तुहइरान पारेसिकम्रेट नबनेर के चइँ गर्छौ ? कि देश छोडेर भाग्नु परो नत्र कम्रेटको टिकस माग्नु परो । अरु–अन्ने के उपाए गर्लाऊ तपइँ, हेर्लाम् म पनि ।”
मलाई चिरिक्क रीस उठ्यो र प्याच्च भनें— “सँधै पेन्टलाई पिसापले भिजाउँदै हिंड्ने गरे कति दिन पो कमरेडको लिस्टमा रहनु होला तपाईं र मैले उपाए गरेको हेर्न भ्याउनु होला र ! कि तपाई जस्तै पेन्टमा मूत्र सिंचाइ गरेर त्यतिकै ठूल्ठूला कुरा हाँक्तै गाँउ घुम्न लाज नमान्ने अरु कमरेड पनि लिस्टमा छन् हँ दाइ ?”

उनले मेरो अनुहारमा एकछिन् हेरे र के बुझे कुन्नि, बिस्तारै भने— “के गिल्ला गर्छौ हउ, के गिल्ला गर्छौ ! उत्रो ठूलो इन्ड्या देशका मोराजी देसाइँ त त्याँ पराइमिस्टर हुँदा पनि बेहान–बेहान ठूलो भाँडो थापेर तेसमा भएभरको पेसाप फेर्थे र भाँडो उठा’र चइनेकेरे नाकमा पोरा फुलाउँम्दै मीठ्ठो मानेर चाइनेकेरे उक्त आफ्नै तातो पेसाप सुइत्यै घुट्क्याउँथे । उनलाई लाच, सर्म र पेस्टिचको हेक्का नहुन्थ्यो भने मैले, रामनाम पँडित बाजे र फोके मिश्रीका बाऊ रामखिलन जस्ता सिन्यार–सिन्यार कम्रेटले पेसाप फेर्दा पेसापले इमरज्याम्सी पारेका ट्याममा पाँइटको इँजारको गाँठो नखुलेर देही भाकाले एक–दुई मुठी पेसाप तेतै छचल्किया दुर्गटनाका कुरा अथवा खाका ट्याममा जे भओस्–भओस् भन्र पेसापलाई फिरी गर्दिने गर्या कुरा झिकेर शेर्बादुर र ग्यान्यारन्रले जइसो गुल्चे किन खेल्छौ हउ तपइँ ? तपइँलाई मेरा छेत्रमा एरिआमा बस्नुछ भने यस्ता राजाबादी, काङरेसी, हातीरेसी, घोडारेसी, ड्यामोकेसीका कुरा नगर्ने गर हए । मलाई मुन पर्दैन क्या । नत्र भने पोका–पन्तेरा कसेर तरे हुन्छ मेची पूल । मैले भन्दिया छु हए !”….
उनी फलाक्तै–फलाक्तै बाटो लागे ।….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here